१९ असोज २०७९, बुधबार - October 5, 2022 Wednesday
इतिहास राजनीति समाज महिला इतिहास-विमर्श

संसारका महिला एक दिन बिदा बसे भने ?

अकल्पनिय साहसले भरिएको एउटा संघर्षको कथा

संसारका महिला एक दिन बिदा बसे भने ?
राजधानी रेक्याविकमा भेला भएका महिला सन् १९७५ । तस्विरः उमन्स हिस्ट्र आर्काइव ।

संयुक्त राष्ट्रसंघले सन् १९७५लाई महिला वर्षका रूपमा घोषणा गर्दा युरोपको एउटा देशका महिलाले साँच्चै त्यसको उत्सव मनाउने निर्णय गरे । तिनताका जम्मा दुई लाख २० हजार जनसंख्या भएको त्यो देश आइसल्याण्ड थियो । २४ अक्टोबरका दिन देशका सबै महिलाले बिदा लिने छन् अर्थात हड्तालमा जाने छन् भन्‍ने देशका ठूला पाँच महिला संगठनहरूले निर्णय लिए । उनीहरूले कुनै पनि काम गर्ने छैनन्- न खाना बनाउने छन, न सरसफाई गर्ने छन्, न त केटाकेटीको हेरचाह गर्ने छन् । 

आईसल्याण्डको इतिहासमा त्यो दिन ‘द लङ फ्राइडे’ का नामले अंकित छ । देशका सबै सुपरमार्केटमा बनिबनाउ अर्थात प्याकिङ खाना सकियो । कार्यालयहरू आ-आफ्ना बाबासँग आएका केटाकेटीले भरिए । ती सबै बाबाहरू केटाकेटीसँग शान्त रहन हारगुहार गरिरहेका थिए । उनीहरूलाई शान्त राख्‍न घुस स्वरूप चकलेट दिइन्थ्यो । विद्यालय, नर्सरी र खाना पकाउने सबै फ्याक्ट्री कि त बन्द थिए कि क्षमता भन्दा कयौँ गुणा न्यून कर्मचारीले चलाईरहेका थिए । समग्र देश अस्तव्यस्त हुन पुग्यो ।

महिलाहरूले देशभरि २० ठाउँबाट र्‍याली निकाले । राजधानी रेक्याविकको मुख्य चोकमा २५ हजार महिला एकत्रित भए । यति थोरै जनसंख्या भएको देशका हिसाबले यो अकल्पनीय रूपमा उल्लेख्य संख्या थियो । यी महिलाहरूले आफ्नो हिस्साको संसारमा बराबरीको अधिकार मागिरहेका थिए । उनीहरूको एउटै प्रश्‍न थियो- एक समान कामका लागि पुरुष र महिलालाई दिईने पारिश्रमिक भिन्‍न किन छ ?

राजधानी रेक्याविकको मुख्य चोकमा २५ हजार महिला एकत्रित भए । यो अकल्पनीय रूपमा उल्लेख्य संख्या थियो । यी महिलाहरूले आफ्नो अधिकार मागिरहेका थिए ।

यीनै कामकाजी महिलाहरूले घरभित्रको सबै काम फत्ते गर्थे । तर, उनीहरूको नाममा देशको कुनै पनि टेलिफोन डाइरेक्टरीमा थिएन । उनीहरूले गर्ने काम देश सञ्‍चालनका लागि त्यति नै महत्वपूर्ण छ भनि उनीहरू पुरुषहरूलाई महसुस गराउन चाहन्थे । दिनभर नवजात शिशुको कपडा धुँदै गरेकी महिला कुनै कम्पनीको सीईओले भन्दा कम काम गर्दिन भनी उनीहरू सबैलाई भन्‍न चाहन्थे ।

देशभर एक दिने हड्तालको निर्णय गर्ने महिला संगठनका नेताहरु, सन् १९७५ । तस्विरः उमन्स हिस्ट्र आर्काइव । 

