१६ असार २०७९, बिहीबार - June 30, 2022 Thursday
साप्ताहिक साप्ताहिक विचार-चर्चा

साप्ताहिक विचार-चर्चा

साप्ताहिक विचार-चर्चा

पृथ्वीनारायण शाहमाथि बहस

पुस अन्तिम साता यसपालि पनि सञ्चार माध्यममा पृथ्वीनारायण शाहमाथि वैचारिक लेखहरू छापिए । तीमध्ये महत्त्वपूर्ण लेख हो, आहुतिको । लेख (‘एकीकरणको बहस’,कान्तिपुर, २४ पुस) मा पृथ्वीनारायणलाई एकीकरणकर्ता मान्नेहरूका जिकिरलाई बुँदागत खण्डन गरिएको छ । लेखकका अनुसार पृथ्वीनारायण त्यस बेलाका एक सक्षम हिन्दु खस–पहाडे अहंकारवादी राजा र देशनिर्माता थिए, राष्ट्र–निर्माता थिएनन् । त्यसैले पृथ्वीनारायण राष्ट्रिय एकताका प्रतीक नभई बहुराष्ट्रियता ध्वंशीकरणकर्ता हुन् भन्ने दाबी लेखकको छ ।

त्यस्तै रोशन जनकपुरी (‘एकताका प्रतीक राजा होइनन्, जनता हुन्’, नयाँ पत्रिका, २६ पुस) को आशय छ– तत्कालीन समयमा पृथ्वीनारायण शाहले एक केन्द्रीकृत राज्य बनाए । तर, वर्तमान राज्य भने उनको अधीनमा निर्माण भएको थिएन । यो राज्य जनताले निर्माण गरेका हुनाले कुनै पनि राजा राष्ट्रिय एकताको प्रतीक हुन नसक्ने तर्क गर्छन्, जनकपुरी । उनको यस्तो प्रश्‍न छ– पुरातन राष्ट्र स्थापित भयो भने कृष्णलाल, लखन थापा, भीमदत्त पन्त, दुर्गानन्द, क्याप्टेन यज्ञबहादुर थापा, राम–लक्ष्मण, जानकीदेवी, कामेश्‍वर–कुशेश्‍वर, ऋषि देवकोटा, सरोज कोइराला, सूर्यनाथ यादव, सत्यमणि त्रिपाठी, रामवृक्ष यादव र जनयुद्धका हजारौँ सहिदलगायत राजतन्त्रविरुद्ध नेपाली लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनका सहिदको स्थान के हुनेछ ?

गोपाल खनाल (‘एकीकरण बहसमै कति अलमलिने ?’ कान्तिपुर, २७ पुस) पृथ्वीनारायण शाहलाई देशनिर्माता कि राष्ट्रनिर्माता मान्ने भन्ने बहस नै अब आवश्यक नरहेको विचार राख्छन् । उनी जातीय राज्यको प्रेम र घृणा पृथ्वीनारायणमा थिएन भन्ने तर्क गर्छन् । उनी ‘अर्गानिक स्टेट थ्यौरी’ को कुरा उठाउँदै राज्य निर्माणका लागि पहिलो सर्त नै भूगोल भएकाले पृथ्वीनारायणले पनि भूगोल विस्तार गरेका हुन् भनी आफ्नो मत राख्छन् । तर, जर्मनीका साम्राज्यवादी हिटलरजस्तो पृथ्वीनारायण नभएको दाबी गर्छन् ।

सुरेन्द्रसिंह रावल (‘दुई ढुंगाबीचको तरुलमा जेलिएको परराष्ट्र नीति’, नयाँ पत्रिका, २५ पुस) ले कहिल्यै घाम नअस्ताउने साम्राज्य भनिएको बेलायतसँग लड्नुजस्तो असामान्य साहस र बहादुरीको इतिहास भएको व्यक्तित्वको रूपमा पृथ्वीनारायण शाहलाई प्रस्तुत गरेका छन् । आफ्‍ना छोराहरूले काठमाडौं उपत्यकाका राज्यहरू भाग लगाएर शासन गर्न माग्दा पृथ्वीनारायणले राज्य बाँड्ने नभई जोड्ने हो भनी इन्कार गरेको तर्क गर्छन्, उनी । गणेशमान सिंहको भनाइ सापटी लिएर रावल भन्छन्– नेपाल आमाका तीन सपुत पृथ्वीनारायण शाह, आदिकवि भानुभक्त र आधुनिक नेपालका अधिष्ठाता बीपी कोइराला हुन् ।

