राजनीति

अन्ततः एक्लो पुष्पलाल

मानव सभ्यताको विकाससँगै समाजको वर्गीय विभाजनपछि हजारौँ वर्षदेखि हुँदै आएको श्रमशोषण र त्यसविरुद्ध विभिन्‍न ऐतिहासिक चरणमा दास विद्रोहदेखि सर्वहारा आन्दोलनसम्मका वर्गसंघर्षको इतिहासमाथि अध्ययनपछि मार्क्सले सर्वहारा वर्गको आर्थिक मुक्तिको चाहनालाई कार्यरूप दिन गर्नुपर्ने राजनैतिक संघर्ष, नयाँ राज्य–सत्ताको रूप र उत्पादनका साधनमाथिको स्वामित्व तथा सामाजिक उत्पादनका न्यायिक वितरण प्रणालीको स्वरूपको निरूपण गरी प्रस्तुत गरेका दार्शनिक निचोड मार्क्सवाद हो ।

मार्क्सवादलाई सामाजिक जीवनमा कार्यरूप दिन अपरुनाउनु पर्ने राजनीतिक आन्दोलन कम्युनिस्ट आन्दोलन हो, जसको उद्देश्य सीमित शोषक वर्गको हातबाट राज्य–सत्ता छिनी मजदुर वर्गको नेतृत्वमा आम श्रमजीवी जनताको पूर्ण प्रजातान्त्रिक, वर्गीय शोषणबाट मुक्त, श्रमप्रधान, न्यायिक तथा समतामूलक वैज्ञानिक समाजवादी राज्य–व्यवस्था कायम गर्नु हो । नेपालमा कम्युनिस्ट आन्दोलनको जन्म पनि यिनै उद्देश्य र लक्ष्य लिएर भएको हो । कालान्तरमा यसमा देखिएको सैद्धान्तिक विचलन, राजनैतिक विकृति, कम्युनिस्ट नैतिकताको पतन र आन्दोलनको भ्रष्टीकरण आजको यथार्थ हो । यस्ता विकृतिबाट कम्युनिस्ट आन्दोलनलाई बाहिर निकाली त्यसको शुद्धीकरण गर्नु कम्युनिस्टहरूको आजको दायित्व हो । यसमा गहन छलफल र विश्लेषणको आवश्यकता छ ।

नेपाल कम्युनिस्ट पार्टी २००४/०५ सालमा काठमाडौँको जनआन्दोलनमा प्रजापरिषद्सँग संलग्न पुष्पलालजस्ता केही युवा क्रान्तिकारीहरू तथा भारतको स्वतन्त्रता आन्दोनलमा भाकपासँग काम गरेका र विराटनगर मजदुर आन्दोलनको पृष्ठभूमि भएका मनमोहन अधिकारी अनि कलकत्ता, बनारस आदि ठाउँमा अध्ययनरत र भारतीय कम्युनिस्ट पार्टीबाट प्रभावित तथा प्रशिक्षित युवकहरूको संयुक्त प्रयासबाट स्थापित भएको पार्टी हो ।

यस अर्थमा नेपालको कम्युनिस्ट आन्दोलन सारमा सर्वहारावर्गको लामो आर्थिक, राजनीतिक आन्दोलनको गर्भबाट जन्मेको र आफ्नै राष्ट्रिय विशिष्टतामा संगठित र विकसित राजनीतिक आन्दोलन नभई केही शिक्षित मध्यम तथा उच्च मध्यम वर्गीय युवा जमातले, तत्कालीन अवस्थामा सोभियत संघको सर्वहारा राज्य, चीनको जनक्रान्ति, दोस्रो विश्वयुद्धको समाप्तिपछि पूर्वी युरोपमा स्थापित पिपुल्स डेमोक्रेसी, भारतको स्वतन्त्रता आन्दोलन र त्यसमा कम्युनिस्ट पार्टीको भूमिका आदिबाट प्रेरित भएर तत्कालीन कांग्रेस पार्टीको समानान्तर सर्वहारा वर्गको पार्टीको नाममा गठन गरिएको कम्युनिस्ट पार्टीले सुरु गरेको राजनीतिक आन्दोलन हो ।

यसले आफ्नो पहिलो पर्चामा नै जहानियाँ राणातन्त्र (समष्टिगत राजतन्त्र होइन) समाप्त गरी ‘मजदुर वर्गको नेतृत्वमा मेहनतकस जनताको जनवादी राज्य–सत्ता स्थापना’ गर्ने घोषणा गरेको थियो । देशमा स्वतन्त्र सामाजिक वर्गका रूपमा सर्वहारा वर्गको जन्म नै नभएको र सर्वहारा वर्गीय राजनैतिक चेतनाको विकास भई नसकेको सामन्ती सामाजिक–आर्थिक संरचनाको त्यस चरणमा तत्काल यस्तो राज्य–सत्ता स्थापित गर्नु सम्भव थिएन । तर, अक्टोबर क्रान्तिपछि संसारका कम्युनिस्ट पार्टीहरूले आम रूपमा अपनाउने दीर्घकालीन राजनैतिक लक्ष्य यही नै थियो । मार्क्सवादको मार्गदर्शनमा ‘मजदुर–किसान वर्गको अधिनायकत्व स्थापना गर्ने’ लक्ष्य नभएको कम्युनिस्ट पार्टी हुन सक्दैन थियो । त्यसकारण नेकपाको स्थापना पनि ‘मजदुर–किसान वर्गको अधिनायकत्व स्थापना गर्ने’ र वर्गीय शोषणविहीन पूर्ण लोकतान्त्रिक वैज्ञानिक समाजवादको स्थापना गर्ने लक्ष्य लिएरै भएको थियो ।

आफ्नो जन्मकालदेखि नै नेपालको राणाविरोधी प्रजातान्त्रिक आन्दोलनभित्र मोटामोटी रूपमा प्रजातान्त्रिक खेमा र रेडिकल वाम खेमा रहेका हुन् । रेडिकल वाम खेमा कम्युनिस्ट पार्टीको रूपमा संगठित भएपछि यी दुइटै खेमाको वैचारिक आधार र लक्ष्यमा भिन्‍नता भए पनि जहानियाँ राणाशासन साझा दुस्मन थियो र आमनेपाली जनताको चाहना (शाहवंशीय राजतन्त्रबाट होइन) राणाशासनबाट मुक्ति पाउनु थियो र कम्युनिस्टहरूले पार्टीगत रूपमा नभए पनि व्यक्तिगत रूपमा कांग्रेसकै नेतृत्वमा ००७ सालको क्रान्तिमा भाग लिएका थिए ।