अधिकांश पुरुषहरूले यो प्रदर्शनलाई एउटा ठट्टाभन्दा बर्ता केही ठानेनन् । तर, आईसल्याण्डको समाजमा महिलालाई लिएर तयार पारिएको भाष्यलाई त्यस दिनले आमूल परिवर्तन गरिदियो ।

अर्को बर्ष अर्थात सन् १९७६मा आईसल्याण्डले जेन्डर आधारित समानताको कानुन पास गर्‍यो । कानुनले विद्यालय र जुनसुकै कार्यस्थलमा महिला-पुरुषबीचको भेदभावलाई अन्त्य गरिदियो । पाँच बर्षपछि विग्दिस फिनबोदोतिर आईसल्याण्डकी पहिलो महिला राष्ट्रपति बनिन् । संसारकै इतिहासमा लोकतान्त्रीक ढंगले चुनिएकी कुनै पनि देशकी उनी पहिलो महिला राष्ट्रपति हुन् र १६ बर्षसम्म आफ्नो पदमा आसिन रहिन ।

आज आइसल्याण्डमा बिनाकुनै आरक्षण संसदमा महिला-पुरुष सदस्यको बराबर संख्या छ । पछिल्ला १० बर्षमा जेन्डर आधारित समानताको इन्डेक्समा आईसल्याण्ड दुनियाँको पहिलो नम्बरमा आसिन छ । ‘द इकनोमिस्ट’ आईसल्याण्डलाई कामकाजी महिलाका लागि विश्वकै सर्वश्रेष्ठ देश ठान्छ ।

पाँच बर्षपछि विग्दिस फिनबोदोतिर आईसल्याण्डकी पहिलो महिला राष्ट्रपति बनिन् । संसारकै इतिहासमा लोकतान्त्रीक ढंगले चुनिएकी कुनै पनि देशकी उनी पहिलो महिला राष्ट्रपति हुन् र १६ बर्षसम्म आफ्नो पदमा आसिन रहिन ।

सन् १९८१मा जतिबेला रोनाल्ड रीगन अमेरिकाको राष्ट्रपति पदका लागि सपथ ग्रहण गरिरहेका थिए, त्यसको प्रत्यक्ष प्रसारण आइसल्याण्डमा पनि भईरहेको थियो । टिभीमा सपथ ग्रहण हेरिरहेकी एउटी महिलालाई उनको १० बर्षे बच्चाले आश्‍चर्य मान्दै सोध्यो, ‘आबुई... यस्तो त हुँदैन होला ! यो त छोरा मान्छे हो । राष्ट्रपति त महिला हुन्छन होइन र ?’ 

युरोपमा राष्ट्रपतिको ओहोदामा पुग्‍ने पहिलो महिला बनेकी विग्दिस फिनबोदोतिर स्वयं आफ्नी आमा र तीन सालकी छोरीका साथ त्यस प्रदर्शनमा भाग लिन पुगेकी थिईन । तिनताका उनी रेक्याविक थिएटर कम्पनीकी कला निर्देशक थिइन र २४ अक्टोबरको प्रदर्शनका लागि सबै कला प्रदर्शन स्थगित गरेर उनी त्यहाँ पुगेकी थिइन ।

 विग्दिस फिनबोदोतिरका साथ मार्गरेट थ्याचर सन् १९८२ । तस्विरः उमन्स हिस्ट्र आर्काइव ।

आधुनिक संसारमा महिलाहरूको सामाजिक स्थिति कति विचारणीय थियो त्यसको प्रमाण के कुराबाट पाइन्छ भने उनीहरूले मतदानको अधिकार सबैभन्दा पहिले सन् १८९३मा न्युजिल्याण्डबाट प्राप्त गरे । सन् १९१३सम्म यस्तो अधिकार दिने देशहरूको सूचीमा जम्मा तीनवटा नाम थपिए- अस्ट्रेलिया, फिनल्याण्ड र नर्वे । 