उसैगरी विदेशनीतिको मामिलामा ‘दिव्योपदेश’ को ‘दुई ढुङ्गाबीचको तरुल’ प्रसंग अन्तर्राष्ट्रिय कूटनीतिको लागि अद्यापि सान्दर्भिक रहेको उल्लेख गरेका छन् । साथै ब्रिटिस साम्राज्य अन्त भई स्वतन्त्र भारतको उदय भइसकेको परिस्थितिमा नेपालरूपी तरुल र साम्राज्यवादी ढुङ्गाको परम्परागत सोच सही नभएको एसडी मुनीको तर्क पनि रावल आफ्नो लेखमा समेट्छन् ।

नरेन्द्रजंग पिटर (‘कम्युनिस्ट चस्माले पृथ्वीनारायणलाई नियाल्दा’, कान्तिपुर, २८ पुस ) ले नेपाली कम्युनिस्टहरूले पृथ्वीनारायणको मूल्यांकन गर्न चुकेको औंल्याएका छन्। उनले कम्युनिस्टको वर्गचेतमा दुश्मन वा मित्र मात्रै भए पनि समाजमा भने सेतो र कालो मात्रै होइन, अन्य रंग पनि हुन सक्ने विचार राखेका छन् । उनले पृथ्वीनारायणको सामन्ती चिन्तन र मनुवादी अभ्यासलाई निरन्तरता दिनु जति अभिजातीय इतिहासको सन्देश नबुझ्नु हो, त्यति नै भौगोलिक एकीकरणमा पृथ्वीनारायणको देन बुझ्न नसक्नु कम्युनिस्ट र अन्यको पनि कमजोरी हो भनेका छन् । साथै उनले पृथ्वीनारायणकोे अभियान नभएको भए आजको नेपालको अवस्था यस्तो हुन सक्ने थिएन भन्ने पनि लेख्न भ्याएका छन् ।

शिक्षा, समाज र उद्यम

उज्ज्वल प्रसाई (‘दुई जीविकावादीहरू !’, कान्तिपुर, ३० पुस) ले नेपालको वर्तमान शिक्षापद्धति र ज्ञान–अनुसन्धानबारे सामयिक चर्चा गरेका छन् । लेखमा पढ्ने र पढाउनेका वैयक्तिक इतिहासको सहाराले समाजभन्दा निकै पर रहेको शिक्षापद्धति, यान्त्रिक शिक्षण प्रणाली र पाठ्य ज्ञान–सामग्रीमाथि तीखो आलोचना गरिएको छ । समाजबाट विच्छेद हुँदै जाँदा प्राध्यापक र विद्यार्थी कामचलाउ हुनुका साथै बजारको घेराबन्दीमा परेको तर्क प्रसाईंले गरेका छन् । उनले जीविकामुखी बन्न पुग्दा ज्ञान, प्रज्ञा र विवेकलाई गौण ठानिएको उजागर गरेका छन् । उनी स्थापित शिक्षा प्रणालीले नयाँ जनशक्ति उत्पादन र परिवर्तनकामी ज्ञान–संस्कृति निर्माण गर्न सम्भवै नहुने संकेत गर्छन् ।