कम्युनिस्ट पार्टीहरूका लागि क्रान्ति कुन सीमासम्म जान सक्छ भन्‍ने कुरा ठम्याउन क्रान्तिमा सहभागी वर्गहरू, राजनीतिक शक्तिहरू, व्यक्ति तथा समुदायहरूको वर्गीय चरित्र र क्रान्तिको लक्ष्य स्पष्टसँग बुझ्नु पहिलो आवश्यकता हुन्छ । तब मात्र उसले क्रान्तिमा सम्मिलित वर्ग र तप्काहरूको चरित्र र लक्ष्य पहिचान गरी क्रान्तिका अग्रगामीबाहक शक्तिहरूसँग एकत्व कायम गरी क्रान्तिको अधिकतम सम्भावित लक्ष्य निर्धारण गर्न सक्छ । त्यसै आधारमा अग्रगामी शक्तिहरूलाई संगठित गरी क्रान्ति सम्पन्‍न गर्न सक्छ र क्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै अगाडि बढ्न सकिन्छ ।

नेपालमा त्यसबेला क्रान्तिको नेतृत्व गरिरहेको कांग्रेसलगायत अन्य शक्तिहरूको अधिकतम लक्ष्य राणाशाहीको अन्त्य गर्नु र श्री ५ को वैधानिक नायकत्वमा प्रजातन्त्रको स्थापना गर्नु थियो । त्यस अवस्थामा क्रान्तिलाई त्यसभन्दा अगाडिको चरणसम्म लैजान सकिने न वस्तुगत अवस्था थियो, न त पार्टी मनोगत र संगठनात्मक रूपले नै तयार थियो । तर, पार्टीले यस वस्तुगत अवस्थालाई बुझ्न सकेन र क्रान्तिकारी रोमान्टिसिज्मको सिकार हुन पुग्यो ।

वैचारिक र राजनीतिक पक्ष

पार्टीको तत्कालीन वैचारिक धरातल र राजनीतिक चिन्तनको पक्षलाई हेर्दा पाँच जनाले प्रारम्भिक समिति गठन गर्दा प्रकाशित पहिलो पर्चा, त्यसपछि पार्टी गठनको घोषणा बैठकबाट पारित पार्टीको पहिलो घोषणापत्र, प्रथम सम्मेलनबाट पारित पार्टीको घोषणापत्र कार्यक्रम, मनमोहनको नेतृत्वमा भएको पार्टीको प्रथम महाधिवेशनबाट पारित कार्यक्रम र घोषणापत्रहरूको अन्तर्वस्तु तथा वैचारिक र राजनीतिक उतारचढावलाई हेर्दा नेपाल कम्युनिस्ट पार्टी आफ्नो स्वतन्त्र चिन्तन र देशको सामाजिक आर्थिक अवस्थाको विश्लेणबाट निर्देशित हुनुभन्दा आफ्नो स्थापनाकालमा रणदिवे नेतृत्वको भारतीय कम्युनिस्ट पार्टी र बङ्गाल पार्टीबाट प्रभावित रहेको, चीनको क्रान्ति सम्पन्‍न भइसकेको अवस्थामा भएको पहिलो सम्मेलन भारतमा तेलङ्गना कृषक विद्रोहको नेता राजेश्वर राव नेतृत्वको छापामार कृषक आन्दोलनको माध्यमबाट नयाँ जनवादी क्रान्ति सम्पन्‍न गर्ने कार्यक्रमबाट प्रभावित देखिन्छ । बटेश्वर बैठकपछि अजय घोषद्वारा अपनाएको नीतिको अनुसरण गर्न खोजिएको देखिन्छ ।

नेपाल बैंकबाहेक अर्को बैंक नभएको, त्यसबेला नेपालमा अस्तित्व नै नभएका बीमा कम्पनी, नभएका ठूला–ठूला उद्योगहरूको राष्ट्रियकरण आदिजस्ता कुरा भाकपाको कार्यक्रममा उल्लेख भएका कुराहरूको यान्त्रिक नक्कल थियो ।

नेपाल कम्युनिस्ट पार्टीको गठन, प्रथम सम्मेलन र प्रथम महाधिवेशन त्यस कालखण्डमा भएका थिए, जुन कालखण्डमा भारतीय कम्युनिस्ट पार्टी स्वयं नेतृत्व परिवर्तन, राजनैतिक र नीतिगत उतारचढाव तथा कार्यक्रम परिवर्तन आदिजस्ता विभिन्‍न घटना बेहोर्दै अगाडि बढिरहेको थियो । नेकपाको वैचारिक आधार, रणनीति र राजनीतिक चिन्तनको प्रेरणास्रोत मार्क्सवाद–लेनिनवाद, चीनको क्रान्ति तथा सोभियत संघ रहेको भए पनि पार्टी गठनको प्रक्रियादेखि नेतृत्व तथा नीति निर्माणमा समेत भारतीय कम्युनिस्ट पार्टीको संलग्नता हुने त्यस अवस्थामा पार्टीमा त्यसको प्रभाव पर्नु स्वाभाविक नै थियो ।

यथार्थ के पनि हो भने भारतीय कम्युनिस्ट पार्टीको सहयोग, प्रभाव तथा प्रशिक्षणमा हुर्केको मध्यम वर्गीय क्रान्तिकारी युवा नेतृत्व त्यस बेलासम्म आफैँ आफ्नो स्वतन्त्रचिन्तन तथा विशिष्ट राष्ट्रिय अवस्थाको विश्लेषण गरी आफ्नो तात्कालिक राजनीतिक कार्यभार ठम्याउन सक्षम भइसकेको पनि थिएन । राणाहरूको क्रूर सत्ता अन्त्य गरी रूस र चीनजस्तो कम्युनिस्ट सत्ता कायम गर्नुपर्ने मनोगत धारणबाट निर्देशित थियो ।

