विज्ञान-प्रविधि

रुसमा कृत्रिम बौद्धिकताःचुनौती कति ?

अहिले विश्‍वका शक्तिशाली राष्ट्रहरूबीच प्रतिस्पर्धा भइरहेको क्षेत्रमध्ये कृत्रिम बुद्धिमता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स पनि एक हो । विशेषगरी यस क्षेत्रमा संयुक्त राज्य अमेरिका र चीनबीच एआई हतियार विकासमा शीतयुद्धकालीन अवस्थामा छन् । तर, सैन्य शक्तिका दृष्टिले दोस्रो शक्तिशाली राष्ट्र रसिया यस क्षेत्रमा के गरिरहेको छ भन्‍ने खासै अध्ययन र अनुसन्धान भएको पाइँदैन ।

गत फेब्रुअरी २७ मा रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले रणनीतिक रूपमा आफ्नो भाषणमा ‘आणविक युद्ध’ शब्द प्रयोग गरेका थिए । तर, केही अघिसम्म विश्‍वका विद्वानहरूले अब आणविक युद्धभन्दा पनि भविष्यमा ‘एआई हतियारहरू’ प्रयोग हुने भविष्यवाणी गर्दै आएका छन् । 

अहिले रुस–युक्रेनबीच भइरहेको युद्धमा रुसले प्रविधिको व्यापक प्रयोग गरिरहेको छ । यसमा आर्टिफिसियल इन्टेलिजेन्सको पूर्ण प्रयोग नभए पनि आंशिक प्रयोग भएको प्रमाण भेटिएको छ । साथै रुस विगत केही वर्षदेखि सैन्य–औद्योगिक परिसर, एकेडेमिया र निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्न रिसर्च एन्ड डेभलपमेन्ट (आर एन्ड डी) सञ्‍जाल स्थापना गरेर यस क्षेत्रमा अघि बढ्न खोजिरहेको छ, जसको उद्देश्य सैन्य रोबोटिक्समा काम गर्नु र एआईलाई सैन्य प्रणालीमा कसरी प्रभावकारी रूपमा समावेश गर्न सकिन्छ भन्‍ने हो । 

यसै क्रममा, रुसले सिरियामा सैन्य लडाइँको क्रममा ६ सय नयाँ हतियार र सैन्य उपकरण परीक्षण गरेको थियो, जसमध्ये दुई सय हतियारलाई ‘नेक्स्ट जेनेरेसन’ (अर्को पुस्ता) को हतियारका रूपमा व्याख्या गरेको छ । यसले के देखाउँछ भने अहिले रुसी नेता र सैन्य रणनीतिकारले एआईलाई गम्भीरतापूर्वक लिई रहेका छन् । 

यस्तै उनीहरू कार्यगत रूपमा आफ्नो क्षेत्र निर्धारण गरी अगाडि बढी रहेका छन् । यसमा पहिलो, आफ्नो सैन्य दललाई सशक्त बनाउन ‘कमाण्ड एन्ड कन्ट्रोल’, ‘रोबोटिक सिस्टम’, विद्युतीय युद्ध (इलेक्ट्रोेनिक वारफेयर), साइबरस्पेस र ‘इन्फरमेसन वारफेयर’, सैन्य रसद, प्रशिक्षण, स्वास्थ्य र पूर्वानुमान (फोरकास्टिङ) लगायत क्षेत्रहरूको पहिचान गरी काम सुरु गरेका छन् । 

सन् २०२० मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो पटक भविष्यमा अमेरिकी र नाटोसँग सामना गर्न रक्षा मन्त्रालयको पाँच प्रमुख प्राथमिकतामा एआईसहितको एउटा हतियार हुनु पर्ने धारणा व्यक्त गरेका थिए । 