अचम्म लाग्छ स्विजरल्याण्ड जस्तो देशमा समेत यो हुन सन् १९७१ कुर्नु पर्‍यो । जबकी आईसल्याण्डमा महिलाहरूले यो अधिकार सन् १९१५मा पाइसकेका थिए । त्यहाँदेखि ‘द लङ फ्राइडे’ सम्म संसदमा जम्मा नौ जना महिला चुनिएर आउन सकेका थिए । सन् १९७५मा समेत यो संख्या जम्मा तीन थियो अर्थात संसदमा महिलाको पाँच प्रतिशत सहभागिता थियो ।

रेक्याविकको त्यस एतिहासिक र्‍यालीमा सबैभन्दा पहिले एउटा गृहणीले सम्बोधन गरिन । त्यसपछि दुईटा सांसदको पालो आयो र त्यसपछि महिला संगठनसँग आबद्ध दुईजना महिलाको । अन्तिममा एडलहेडर ब्यार्नफ्रेड्स डोटीरले सम्बोधन गरिन । उनी विद्यालय र अस्पतालमा साफ-सफाई गर्ने, लुगा धुने र खाना पकाउने काम गर्ने महिलाहरूको संगठनकी प्रमुख थिइन । उनले जीवनमा कहिल्यै मन्तव्य दिएकी थिइनन् तर उनका जीवन्त कथनहरूले त्यहाँ उपस्थित सबैलाई भावविभोर बनाई दियो ।

एतिहासिक र्‍यालीमा सबैभन्दा पहिले एउटा गृहणीले सम्बोधन गरिन । उनले जीवनमा कहिल्यै मन्तव्य दिएकी थिइनन् तर उनका जीवन्त कथनहरूले त्यहाँ उपस्थित सबैलाई भावविभोर बनाई दियो ।

त्यस लगत्तैको निर्वाचनमा एडलहेडर ब्यार्नफ्रेड्स डोटीर सांसद बनिन् । आइसल्याण्डको एउटा पुरानो भनाई छ- ‘पाइलाका पदचापहरूलाई हिउँले छिट्टै ढाकी दिन्छ’ अर्थात कुनै पनि कुरा इतिहासमा निकै छिटो धुमिल भइजान्छ । यो प्रदर्शनका हकमा त्यस्तो भएन । ती दिनहरूलाई सम्झँदै विग्दिस फिनबोदोतिरले एउटा साक्षात्कारमा भनिन- 

हडताल सफल बनाउन र आफ्नो अधिकारका लागि हाँक दिन राजधानी रेक्याविक आई पुगेका महिला । तस्विरः उमन्स हिस्ट्र आर्काइव ।

‘त्यसको भोलीपल्ट सबै कुरा सामान्य ढंगले नै सुरु भयो तर सबैलाई के लागिरहेको थियो भने यदि हाम्रो समाजलाई उभ्याइराख्‍ने हो भने महिला-पुरुषलाई समान अधिकार दिनै पर्छ । समग्र देशको सोच्‍ने शैली फेरिएको थियो ।’ 

पाँच बर्षपछि जब राष्ट्रपतिको निर्वाचन भयो, विग्दिस फिनबोदोतिरले तीन पुरुष प्रतिस्पर्धीलाई पछि पार्दै विजय हासिल गरिन । उनको कार्यशैली यो हदसम्म लोकप्रिय भयो कि आगामी तीनमध्ये दुईमा उनलाई निर्विरोध राष्ट्रपति चुनियो । आजको उनको देशमा ४४ प्रतिशत सांसद महिला छन् ।

२४ अक्टोबर १९७५को त्यस एतिहासिक हडतालले कुनै पनि महिला गैर-कामकाजी हुँदैनन् र ‘वर्किङ उमन’ पुरुषद्वारा फैलाइएको हल्ला बाहेक केही होइन भन्‍‍ने स्थापित गरिदियो । प्रत्येक महिला वर्किङ उमन हुन्छन् । हो, अधिकांश महिलाले कामको पारिश्रमिक पाउँदैनन् । आज पनि संसारको ७५ प्रतिशत काम महिलाले गर्छन तर त्यसका लागि उनीहरूलाई कुनै पारिश्रमिक दिइँदैन ।

अनुवादः नरेश ज्ञवाली

प्रकाशित: ८ असार २०७९ ०७:५९ बुधबार

चेतलुङ
चेतलुङ