भाजपाको रणदिवे कालमा कम्युनिस्ट पार्टी गठनको घोषणा गर्न बसेको चारजनाको बैठकबाट जनवादी क्रान्ति सम्पन्‍न गर्न आमजनतालाई आङ्ग्लो–अमेरिकी साम्राज्यवाद, साम्राज्यवादी कठपुतली नेहरूको सरकार र तिनको कठपुतली क्रूर राणाशाहीको अन्त्य गर्न निरन्तर क्रान्तिका लागि सबै क्षेत्रमा ‘क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति’ गठन गर्न आह्वान गर्दै ‘नेपाली जनताको नागरिक स्वतन्त्रताको लडाइँ एउटा क्रान्तिकारी लडाइँ हो । यसकारण यो लडाइँ अहिंसात्मक आन्दोलनसम्म मात्र सीमित हुनुहुँदैन’ भन्‍ने निष्कर्षसहित ‘हरेक होटल, सहर, गाउँ, जिल्ला, स्कुल कलेज र कलकारखानामा नागरिक स्वतन्त्रताका लागि क्रान्तिकारी समिति बनाई आफ्नो ऐन–कानुन जारी गर्दै ठाउँ–ठाउँ कब्जा गरी आफ्नो सत्ता कायम गर्न’ आह्वान गरियो ।

भाकपाले रणदिवे कालमा एउटै चरणमा जनवादी क्रान्ति सम्पन्‍न गर्न आह्वान गरेका नारा थिए । नेकपाले पनि चीन, बर्मा, मलाया, भारतको तेलङ्गनाका किसान विद्रोह आदिको उदाहरण दिँदै ‘त्यही क्रान्ति हाम्रोे संघारमा आइपुगेको’ भन्‍ने निष्कर्ष निकाल्यो । साथै कांग्रेसी नेताहरू राणाका मात्र दलाल होइनन्, अपितु टाटा, बिडला, नेहरूका पनि दलाल हुन्, यिनका विरुद्ध ‘चीन र दक्षिणपूर्वी युरोपमा जस्तो व्यवस्था ल्याउनका लागि अविराम युद्धनीति अपनाउनुपर्दछ, यसैलाई नयाँ जनवाद भनिन्छ’ भन्दै नयाँ जनवादी क्रान्तिका लागि आह्वान गरियो ।

समाजवादीहरू, टाटा, बिडला, साम्राज्यवादको पिट्ठु नेहरू सरकार, राणा–कांग्रेस मण्डली भनी व्यक्त गरिएको तिक्तता तथा नयाँ जनवाद आदिजस्ता शब्दावलीहरूमा भारतीय कम्युनिस्ट पार्टीको तत्कालीन कार्यक्रमको प्रभाव तथा तत्कालीन अवस्थामा मार्क्सवादी क्रान्तिकारीहरूले प्रयोग गर्ने लेखन पद्धतिकै पृष्ठभूमि देखिन्छ । राणाशाहीविरुद्ध विद्रोही भावना र राष्ट्रिय कांग्रेसको समानान्तर अर्को क्रान्तिकारी पार्टी खोल्ने चाहनाबाट निर्देशित एउटा युवा पुष्पलालले आमनेपाली जनतालाई क्रान्तिका लागि आह्वान गर्न भाकपाले त्यसकालमा क्रान्तिका लागि भारतीय जनतालाई गरेको आह्वानको शब्दशः अनुवाद गरी नेपालीमा प्रकाशित गरेको पर्चाको रूप थियो, न कि नेपाल कम्युनिस्ट पार्टीले सुविचारित रूपमा प्रस्तुत गरेको समष्टिगत रणनीति तथा कार्यनीति ।

१५ सेप्टम्बर १९४९ को घोषणा बैठकबाट पारित कार्यक्रममा पनि ‘सामन्तहरूलाई एक कौडी पनि नदिई तिनको जग्गा–जमिन, खेतबारी, हलो कोदालीसमेत किसानहरूमा बाँडिदिने, यातायात, चिया बगान, बैंक, खानी, उद्योगधन्दामा लगाएको विदेशी पुँजी जफत गर्ने र तिनको राष्ट्रियकरण गर्ने, ठूला–ठूला उद्योग, ठूला बैंकहरू, बीमा कम्पनीहरूलाई राष्ट्रियकरण गरी मजदुरहरूको नियन्त्रणमा ल्याउने, भाइ–भारदारी प्रथा समाप्त गरी जनसमितिहरूको रोहबरमा दिने, सर्वसाधारण जनतालाई हात–हतियार दिई जनताको फौज खडा गर्ने’ आदिजस्तो कार्यक्रम पारित गरियो ।

नेपाल बैंकबाहेक अर्को बैंक नभएको, त्यसबेला नेपालमा अस्तित्व नै नभएका बीमा कम्पनी, नभएका ठूला–ठूला उद्योगहरूको राष्ट्रियकरण आदिजस्ता कुरा भाकपाको कार्यक्रममा उल्लेख भएका कुराहरूको यान्त्रिक नक्कल थियो । अक्टोबर क्रान्तिपछि रूसले लागू गरेका कार्यक्रमको अन्धानुकरण थियो । यद्यपि, यसले तत्कालीन समयमा कम्युनिस्ट विचारधारा र कम्युनिस्ट पार्टीहरूको लक्ष्यबारे आमजनतालाई परिचित गराउन काम अवश्य गरेको थियो ।

सन् १९५० मे महिनामा रणदिवेलाई हटाई आन्ध्र प्रदेशको किसान विद्रोहका नेता राजेश्वर रावलाई महासचिवमा निर्वाचित गर्दा चीनको क्रान्ति सम्पन्‍न भइसकेको थियो । त्यसको अनुभव र विशेष गरी आन्ध्र प्रदेशको किसान विद्रोहको पृष्ठभूमिमा भारतमा किसान विद्रोहसँगै किसान मुक्तिबाहिनी र मुक्तिक्षेत्र निर्माण गर्दै किसान क्रान्ति सम्पन्‍न गर्न छापामार युद्धबाहेक अर्को विकल्प नरहेको ठहर गर्‍यो र नयाँ जनतान्त्रिक सत्ता कायम गरी मजदुर किसानको अधिनायकत्व स्थापना गर्न चिनियाँ किसान क्रान्तिको बाटो अनुसरण गर्‍यो ।

नेकपाले पनि सन् १९५१ सेप्टेम्बरमा कलकत्ताको प्रथम सम्मेलनमा विगतका गल्तीहरूको सिंहावलोकन गर्दै त्यस बेलासम्म पार्टीले अनुसरण गर्दै आएको नीतिलाई ‘...नेपालजस्तो देशमा क्रान्तिको तात्कालिक ध्येय नयाँ जनवाद हुनुपर्दछ भन्‍ने कुरा स्पष्ट रूपले प्रस्तुत गर्नुपर्नेमा नयाँ जनवादी क्रान्ति र समाजवादी क्रान्ति दुवैलाई एउटै सूत्रमा उनिदिने’ जस्ता ‘संकीर्णतावादी भूल’ भएको र ‘...यसले गर्दा नयाँ जनवादी क्रान्तिका लागि हाम्रो पक्षमा आउन सक्ने शक्तिहरूलाई आफ्नो साथमा लिन सकेनौँ । ...हामीले गरिब किसानलाई मात्र क्रान्तिका लागि आह्वान गर्‍यौँ । यसले गर्दा हामीले धनी किसानलाई अलग गर्‍यौँ । यसबाट हाम्रो पक्षमा आउन सक्ने कार्यकर्ता हाम्रो पक्षमा आउन सकेनन् र राजनीतिक मोर्चामा पनि हानि पुग्यो ।