यसरी विश्‍वको शक्तिशाली देशहरूको नीतिको केन्द्रमा एआई पर्नुको कारण बुझ्‍न विश्‍वको आर्टिफिसियल इन्टेलिजेन्सका प्रमुख वक्ताहरूमध्ये एन्ड्रयु एनजीको भनाइ ख्याल गर्नुपर्ने हुन्छ । उनको भनाइ अत्यन्तै तर्कसंगत रहँदै आएको छ । उनी एआईलाई थोमस एडिसनको बिजुली आविष्कारसँग दाज्‍ने गर्छन् । बिजुलीको आविष्कारपछि संसारमा तीव्र परिवर्तन र विकास भएको थियो । यसले उद्योग क्षेत्रलाई एक सय वर्षअघि पुर्‍याएको थियो । उनका अनुसार एआईले त्यही इतिहास दोहोर्‍याउनेछ ।

यस परिस्तिथिमा अमेरिका र चीनजस्ता राष्ट्रहरूले सबै क्षेत्रमा एआईको प्रयोग र विकासमा काम गरिरहेका छन् । तर, रुस एआईलाई सैन्य प्रयोगका लागि केन्द्रमा राखेर काम गरिरहेको छ । उनीहरू मानवरहित युद्धको परिकल्पनामा अघि बढिरहेका छन्, जहाँ किलर रोबोटले युद्ध लड्ने छ ।

त्यसैले पनि रुसले एआईको सैन्य प्रयोगका लागि लिएको नीति अरु देशभन्दा धेरै नै उपयोगितावादी र व्यावहारिक देखिएको छ । वर्तमान अवस्थाको रुसको एआईप्रति लगाव र लगानीले भविष्यमा अमेरिका र नाटोलाई असर गर्ने निश्‍चितप्रायः छ । समयक्रम बढ्दै जाँदा रुसको यस कार्यनीतिले अमेरिका र नाटोलाई तीन प्रमुख क्षेत्रहरूमा ठूलो प्रभाव पार्नेछ । 

विद्युतीय युद्ध  

सन् २००९ देखि रुसले आफ्नो विद्युतीय युद्ध अर्थात् इलोक्ट्रोनिक वारफेएरको क्षेत्रमा महत्वपूर्ण प्रगति गरेको छ, रक्षा मन्त्रालयको प्रत्यक्ष सहभागितामा नेटवर्क–सेन्ट्रिक वारफेर भिजन कार्यान्वयन गर्न (चार–सीआईएसआर) को अवधारणामा कमान्ड, कन्ट्रोल, कम्युनिकेसन, कम्प्युटर, इन्टेलिजेन्स, सर्भिलेन्स, सैनिक परीक्षण (रिकनिसेन्स) जस्ता सैन्य गतिविधि प्रभावकारी रूपमा बढाउन अहिले काम गरिरहेको छ ।

तस्बिर साभारः रसिया बिजनेस टुडे

अहिले रुससँग भएको हाइ–टेक मोबाइल इलोक्ट्रोनिक वारफेएर प्रणालीमा कम्तीमा एउटा कृत्रिम बुद्धिमता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स क्षमता भएको उत्कृष्ट हतियार रहेको छ । 

विभिन्‍न समाचार रिपोर्टहरूअनुसार आरबी–टेननाइनए बाईलिना ईडब्लु (RB–109A Bylina EW) एक स्वचालित निर्णय गर्न सक्ने प्रणाली हो । यसले रेडियो स्टेसन, सञ्‍चार प्रणाली, राडार, उपग्रह स्वतन्त्र रूपमा आ-आफैँ पहिचान गरी तिनीहरूलाई कसरी र कहाँबाट निरर्थक बनाउने भन्‍ने निर्णय गर्ने उत्कृष्ट प्रणाली हो । 

यसरी विश्‍वको शक्तिशाली देशहरूको नीतिको केन्द्रमा एआई पर्नुको कारण बुझ्‍न विश्‍वको आर्टिफिसियल इन्टेलिजेन्सका प्रमुख वक्ताहरूमध्ये एन्ड्रयु एनजीको भनाइ ख्याल गर्नुपर्ने हुन्छ । उनको भनाइ अत्यन्तै तर्कसंगत रहँदै आएको छ । उनी एआईलाई थोमस एडिसनको बिजुली आविष्कारसँग दाज्‍ने गर्छन् । बिजुलीको आविष्कारपछि संसारमा तीव्र परिवर्तन र विकास भएको थियो । यसले उद्योग क्षेत्रलाई एक सय वर्षअघि पुर्‍याएको थियो । उनका अनुसार एआईले त्यही इतिहास दोहोर्‍याउनेछ ।

