बाहिरबाट गाउँ हेर्दा धेरै अर्थमा उस्तै छैन, रहेन । गोरेटो बाटो हुँदै हाट भर्न हिँडेका हटारुहरू देखिँदैनन् । मोलुङको गढ हुँदै ढाकर र तोक्मा बोकेर नुन लिन लहरै हिँडेका भरियाहरू भेटिँदैनन् । गाउँको बीच पँधेराहरूमा पानी भर्दै गरेका मानिसहरू भेटिँदैनन् । चौतारोमा थकाइ मार्दै गरेका गोठाला र खेतालाहरू पनि देखिँदैनन् ।
यी सबै हिँड्ने चौबाटो, दोबाटो, ओडार र चौतारोहरू चिर्दै र भत्काउँदै मनग्गे सडकहरू खनिएका छन् । सडकसँग सहमति गर्दै जताततै घरहरू थपिएका छन् ।
पहुँच र हैसियत भएका मानिसहरूका लागि धेरै सुविधा पुगेका छन् । मानिसहरूले फोन बोक्न थालेका छन् । छोटो यात्रा गर्न पनि गाडी चढ्न थालेका छन् । सीमा पार गरेर आएकै भए पनि दुई छाक चामलको भात खान्छन् । कुना–कुनामा बियर र गुड्खा सजिलै भेटिन्छ । गाउँ–गाउँसम्म ‘सरकार’ हरू छन् । राजनीतिक पार्टी र तिनका गन्ने–मान्ने नेताहरू छन् । शानदार, चम्किला र भव्य घरहरू छन् । ती घरमा झन्डाहरू फहराइरहन्छन् । समृद्धिको एकपाखे आँखाबाट हेर्दा यो विकास नै हो । अर्को दृष्टिबाट हेर्दा यही विकासमा जिन्दगीको दुःख आज पनि उस्तै गरी जेलिएको छ ।
गरिबहरूको दैनिकी आज पनि उस्तै छ । गरिबी उस्तै छ । जटिलता उस्तै छ । भुइँ मानिसहरूले नयाँ व्यवस्था, संविधान, संघीयता, विकास र समृद्धिको अनुभूति गर्न पाएका छैनन् । बरु नयाँ जटिलताले जीवन झनै कष्टकर हुँदै गएको छ । यो वर्ग आज पनि दुई छाककै घनचक्करमा पिरोलिएको भेटिन्छ । यो लेख यस्तै वर्गका एक कृषि श्रमिक यलुङखोलेको कथा हो ।
अहिले ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा पर्ने साबिकको खिजीफलाटे गाविसको यलुङ हुँदै बगेको खोलाको नाम यलुङखोला हो । त्यही यलुङमा जन्मिएका थिए– श्यामबहादुर नेपाली । लेकको ठाउँ, खेती–किसानी गर्यो । आलु, मकै, गहुँ फलायो; गाईभैँसी पाल्यो, जिन्दगी चलेकै थियो । आफ्नै गाउँघर, बा–आमा, छिमेकी, खेतीपाती, मेलापर्म, देवीदेउराली सबै ठीकै थियो । बिहे गर्दा श्यामबहादुर नेपालीको उमेर १७ वर्ष थियो भने बिन्दाको १५ । उनीहरूले परिवारको सल्लाहमा मागी बिहे गरे ।
समय बित्दै गयो । छोराछोरीको जायजन्म हुँदा यस दम्पतीको मन हर्षले गदगद भएको थियो । ‘सन्तानले डाँडा–काँडा ढाकून्’ भन्नेआशिष चल्ने जमानामा घरभरि सन्तान थिए । तर, समय सधैँ एकनास कहाँ हुन्छ र ! कोपिलाजस्ता छोराछोरी धमाधम बित्नथालेपछि भने उनीहरूको जिन्दगीले कोल्टे फेर्यो । छोटो समयमै १० देखि १४ वर्षका ५ सन्तान बितेपछि उनीहरू सधैँका लागि आफ्नो थातथलो छाडेर ओखलढुंगाकै हालको मोलुङ गाउँपालिका–४ मा बसाइँ सरे ।
यलुङबाट आएका श्यामबहादुर यलुङखोले नामले चिनिन थाले । आज उनलाई साना–ठूला सबैले यही नामले चिन्छन् । त्यतिका सन्तान कसरी बिते त ? यलुङखोले भन्छन् ‘खोइ, कोही के भएर, कोही के भएर ! उबेला धामीकै भर हुने । अहिलेको जस्तो मिसन (ओखलढुंगा सामुदायिक अस्पताल) पनि थिएन । हेल्थपोस्टको कुरै नगरौँ ! कोही निमोनियाले भित्रभित्रै पाकेर बित्दा हुन्, कोही के भएर !’