‘...जनवादी क्रान्ति एउटा ऐतिहासिक क्रान्ति हो ।... यो विश्व समाजवादी क्रान्तिको हिस्सा हुँदाहुँदै पनि जातीय (राष्ट्रिय) आधारमा यसका आ–आफ्नै विशिष्टता रहन्छ...’ भन्‍ने सही विश्लेषण गरी त्यसमा सुधार गरियो । नेकपाले गरेको यो भूलसुधार पनि आफ्नो राष्ट्रिय विश्लेषणबाट निकालिएको निचोडभन्दा भाकपाको नीतिमा आएको परिवर्तनको परिणाम नै थियो । नेकपाले अझै आफ्नो तत्कालीन राष्ट्रिय विशिष्टतामा उभिएर स्वतन्त्र चिन्तन गर्न सकेको थिएन ।

००७ सालको क्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्ने कार्यनीति लिनुको साटो त्यस ‘अधुरो क्रान्ति’ लाई सम्पन्‍न गर्ने नाममा योजनाविहीन आन्दोलन गरिए । पार्टीभित्रको अन्तरकलहका कारण अस्पष्ट र संकीर्णतावादी नीति लिन पुग्यो । राणातन्त्रको समाप्तिपछि मुख्य राजनीतिक अन्तरविरोधको अवस्था फेरिएको र त्यस चरणको मुख्य राजनीतिक अन्तरविरोध दरबारसँग रहेको कुरा ठम्याउन सकेन । त्यसकारण कांग्रेससँगको अन्तरविरोधलाई प्रमुख रूपमा लिन पुग्यो । यो ठूलो कार्यनीतिक संकीर्णतावादी भूल थियो ।

क्रान्तिकारी संघर्षको दौरान आम रूपमा क्रान्तियकारीहरूमा देखापर्ने सामान्य चरित्र के हो भने संघर्षको दौरान क्रान्तिकारीहरूलाई हामी लडिरहेका छौँ वा लड्नुपर्छ भन्‍ने सामान्य ज्ञान सबैमा हुन्छ । तर, केका लागि लडिरहेका छौँ, के कुरा प्राप्त गर्नुपर्ने हो भन्‍ने ठोस ज्ञान सबैले राखेको हुँदैन । यस अवस्थाले क्रान्तिकारी प्रवेग अलमलिन्छ र निर्धारित लक्ष्यको स्पष्ट बाटो समात्न सकिँदैन । यही अवस्था यहाँको अविभाजित नेपाल कम्युनिस्ट पार्टीको सन्दर्भमा मान्‍नहोइन, त्यसपछि पनि सिङ्गो कम्युनिस्ट आन्दोलनमा रहेको हो र आज पनि छ ।

उदाहरणका लागि तीव्र गतिमा सांगठनिक विस्तार गरिरहेको बेला पार्टीमाथि प्रतिबन्ध लाग्यो । त्यसले पार्टीको सङ्गठनात्मक विकासलाई मात्रै अवरुद्ध गरेन, दरबारबाट भइरहेको षड्यन्त्रविरुद्ध सङ्घर्ष गर्न समेत कुुनै बेला प्रजापरिषद्को झण्डामुनि त कुनै बेला जनअधिकार सुरक्षा समितिको नाममा र कुनै बेला जनवर्गीय संगठनहरूको माध्यमबाट पार्टीले काम गर्नुपर्ने अवस्था आयो । प्रतिबन्ध फुकाउन गरिएका सम्पूर्ण प्रयास विफल भइरहेका अवस्थामा टंकप्रसाद मन्त्रिमण्डलको सहयोग लिई प्रतिबन्ध फुकाउने प्रयास गर्नु कुनै सैद्धान्तिक वा कार्यनीतिक गल्ती थिएन, बरु अवस्थाको माग थियो ।

त्यसका लागि पुष्पलाल, पीएन राणा, शम्भुराम आदिले सर्वसम्मतिबाट निवेदन दिए । तर, प्रतिबन्ध फुकुवा हुनेबित्तिकै यसै विषयलाई लिएर सैद्धान्तिक मतभेदको नाममा पार्टीभित्र बखेडा झिकी अन्तरसंघर्ष चर्काउने काम गरियो । जबकि, त्यस बेलासम्म पार्टीले नयाँ जनवादी क्रान्ति भन्‍ने गरेको भए पनि कहिल्यै पनि राजतन्त्रको उन्मूलन र गणतन्त्रको नारा खुला रूपले अगाडि सारेको अवस्था थिएन । बरु राजा वैधानिक सभाअन्तर्गत हुनुपर्छ भन्दै प्रकारान्तरले संवैधानिक राजतन्त्रको नीति स्विकार्दै आएको थियो ।

समष्टिगत रूपमा प्रथम पर्चादेखि प्रथम महाधिवेशनसम्म नेकपा आफ्नै स्वतन्त्र चिन्तनबाट निर्देशित नभई भाकपाको नीतिअनुसार चल्दै आएको देखिन्छ भने प्रथम महाधिवेशनपछि देशको वस्तुगत अवस्थामा टेकी तात्कालिक कार्यनीति तय गर्ने प्रयास गरेको देखिन्छ । तर, पार्टीभित्रको द्वन्द्व र व्यक्तिगत विद्वेषका कारण सही नीतिलाई पनि प्रभावकारी ढंगले लागू गर्न नसकिएको अवस्था रह्यो । त्यस दौरान पार्टीको तीव्र विकास, जनसम्पर्क तथा जनआन्दोलनमा प्रगति भए पनि त्यसले समयसापेक्ष ठोस कार्यनीति र दिशा लिएर दरबारविरुद्ध संयुक्त सङ्घर्षमा आफूलाई केन्द्रित गर्न सकेन । क्रान्तिको लगत्तैदेखि नेपाली कांग्रेसलाई घोर प्रतिक्रियावादी शक्ति र भारत तथा आङ्ग्लो–अमेरिकन साम्राज्यवादको झोलेका रूपमा हेरियो र आन्दोलनलाई दरबारभन्दा कांग्रेसविरुद्ध केन्द्रित गरियो ।