सन् २०१८ मा युक्रेनको डोनबास क्षेत्रमा तीनवटा फरक–फरक इलेक्ट्रोनिक वारफेएर प्रणालीहरू भेटिएका थिए । तत्कालीन परिवेशमा यसले रुसी सशस्त्र बलहरूलाई महत्त्वपूर्ण जानकारीहरू प्रदान गरिरहेको अनुमान गरिएको थियो । यसले के देखाउँछ भने अहिले भइरहेको रुस–युक्रेन युद्धको तयारी धेरै अघिदेखि भइरहेको हो । 

सन् २०२० अप्रिलमा इज्भेस्टियाको रिपोर्टअनुसार रुसी रक्षा मन्त्रालयले सन् २०२५ सम्म यी प्रणालीहरू सैन्य एकाइहरूमा समावेश गर्ने निर्णय गरेको छ । विज्ञहरूअनुसार यस प्रणालीहरूले इलेक्ट्रोनिक वारफेयरमा रुसको शक्ति ४० प्रतिशतदेखि ५० प्रतिशत बढाउन सक्छ । 

अहिलेको अवस्था रुसले इलेक्ट्रोनिक वारफेरमा क्षमता वृद्धिका लागि गरिरहेको लगानी सिधै अमेरिकी र नाटोलक्षित छ । किनकि अधिकांश अमेरिकी र नाटो सैन्य प्रणाली र हतियारहरू उपग्रह सञ्‍चार (स्याटलाइट कम्युनिकेसन) ग्लोबल पोजिसनिङ सिस्टम (जिपीएस) नेभिगेसन र उच्च ब्यान्डविथ इन्टरनेटमा पूर्ण निर्भर रहेको छ । 

मानवरहित प्रणाली

जब मानवरहित प्रणालीमा स्मार्ट सफ्टवेयरको रूपमा एआईले भूमिका खेल्छ । यसले मानवरहित प्रणालीको जमिन, पानी, अन्तरिक्षमा अन्त्यन्तै प्रभावकारी ढंगले काम गर्न सक्छ । साथसाथै, यसले मान्छे–मेसिनबीच अनि अरु धेरै मानवरहित प्रणालीहरूबीच समन्वय बढाउन पनि भूमिका खेल्छ । हाल रुसको मानवरहित एयर भेहिकल (युएभी) र मानवरहित ग्रोउन्ड भेहिकलहरू (युजीभी) रिमोटबाट सञ्‍चालित छन् । 

यसैअन्तर्गत, भविष्यमा एआईले आकाशमा हुने लडाइँ अरुभन्दा ठूलो भूमिका रहने र पूर्ण रूपमा पछि स्वायत लडाइँ प्रणालीहरू विकास हुने रुसी रणनीतिकारहरू बताउँदै आएका छन् ।

अमेरिका र चीनजस्ता राष्ट्रहरूले सबै क्षेत्रमा एआईको प्रयोग र विकासमा काम गरिरहेका छन् तर रुस एआईलाई सैनिक प्रयोगका लागि केन्द्रमा राखेर काम गरिरहेको छ ।

अबको युद्ध रोबोटीक हुने र भविष्यका युद्धमा मेसिनहरू समावेश हुने, युद्धको मैदानमा सिपाहीभन्दा मेसिन लड्दा रुस नै माथि पर्ने आकलन पनि छ । तर, अहिले रुस पूर्ण रूपमा नभई मानव र मेसिनको टिमिङमा सिपाही तथा सैन्य हार्डवेयरको समायोजन गरी भविष्यमा अघि बढ्ने सक्ने आकलन पनि गरिँदै छ।