मिलन पाण्डे (‘खोइ उद्यमशील समाज बनाउने शिक्षानीति ?’, नयाँ पत्रिका, ३० पुस) ले भने शिक्षानीतिको सन्दर्भमा भारतका केजरीवालको ‘इन्टरप्रेनर्सिप माइन्डसेट करिकुलम’ शिक्षानीतिजस्तै नेपालमा पनि छुट्टै उद्यमशील समाज बनाउने शिक्षानीति बनाउनुपर्ने सुझाव दिएका छन् । उनले संस्कार सिकाउन र प्यासन पत्ता लगाई उद्यमी मानसिकता तयार गराउने शिक्षाको मुख्य दुई उद्देश्य हुनु पर्ने तर्क गरेका छन् । उमेर र कक्षाका आधारमा शिक्षाको उद्देश्य निर्धारण गर्नुपर्नेमा उनको जोड देखिन्छ । उनी प्राविधिक शिक्षा र सामाजिक अनुसन्धानकेन्द्री ‘प्राक्टिकल’ शिक्षामा लगानी गर्दा उद्यमशील शिक्षाले फड्को मार्ने तर्क गर्छन् ।

पर्यावरण, विकास र संभाव्य वैश्‍विक खतरा

उत्तमबाबु श्रेष्ठ (‘पानीका मुहान सुक्नुको रहस्य’, कान्तिपुर, २८ पुस) ले पानीका मुहान सुक्नुका रहस्य बडो मिहीन र नयाँ ढङ्गले उजागर गरेका छन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवेदनसमेत अध्ययन गरेर पर्यावरण, समाज र जलविज्ञानबारे बहुअनुशासनात्मक कोणबाट विचार व्यक्त गरेका छन् । उनले पानी र वनको सम्बन्ध वैज्ञानिक रहेको कुरा नयाँ तथ्यहरूले पुष्टि गरेकोे उल्लेख गरेका छन् । उनका अनुसार जमिनमुनिको सञ्चिति पानी दिनदिनै घट्दै जाने र त्यही घटेकै सञ्चिति पानी पनि रुखले बढी उत्स्वेदन गर्ने हो भने अब मान्छे र रुखबीच समेत पानीका लागि प्रतिस्पर्धा हुने भयावह अवस्था आउन सक्छ ।

पर्यावरणकै प्रश्‍नमा केन्द्रित रहेर राजेन्द्रप्रसाद अधिकारी (‘वातावरणीय संकट र वृत्ताकार अर्थतन्त्र’, कान्तिपुर, पुस ३०) भन्छन्– वैश्‍विक कार्बन उत्सर्जनमा नेपालको नगण्य हिस्सा भए पनि जलवायु परिवर्तनको मार भने अत्याधिक र जोखिमपूर्ण रहेको छ । उनले मेलम्ची खानेपानी आयोजना र स्थानीय बासिन्दाले बेहोरेको क्षतिलाई उदारणका रूपमा पेस गरेका छन् ।

पर्यावरण र अर्थतन्त्रबीच सम्बन्ध केलाउँदै अधिकारीले विकासमाथि बहस छेडेका छन् । उनका अनुसार जलवायु परिवर्तनमा प्रमुख कारक तत्त्व नै पेट्रोलियम पदार्थबाट उत्सर्जन हुने कार्बन हो । वायुमण्डलमा उत्सर्जन भएको हरितगृह ग्यासका कारण गत ५० वर्षमा मात्रै ६८ प्रतिशत जीवहरू लोप भइसकेका छन्, कैयौं संकटापन्न छन् भने ध्रुवीय हिउँ ७० प्रतिशतसम्म पग्लिसकेको छ ।

रिसर्चहरूका आधारमा लेखमा के भनिएको छ भने पृथ्वीमा उपलब्ध स्रोतहरूले धान्न सक्ने अधिकतम जनसंख्या १० अर्ब मात्रै हो । जबकि, सन् २०५० सम्ममा विश्‍वको जनसंख्या १० अर्ब पुग्ने अनुमान गरिसकिएको छ । अधिकारी भन्छन्–पर्यावरण संकटलाई ख्याल गर्ने आर्थिक मोडल हो– सर्कुलर इकोनोमी । यस आर्थिक मोडलले आर्थिक, समाज र वातावरण तीनै पक्षको गतिशीलतालाई सन्तुलनमा राखेर सफा प्राकृतिक ऊर्जा स्रोतको उचित प्रयोग, प्रदूषणरहित नयाँ पदार्थको खोजी, पुनःप्रयोग र वास्तविक दिगो विकासको वकालत गर्छ ।

प्रकाशित: २ माघ २०७८ १९:५२ आइतबार

चेतलुङ
चेतलुङ