‘सामन्ती व्यवस्था र साम्राज्यवादी आधिपत्य समाप्त गरी मजदुर वर्गको नेतृत्वमा मेहनतकस जनताको जनवादी राज्यसत्ता स्थापना गर्ने’ नीति लिएको कम्युनिस्ट पार्टीको पहिलो लक्ष्य दरबारलाई कमजोर पार्नु हुनुपर्ने र दरबारको षड्यन्त्रविरूद्ध उभिएका पार्टीहरूसँग समय र अवस्थासापेक्ष समन्वयात्मक आधारमा प्रजातान्त्रिक कार्यनीति अपनाई कार्य गर्नुपर्ने अवस्थामा ‘मेहनतकस जनताको नेतृत्वमा जनवादी राज्यसत्ता स्थापना गर्ने’ नीति लिएर कांग्रेस, राष्ट्रिय कांग्रेसलगायतलाई समेत भारत तथा आङ्ग्लो–अमेरिकी साम्राज्यवादका दलाल र क्रान्तिका दुस्मन भन्दै शत्रु खेमामा राखी दुइटै शक्तिसँग टकरावको स्थिति लिन बनायो, त्यो क्रान्तिको त्यस चरणका लागि राजनीतिक र सैद्धान्तिक दुइटै दृष्टिले अतिवादी चिन्तन थियो ।

अन्तरकलहको अन्तरकथा

सैद्धान्तिक र राजनीतिक चिन्तनको कोणबाट यो एकपछि अर्को वैचारिक विचलन तथा कार्यनीतिक मतभिन्‍नताको कालखण्ड हो । संगठनात्मक पक्षमा अर्थहीन पारस्परिक विवाद, पारस्परिक अविश्वास र विद्वेषपूर्ण द्वन्द्वको कालखण्ड हो । पुष्पलाललाई पार्टी नेतृत्वबाट हटाएपछि सुरु भएको अन्तरपार्टी संघर्ष यस दौरान विविध रूपमा अगाडि आएको छ र अनेकौँ तीता अवस्था बेहोरेको छ ।

मनमोहनलाई नेतृत्वमा ल्याउन शैलेन्द्र र ध्रुवचन्द्र गौतमको विशेष भूमिका रहेको भनिए पनि पार्टीभित्रका डीपी अधिकारी, हिकमत सिंह आदि नेताहरू पनि त्यत्तिकै सक्रिय रहेका हुन् । यसबाट पुष्पलाल पार्टीभित्रसधैँ अघोषित अल्पमतमा रहनुभयो र वैचारिक होस् वा संगठनात्मक दुईटै क्षेत्रमा पटक–पटक पराजित हुनुभयो । पुष्पलालमा उत्पन्‍नकुण्ठा नै अन्त्यमा पार्टी विभाजनको कारण बन्यो । अर्कोतर्फ, यो कालखण्ड कम्युनिस्ट पार्टीको विस्तार, मार्क्सवाद, समाजवाद, जनवाद आदिको व्यापक प्रचारप्रसारको कालखण्ड पनि रहेको हो ।

कम्युनिस्ट पार्टी बाल्यकालदेखि नै पारस्परिक अविश्वास, व्यक्तिगत अहंकार, खेमाबन्दी तथा कटुतापूर्ण विवादका विभिन्‍न चरणहरूबाट गुज्रेको इतिहास छ । पार्टी गठन गर्दा दुई स्रोतबाट दीक्षित युवाहरू कम्युनिस्ट पार्टीमा सम्मिलित भएका थिए र पार्टीका प्रमुख व्यक्तिहरू भारतीय कम्युनिस्ट पार्टीभित्रको गुटबन्दीको अवस्थामा दुई भिन्‍न खेमाका नेताहरूको सम्पर्क र प्रभावमा थिए । त्यसमा पनि कोलकाता तथा बनारस स्रोतबाट आएकाहरू आफूलाई बढी शिक्षित र अनुभवी ठान्दथे ।

यद्यपि पुष्पलाल, मनमोहन अधिकारीजस्ता केहीबाहेक अरूहरू नेपालमा भएका युवा–विद्यार्थी, किसान मजदुर आन्दोलनसँग घनिष्ट रूपमा जोडिएका थिएनन् । स्वाभाविक रूपमा मध्यम वर्गीय युवा जमातमा पाइने व्यक्तिवादिता, महत्त्वाकांक्षा र मपाइँवाद तिनमा पनि रहेको थियो । पार्टी गठनको घोषणासभा गर्दा सर्वसम्मतिबाट पुष्पलाललाई महासचिवमा निर्विरोध निर्वाचित त गरियो । तर, यसै तुषको कारण बटेश्वर बैठकबाट उनलाई कुनै गम्भीर गल्तीबिना नै महासचिवबाट हटाइयो । पुष्पलालले पुनः त्यस पदमा पुग्न प्रत्येक अवसरको उपयोग गर्नु स्वाभाविक थियो, जुन उनले गर्दै रहे । पछि गएर उनले मनमोहनसँगको त्यो असन्तुष्टिलाई रायमाझीविरुद्ध केन्द्रित गरे ।

दोस्रो महाधिवेशनमा राजमाझीलाई हटाउने वातावरण थियो । तर, पुष्पलाल आफ्नै कारणले पराजित हुन पुगे । पुस १ गते राजाले सैनिक ‘कु’ गरेपछि त्यसमा पनि रायमाझी कारण रहेको अभियोगसहित रायमाझीलाई निष्कासन गर्न दरभंगा प्लेनमको मञ्च प्रयोग गर्ने प्रयास गरियो । त्यो पनि सफल भएन । प्रत्येक पटक निर्णायक मोडमा पुष्पलालले आफैंलाई उचाल्ने साथीहरूबाटै धोका पाए । दरभंगा प्लेनमपछि पुनः तिनै साथीहरूको उक्साहटमा पार्टी विभाजनको बाटो लिए । तर, त्यहाँ पनि तिनै साथीहरूको कारण पराजित भए र बिस्तारै एक्लिँदै गए ।