योसँगै, रुसको लामो दायरासम्म उडान भर्न सक्ने ड्रोनमा (अल्तुस) पनि एआईको समावेशले शक्ति सञ्‍चयमा अर्को इँटा थपेको छ । रुसी सेना अमेरिकी सेनाको तुलनामा नयाँ प्रविधिहरूको परीक्षण गर्न सधैँ अघि रहेको छ । जोखिम लिन खोज्‍ने उनीहरुको परम्पराले अरु शक्ति राष्ट्रभन्दा रुस सधैँ यो क्षेत्र अघि भएको हो । 

यस्तै, सन् २०१८ मा रुसी सेनाले सिरियाली युद्धमा आफ्नो नयाँ हतियार पहिलो पटक प्रयोग गर्ने सन्दर्भमा युरान–९ सानो ट्याङ्क आकारको बख्तरबन्द (युजीभी) अनुसन्धानकै चरणमा रहेको अवस्था परीक्षणको साथै प्रयोग गरेको थियो ।

सूचना श्रेष्ठता र साइबर युद्ध

साइबर युद्ध अर्थात् साइबर वारफेयरलाई सामान्य भाषामा बुझ्दा शत्रु वा विपक्षी पार्टीको कम्प्युटर सिस्टममा अनाधिकृत घुसपैठ गरी बाधा पुर्‍याउनु हो । यसमा वेबसाइटलाई काम नलाग्‍ने बनाउनु, डेटा चोरी गरेर नष्ट गर्नु र पावर ग्रिडहरूजस्ता महत्त्वपूर्ण पूर्वाधारमा बाधा पुर्‍याउन कम्प्युटर प्रणालीहरूको नियन्त्रण लिने बुझिन्छ ।

अहिलेको अवस्था रुसले इलेक्ट्रोनिक वारफेरमा क्षमता वृद्धिका लागि गरिरहेको लगानी सिधै अमेरिकी र नाटोलक्षित छ । किनकि अधिकांश अमेरिकी र नाटोको सैन्य प्रणाली ‘ग्लोबल पोजिसनिङ सिस्टम’, नेभिगेसन र उच्च ब्यान्डविथ इन्टरनेटमा पूर्ण निर्भर रहेको छ ।

यस्तै, आजको युगमा सूचनामा जसको पहुँच हुन्छ, युद्ध उसैको पोल्टामा पर्ने निश्‍चित छ । रसियन रणनीतिकारहरू भविष्यमा हुने युद्धमा एआई–सक्षम सूचना युद्ध (एआई–इनएबल्ड इन्फर्मेसन वारफेयर) एउटा महत्त्वपूर्ण हतियार बन्‍नेछ भन्‍ने विश्‍वास गर्छन् । त्यसैले एआईले अबको सैन्य क्षेत्रमा तेस्रो क्रान्तिको सुरुआत गर्नेछ । 

रसिया जहिल्यै पनि आफ्नो सैन्य, राजनीति र रणनीतिक उद्देश्य अगाडि बढाउन साइबर युद्धमा निर्भर रहँदै आएको छ । अबको चुनौती भनेको रुसले एआईलाई कुन हदसम्म आफ्नो सैन्य रणनीतिमा समावेश गर्छ भन्‍ने हो । यस्तै, पूर्वरुसी रक्षाउपमन्त्री युरी बोरिसोभले एआईबारे आफ्नो दृष्टिकोण राख्‍ने क्रममा उनले एआईको विकासले रूसलाई सूचना पाउने वातावरण अझ प्रभावकारी रूपमा सिर्जना गर्ने र त्यसले साइबर युद्धहरू जित्‍न सहयोग पुर्‍याउने बताएका थिए । 

यस भनाइले रुसी सरकार एआईलाई लिएर संवेदनशील छ भन्‍ने बताउँछ । स्मरणीय छ– रुसको सेना अहिले पनि विश्‍वमा सबैभन्दा सक्षम र प्राविधिक सेनाहरूमध्येको एक हो । रुससँगको उन्‍नत बुद्धिमत्ता, सूचना युद्ध, साइबर युद्ध र इलेक्ट्रोनिक युद्ध क्षमताहरू उत्कृष्ट भएको अवस्था छ । यस अर्थमा, रुसले एआईमा गरेको लगानी र प्राविधिक विकासले रुसलाई अति शक्तिशाली बनाउने निश्‍चितप्रायः छ । 