दरभंगा प्लेनमः अन्तरसङ्घर्षको चरमोत्कर्ष

महासचिव रायमाझी मस्कोमा अस्पतालमा रहेको र पार्टी प्रतिबन्धित रहेको बेला पुुष्पलाल, तुलसीलाल आदिको अग्रसरतामा फागुन २०१७ मा भारतको दरभंगामा केन्द्रीय समितिको विस्तारित बैठक बोलाइयो । रायमाझीको अनुपस्थितमा पुष्पलालले रिपोर्ट पेस गर्ने तथा रायमाझीलाई महासचिवबाट हटाउने योजना रहेको कुरा डीपी अधिकारीले केही केन्द्रीय समितिका साथीहरूलाई बताए । त्यसबेला दिल्लीमा रहेका कमर शाह र शम्भुरामहरूले दिल्लीस्थित सोभियत दूतावासको सहयोगमा रायमाझीलाई तुरुन्त बोलाएपछि पुष्पलालले रिपोर्ट पेस गर्ने अवस्था रहेन ।

केन्द्रीय समितिको तर्फबाट रायमाझीले संसदीय व्यवस्थाको पुनर्स्थापना, राजबन्दीहरूको रिहाइ, पार्टीमाथिको प्रतिबन्ध हटाउने र जनसरोकारका मुद्दा लिएर देशभित्रैबाट शान्तिपूर्ण आन्दोलन गर्ने कार्यनीति तथा कांग्रेस सरकारको पुँजीवाद तथा साम्राज्यवादपरस्त नीतिविपरीत राजाले लिएको राष्ट्रवादी नीति, चीन तथा सोभियत सङ्घसँग दौत्य सम्बन्ध कायम गरेको आदि कामबाट पार्टी नेतृत्व भ्रमित भएको स्वीकारोक्तिसहितको राजनीतिक रिपोर्ट प्रस्तुत गरे भने त्यसको समानान्तरमा पुष्पलालले उही संसद्को पुनर्स्थापनाका लागि आन्दोलन गर्ने, मोहनविक्रम सिंहले सशस्त्र आन्दोलन, अस्थायी क्रान्तिकारी सरकारको गठन र संविधानसभाको निर्वाचन गर्ने प्रस्ताव पेश गरियो ।राजाप्रतिको यस्तो भ्रमका लागि रायमाझीको कटु आलोचना गरिनुका साथै रायमाझीलाई राजावादी भएको आरोप पनि लगाइयो ।

प्लेनममा ४९ जनाको उपस्थित थियो । तीनवटै प्रस्तावमा क्रमिक रूपमा मतदान गर्ने सहमतिअनुसार मतदानका लागि प्रस्ताव पेस हुँदा पुष्पलालको पक्षमा ५ मत र मोहनविक्रम सिंहको पक्षमा २० मत परेकाले दुइटै प्रस्ताव अल्पमतमा परे । बाँकी २४ मत रायमाझीको पक्षमा रहेको मान्‍ने विषयमा विवाद हुँदा पुनः मतदान गरियो र पुष्पलाल पक्षधर पाँचजनाले मोहनविक्रम सिंहको पक्षमा मतदान गरेपछि त्यस पक्षमा २५ मत परे र रायमाझीको पक्षमा २४ मत । बहुमत मोहनविक्रम सिंहको प्रस्तावको पक्षमा रहेको भए पनि पार्टीविधानअनुसार यस विषयमा महाधिवेशनमा निर्णय गर्ने सहमति गरियो ।

बनारस महाधिवेशनबाट रोपिएको विभाजनको बीउबाट जन्मेका फलहरू पुष्पलालको दुखद राजनीतिक जीवनका कारण बने । आज पुष्पलाललाई आफ्नो नेता र आदर्श मान्‍ने तथा उहाँलाई देवत्व दिन नथाक्ने नेताहरू त्यसबेला पुष्पलालका कट्टर विरोधीहरू थिए ।

रायमाझीलाई महासचिवबाट हटाइयो र रायमाझी, शम्भुराम श्रेष्ठ र डीपी अधिकारीको तीन सदस्यीय सचिवालय बनाइयो । तर, विडम्बना ! त्यत्रो आलोचना र आरोपका बाबजुद सचिवालयको सचिवमा पुनः रायमाझी नै निर्वाचित भए । नौ महिना भिन्‍न महाधिवेशन गर्ने निर्णय गरी देशलाई पाँच क्षेत्रमा विभाजित गरी पाँचजनालाई इन्चार्ज नियुक्त गरियो । तर, पारस्परिक अविश्वास र कटुताले गर्दा महाधिवेशन त परको कुरा त्यसको तयारीका लागि केन्द्रीय समितिको बैठक पनि बस्न सकेन । सचिवालयले यसका लागि देशको अवस्थालाई जिम्मेवार देखायो । सारमा, दरभंगा प्लेनमको केन्द्रबिन्दुमा पार्टीको आगामी कार्यदिशाभन्दा पनि रायमाझीलाई पदबाट हटाउने चिन्तन थियो र विवादको केन्द्रमा रायमाझी नै थिए  । तर, त्यो विफल भयो ।

यो सत्य हो, ०१४ सालमा पाल्पामा राजसँगको भेटघाटपछि रायमाझीको राजाप्रति झुकाव स्पष्ट थियो र राजापरस्त नीतिको दलदलबाट पार्टीलाई उकास्न रायमाझीको निष्कासन आवश्यक थियो । तर, निर्णायक समयमा पुष्पलाललाई उक्साइराख्नेहरूले नै उनलाई साथ दिएनन् । हो, रायमाझी चलाख र धूर्त स्वभावका व्यक्ति थिए । तर्कशक्ति, विषयवस्तुको प्रस्तुति, समय र अवस्था हेरी आफूलाई प्रस्तुत गर्न सक्ने कला र व्यवहार उनमा थियो । तर, पार्टी नेतृत्व भित्र रायमाझीप्रति कुण्ठाग्रस्त रहेको निर्णायक जमात थियो, जसले इमानदारीसाथ पुष्पलाललाई साथ दिएको भए रायमाझीलाई निष्कासन गर्न सकिने थियो ।

तर, दोस्रो महाधिवेशन होस् अथवा दरभंगा प्लेनम, यहाँसम्म कि चीनमा प्रतिनिधि मण्डल पठाउन गरिएको मतदान तथा पुष्पलालकै नाममा गरिएको बनारस अधिवेशनमा समेत निर्णायक समयमा तिनले पुष्पलाललाई साथ दिएनन् । रायमाझीलाई हटाउन पुष्पलाललाई अगाडि सारेर नियोजित रूपमा केन्द्रसँग प्रान्तीय तथा जिल्ला पार्टीहरूका सम्बन्धविच्छेद, प्रमुख नेताहरूको राजीनामा, प्रधान कार्यालय नियन्त्रण गर्ने जस्ता काम गरिए । तर, निर्णायक अवस्थामा धोखा दिए ।