नाटोको टाउको दुखाई 

अहिलेसम्म अमेरिका र नाटोको ध्यान खाडी देशहरूमा आतंकवादविरोधी अभियानमा थियो । तर, अहिले रणनीतिक बदलावको कारण चीन र रुसको विरुद्धमा आफ्नो शक्ति सञ्‍चय गरेको देखिन्छ । यसले अमेरिका र नाटो मध्यपूर्वमा अनुमोदित वातावरणमा (अति कमजोर शत्रु पक्ष) सँग निर्विवाद रूपमा आफ्नो प्राविधिक श्रेष्ठताको प्रयोगमा युद्धको सञ्‍चालन गर्दै आएका छन् ।

तर, अबको वर्चस्वको लडाइँमा अमेरिका र नाटो धेरै क्षेत्र आफूसरह शक्तिशाली र केही क्षेत्रमा आफूभन्दा धेरै शक्तिशाली पक्षसँग सिंगौरी खेल्न खोज्दै छन् । खास कुरा– रुस र चीन सबै क्षेत्रमा शक्तिशाली छन् । झनै अहिले आर्टिफिसियल इन्टेलिजेन्सको प्रतिफलले यस क्षेत्रमा क्रान्ति ल्याउने सम्भावना रहेकाले अमेरिका र नाटोको टाउको दुखेको हो । 

रुसको सन्दर्भमा अहिले इलेक्ट्रोनिक वारफेयर आफ्नो उच्च–प्रविधि भएका विरोधीहरूको (अमेरिका र नाटो) सामना गर्न एक मात्र विकल्प देख्दै आएका छन् । यसमा रुसको इलेक्ट्रोनिक वारफेयर दस्ताले विपक्षीको फ्रिक्‍वेन्सी र सञ्‍चार क्षमतालाई कमजोर बनाउन एआई–सक्षम प्रणाली (एआई–इनएबल्ड सिस्टम) को प्रयोग गर्न खोजिरहेका छन् । यस प्रणालीको प्रयोग भएमा विपक्षीको कमाण्ड र कन्ट्रोललाई नै ध्वस्त बनाएर, युद्ध मैदानमा सेनाहरूको सम्बन्धलाई परिवर्तन गरी आफ्नो अनुकूलमा ल्याउने ल्याकत राख्छ । 

अमेरिका र नाटोले पनि रुसको मानवरहित हवाई प्रणाली (अन्म्यान्ड एरियल सिस्टम) को बढ्दो खतरालाई मध्यनजर गर्दै केही कदम चलेका छन्, जसमा उनीहरुले काउन्टर–अनम्यान्ड एरियल सिस्टममा लगानी बढाएका छन् । 

लामो दायरासम्म उडान भर्न सक्ने ड्रोनमा एआईको प्रयोगले शक्ति सञ्‍चयमा अर्को इँटा थपेको छ । रुसी सेना अमेरिकी सेनाको तुलनामा नयाँ प्रविधिहरूको परीक्षण गर्न सधैँ अघि छन् । जोखिम लिन खोज्‍ने उनीहरुको परम्पराले अरु शक्ति राष्ट्रभन्दा रुस सधैँ यो क्षेत्र अघि दरिएको हो ।

वर्तमान अवस्थामा एआई नयाँ प्रविधि र सुरुआती चरणमा भएकाले यसलाई प्रयोगमा ल्याउँदा असफल पनि भइरहेको छ । तर, केही समयअघि रुसले आफ्नो उच्च–प्रविधि हतियारहरूको सिरिया र युक्रेनमा परीक्षण गर्ने क्रममा केही सफलता हात पारेका थिए । 

यस सन्दर्भमा अरु देशका भन्दा रुसी सैनिकहरू उन्‍नत प्रणालीसँग काम गरिरहेका छन् । यसले एकातिर मानव–मेसिनको सम्बन्धमा जीवन्तता ल्याउने काम गरिरहेको छ भने अर्कोतिर यसले भविष्यमा रुसका लागि अपार शक्तिको भण्डारणको लागि महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।