यस्तो किन ? यी अनुत्तरित प्रश्नहरूको उत्तर नेपालका आम कम्युनिस्टहरूमा रहेको दोगला चरित्र हो । यसबाट के देखिन्छ भने नेतृत्वका अधिकांश व्यक्ति रायमाझीको विरोधमा भए पनि भित्री मनबाटै पुष्पलालका समर्थक पनि थिएनन् । आज पनि प्रत्येक कम्युनिस्ट पार्टीहरूभित्र यस्तो दोगला चरित्र र राजनैतिक संस्कार विद्यमान छ । यही कुरा अहिले एमालेलगायतका प्रत्येक पार्टी भोगिरहेका छन् । 

पार्टी विभाजन र परिणाम

०१९ सालमा पार्टीको फुट २००८ मा बटेश्वर बैठकले रोपेको विभाजनको बीउको तार्किक परिणाम थियो । केही व्यक्तिले यस विभाजनलाई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा भएको वैचारिक विभाजनको परिणाम भन्‍ने गरेका छन् । तर, त्यो सत्य होइन । त्यस बेलासम्म पार्टीमा ‘सोभियत कम्युनिस्ट पार्टीको बाटो वा चिनियाँ कम्युनिस्ट पार्टीको बाटो’ भन्‍ने प्रश्न/विवाद पार्टीभित्र उठेकै थिएन ।

सन् १९६० को मस्को अन्तर्राष्ट्रिय सम्मेलनमा रायमाझीले सोभियत संघको समर्थन भने अवश्य गरेका थिए । तर, त्यहाँ प्रस्तुत गरिएको रिपोर्ट रायमाझी, शम्भुराम, कमर शाह, हिकमत सिंह र कृष्णराज बर्मा सबैको सहमतिमा प्रस्तुत गरिएको थियो । त्यस सम्मेलनले तेस्रो विश्वका कम्युनिस्ट पार्टीहरूको सन्दर्भमा पारित गरेको ‘राष्ट्रिय प्रजातन्त्र’ को कार्यक्रमप्रति चिनियाँ कम्युनिस्ट पार्टीको असहमति थियो ।

फुटपछि गरिएको बनारस महाधिवेशनले पनि ‘नयाँ जनवादी कार्यक्रम’ होइन, तुलसीलालद्वारा प्रस्तुत ‘राष्ट्रिय प्रजातान्त्रिक’ कार्यक्रम नै पारित गर्‍यो, जसमा प्रजातन्त्र पुनर्स्थापनाका लागि पार्टीको कार्यनीतिसहित संघर्षको त्यही नारा पारित गरियो, जुन दरभंगा प्लेनममा रायमाझीद्वारा प्रस्तुत गरिएको थियो । त्यसभन्दा पनि बढी त्यस महाधिवेशनले ‘आजको ऐतिहासिक आवश्यकता सार्वभौम संसद्को माग हो, गणतन्त्र होइन । यो संघर्ष राजाबाट शक्ति जनतामा हस्तान्तरण गराई देशमा प्रजातान्त्रिक व्यवस्थाको स्थापना गर्नुका लागि हो’ भन्दै ‘राजाबाट शक्ति जनतामा हस्तान्तरण गर्न र सर्वशक्ति सम्पन्‍न सार्वभौम संसद्को स्थापना’ को कार्यक्रम पारित गरेको थियो (अधिकारी, २०६४) ।

बनारस महाधिवेशनले पारित गरेको दस्तावेजले ‘संवैधानिक राजतन्त्र’ लाई स्पष्ट स्वीकारेको हुँदा यो दरभंगा प्लेनममा पेस गरिएको दस्तावेजभन्दा बढी राजापरस्त दस्तावेज थियो । त्यसमा न नयाँ जनवादको कुरा थियो, न त माओवादको । माओ विचारधारा र नयाँ जनवादी क्रान्तिको कार्यक्रम त पुष्पलालले २०२५ सालमा गोरखपुरमा गरेको तेस्रो सम्मेलनबाट अपनाएको कार्यक्रम हो (अधिकारी, २०६४ः १३०) । यस अवस्थामा पार्टीको फुट गणतन्त्र कि राजतन्त्र भन्‍ने वैचारिक द्वन्द्वको परिणाम थियो भन्‍नु इतिहास बङ्ग्याउने प्रयास मात्र हो ।

फुटको शृङ्खला

रायमाझीलाई राजावादी गद्दार घोषित गर्दै गरिएको बनारस महाधिवेशन न पार्टी विधानसम्मत थियो, न त इतिहासले त्यस फुटको औचित्य नै साबित गर्‍यो । न त्यस महाधिवेशनले दरभंगा प्लेनममा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमभन्दा कुनै ठोस भिन्‍न सैद्धान्तिक र राजनीतिक दिशा वा क्रान्तिकारी कार्यनीति प्रस्तुत गर्‍यो, न त त्यसपछिका पार्टी गतिविधिहरूले नै त्यो देखायो । पुष्पलाल आफ्नो ‘उही संसद्’ नीति पारित गराउन तथा महासचिवको निर्वाचन दुईटैमा पराजित भए । तुलसीलाललाई महासचिव बनाइयो । तर, यसै विन्दुबाट पुनः त्यस खेमामा नयाँ विभाजनका शृङ्खलाको चरण सुरु भयो ।

आफूलाई बनारस महाधिवेशनको प्रमुख आयोजक बताउनु हुने भरतमोहन अधिकारी आत्मकथामा ‘मेरो जीवनयात्रा’ मा लेख्छन्– ‘त्यो महाअधिवेशन गर्ने मुख्य सोच उनको थियो र उनले यो काम भारतीय कम्युनिस्ट पार्टीका कानु सन्यालको सक्रिय सहयोगमा र दरभंगा प्लेनमबाट पूर्वाञ्चल इन्चार्ज नियुक्त गरिएका तुलसीलाललाई साथमा लिई सन्यालको योजनाअनुसार गरेका थिए ।’ यसका लागि, उनकै शब्दमा– ‘परिचित नेताको आवश्यकता भएकाले काठमाडौं गएर पुष्पलालको खोजी गरी त्यसमा सहमत गराइयो र जेलमा रहेका मनमोहनले पनि समर्थन गरे ।

मोहनविक्रम सिंह तयारीकै सिलसिलामा पश्‍चिममा पक्राउ परेका थिए । मनमोहन, मोहनविक्रम सिंह, कृष्णराज बर्मा जेलमा भएकाले उहाँहरूलाई पनि पोलिटब्युरोमा राखियो ।’ स्मरणीय कुरा– राजाको विदेश नीतिको समर्थन र संविधान मान्‍ने वचन दिएर मनमोहन अधिकारी जेलमुक्त भएपछि ‘पुष्पलालसँग मत नमिलेकाले’ त्यस पार्टीमा सम्मिलित भएनन् । भरतमोहनसँग मिलेर उनले आफ्नै पार्टी खोले भने हिकमत सिंह समूह पुष्पलाललाई परित्याग गरी मनमोहन समूहमा प्रवेश गर्‍यो । सिंह त्यसको महासचिव बने । मोहनविक्रम सिंहले आफ्नै ‘मशाल’ पार्टी खोले । कृष्णराज बर्मा मातृपार्टीमै रहे । यसबाट थाहा हुन्छ– दरभंगा प्लेनममा रायमाझीले प्रस्तुत गरेको राष्ट्रिय प्रजातान्त्रिक कार्यक्रम तथा पार्टीको तात्कालिक कार्यदिशाको विकल्पमा क्रान्तिकारी कार्यनीति लिने उद्देश्यले भन्दा रायमाझीबाट छुटकारा पाउने व्यक्तिगत कारणबाट बनारस महाधिवेशन गरिएको थियो ।

बनारस महाधिवेशनको लगत्तै तुलसीलाल र पुष्पलालबीच पुनः ‘मूलबाटो’ र ‘कुन बाटो’ भनी नयाँ द्वन्द्व सुरु भयो । यस अन्तरद्वन्द्वको कारणबारे भरतमोहन लेख्नुहुन्छ-

पुष्पलालजी डोमिनेटिङ क्यारेक्टरको मान्छे, उहाँ दोस्रो हुनै नचाहने । आफूभन्दा माथि कसैलाई स्वीकार गर्न नसक्ने उहाँको मनोग्रन्थि थियो । पुष्पलालको यस्तो शैलीका कारण उहाँलाई मान्‍ने हामी मात्र लग भएका होइनौँ, हामीपछि मोदनाथ प्रश्रित, मदन भण्डारी, नारायणमान बिजुक्छेलगायत सबै अलग भए । अन्तिममा त पुष्पलाल एक्लो हुनुभयो, बलराम उपाध्यायले मात्र साथ दिनुभयो (अधिकारी, २०६४: १४१)।

पुष्पलाल समूहमा फुटको क्रम यत्तिकैमा रोकिएन । ०२९/३० सालतिर लक्ष्मीभक्त उपाध्याय, हरिहर शर्मालगायत ठूलो समूह रायमाझी नेतृत्वको पार्टीमा सम्मिलित भयो भने त्यसलगत्तै रामचन्द्र चापागाईंको समूह तथा नरबहादुर खाँडको समूह पनि फर्कियो । मोदनाथ प्रश्रित, मदन भण्डारी, जीवराज आश्रित समूहले पुष्पलाललाई परित्याग गरी आफ्नो बाटो लिए ।

यसप्रकार बनारस महाधिवेशनबाट रोपिएको विभाजनको बीउबाट जन्मेका फलहरू उहाँको दुखद राजनीतिक जीवनका कारण बने । आज पुष्पलाललाई आफ्नो नेता र आदर्श मान्‍ने तथा उहाँलाई देवत्व दिन नथाक्ने नेताहरू त्यसबेला पुष्पलालका कट्टर विरोधीहरू थिए । हामी तत्कालीन मातृपार्टीमा रहेकाहरू कम्युनिस्ट पार्टी तथा यस देशको कम्युनिस्ट आन्दोलनका जन्मदाताका रूपमा उहाँको उच्च मूल्यांकन र सम्मान तथा उहाँका सकारात्मक र नकारात्मक पक्ष केलाउँदै उहाँको मूल्यांकन गर्दछौँ ।

अहिले व्यक्तिगत स्वार्थ, पदलोलुपता, मपाइँवाद, अवसरवादिता, राजनीतिक/नैतिक पतन, सैद्धान्तिक पतन, नेपाल कम्युनिस्ट आन्दोलनको चारित्रिक विशेषता भएका छन् । यिनै कारणले गर्दा यहाँ नामको अक्षरदेखि प्रधान शत्रुको विवादसम्म, माओवाद कि माओविचारधारा, मपाइँत्वदेखि व्यक्तित्वको टकराव, पदलोलुपताजस्ता असान्दर्भिक र निरर्थक विषयलाई सैद्धान्तिक मतभेदको जामा पहिर्‍याई पार्टी फुटेका छन् । व्यक्तिगत स्वार्थ पूरा गर्न पक्ष परिवर्तन गर्नु, त्यसलाई वैचारिक मतभेदको जामा पहिर्‍याउनु सामान्य चरित्र भएको छ ।

रायमाझी नेतृत्वको कम्युनिस्ट पार्टीलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त थियो । त्यसकारण यस पार्टीलाई सोभियत संघलगायत पूर्वी युरोपका सबै समाजवादी देशहरूबाट छात्रवृत्ति, स्वास्थ्याेपचारको सुविधा, भ्रमणको निम्तोजस्ता सुविधा प्राप्त थिए । आफ्ना सन्तान पढाउने स्वार्थले लक्ष्मीभक्त उपाध्याय, नरबहादुर खाँण आदिजस्ता पुष्पलालका कट्टर भक्तहरू उहाँको बदख्वाइँ गर्दै रायमाझी नेतृत्वको पार्टीमा फर्किए र सन्तानको शिक्षा, स्वास्थोपचार आदि सुविधा भोगी पुनः आफ्नै ठाउँ फर्किए ।

नेकपा (संयुक्त) मा रहेका तुलसीलाल अमात्यले एक दिनअगाडि एमालेलाई सीआईएको पार्टी भनी लेखे । अर्को दिन राजदूत बन्‍ने अवसर पाउनासाथ एमाले प्रवेश गरे । यस्ता अनेकौँ उदाहरण छन् । आज त मन्त्री पद, राजनैतिक नियुक्ति वा अन्य आर्थिक लाभका लागि बिहान–बेलुकी पक्ष परिवर्तन गर्ने, फुट्नेजस्ता काम कम्युनिस्टहरूका सामान्य दैनिकी बनेका छन् ।

सन्दर्भसूची


अधिकारी, भरतमोहन (२०६४).मेरो जीवनयात्रा. काठमाडौंः सुप्रवाह प्रकाशन प्रा.लि.।