दुःख छल्न बसाइँ सरे । तर, दुःखले साथ छाड्न मानेन, जसरी यलुङमा मिसिएर बग्ने मोलुङ तल–तल पुगेपछि सुनकोसीमा समाहित भएर अझ ठूलो बन्छ, यलुङखोलेको दुःख पनि झन्–झन् ठूलो हुँदै गयो । खाने मुख मात्र लिएर मोलुङ आएका उनीहरूसँग जायजेथा, जमिन केही थिएन । पाखुरीको भरमा जीवन धानेका यलुङखोले दुःख सम्झेर लामो सास फेर्छन्, ‘धेरै भोगियो । अब ७० पुग्न २ वर्ष बाँकी छ । अचेल डुबेर जाने घाम देख्दा पनि त्यो आफैँ हो जस्तो लाग्छ । सासको के भर छ र ? हिजोभन्दा आज मासी चल्न छाडे, हड्डी बज्न पनि कम हुँदै छ ।’
यलुङखोलेले उस्तो सुख नै के भोगे र ? तर, एउटा कुरामा भने उनलाई घमण्ड र खुसी लाग्छ रे ! मेलापात गरेकै भरमा थोरै पाखो खेतबारी जोड्न सकेको खुसी ! जमिनको आम्दानीले दुई महिना खान नपुगे पनि खेतबारी सम्झेर उनका आँखा चम्किन्छन् । आज पनि उनलाई हरेक गह्राहरू जोड्दाका किस्सा यादै छ । ‘नाम त नलिऊँ है,’ तीमध्ये एउटा कथा सम्झिँदै उनी भन्छन्, ‘जातले बाहुन, गाउँकै एक जना नेताको बारी मैले किन्नेभएँ । त्यसबेला तीन हजार पर्ने बारी किन्न पाखुराकै भरमा सक्ने कुरै थिएन । मेरा जहान, केटाकेटी भएर तीन वर्ष बाख्रा हेरिदिने र उनले जग्गा पास गरिदिने आश्वासनमा मैले त्यही जग्गामा घर बनाएँ । कान्छो छोरा स्कुल जाने उमेरमा तीन वर्ष बाख्रा गोठालो बस्यो । र, पनि जग्गा पास भएन । साँझ–बिहान खान र लाउनको हैरानी त छँदै थियो । तैपनि, आफ्नै आँखाअगाडि छोरो सधैँ गोठालो बसेको सहन नसकेपछि मैले तीन हजार ऋण गरेर पैसा दिएँ । तर, जग्गाधनीले जग्गा दिन मानेनन् । बरु, बनाएको घरसमेत भत्काउन पो लगाए !’
अहिले दोबाटो–दोबाटोमा मन्दिर बनेका छन् । गाउँपालिका र वडाले पनि मन्दिरमा मनलाग्दी लगानी गरेका छन् । यलुङखोले यी मन्दिर बनाउँदा ढुंगा, बालुवा र माटो बोक्छन् । अरु काम पनि गर्छन् । मन्दिर पूरा हुन्छ । देउता भन्दै निर्जिव पत्थरलाई भित्र राखिन्छ तर यलुङखोलेलाई बाहिर राखिन्छ । उनी त्यहि पत्थर बाहिरबाटै ढोग्छन् र हिँड्छन् । यहाँ मानिसहरू आत्मामा पनि ढुंगा राख्छन् र मन्दिरमा पनि ।
‘ठूलो जात’ र ठूलै पार्टीका नेता, गाउँका धनीमानी । उनको के जोर ? ठूला मानिसलाई गाउँमा पनि कसैले केही भन्ने कुरै भएन । यी मानिस उनले भेटेका सबैभन्दा खराब मानिस थिए । हुन त, धेरै असल मानिसहरूको सहयोग पाएको पनि अनुभव छ, उनीसँग । बास नहुँदा बस्ने ठाउँ दिने, कमाइ लाउन/गर्न जमिन दिने र भोक लाग्दा खान दिने सबै मानिसहरू उनले भेटेका असल मानिसहरू हुन् ।
यलुङखोले अहिलेसम्म कयौँ पटक भारी बोक्न खासा पुगेका छन् । त्यसबाहेक १४ वर्षको जेठो सन्तान बितेपछि उनी भारत गएका थिए । भारतका केही ठाउँमा ६ महिना डुलेर फर्केपछि उनी विदेश गएका छैनन् । आफ्नो खेतबारी धेरै नभए पनि उनको जीवन भने खेतीपातीसँग नै जोडिएको छ । यही माटोमा काम गरेर उनको परिवार बाँच्यो । तीन छोरी, दुई छोरा र बूढाबूढी गरेर सात जनाको परिवार । अहिले सबै नातिनातिनासमेत थपिएपछि अझै ठूलो भएको छ । तर, ‘बाह्र छोरा तेह्र नाति, बूढाको धोक्रो काँधैमाथि’ भनेजस्तो उनको दैनिकी उस्तै छ । जीवनमा धेरै खाले काम गरे पनि उनी मुख्य रूपमा कृषि श्रमजीवी नै हुन् । फेरि पनि देशका धेरै किसानजस्तै उनको पनि साँझ बिहान भने अनिश्चित नै छ ।
जग्गा र घर माथि माने–गाउँमा छ । हिजो–आज यलुङखोलेलाई भेटिने जरायटारबाट त्यो गाउँ पुग्न करिब आधा घण्टा लाग्छ । जरायटारमा १० मुरी माटो भएको खेत उनको परिवारले साझे कमाएको छ । मेलापात धाउने ठाउँ पनि यही हो । यलुङखोलेसँग धेरै जमिन छैन । तर, उनी नेपालको कृषि र ग्रामीण अर्थतन्त्रका विशिष्ट श्रमिक हुन् । हिउँदको समय गह्रा फुटाउने, घर बनाउने ठाउँमा ढुंगा फुटाउने, ढुंगा बोक्ने, माटो मुछ्ने, दाउरा चिर्ने र भारी बोक्ने उनलाई वर्षाको बेलामा पनि फुर्सद हुँदैन । हलो जोत्ने, खन्ने, कुनै समय नुन बोकेर दूरसम्म लाने, साहुहरूको पसले समान बोकेर जानेलगायतका गाउँले जीवनमा पर्ने सबै खाले काम उनको परिवारले गरेको छ ।
एकछिन सोचेर यलुङखोले भन्छन्, ‘करिबन–करिबन ५०/६० जनाको खेतका गह्राहरू फुटाएँ हुँला । ती ढुंगा र माटो बोक्दा–बोक्दा यो शरीर पनि ढुंगा र माटोजस्तै भएको छ । फरक यत्ति हो, मान्छेलाई भोक लाग्छ, ढुंगामाटोलाई लाग्दैन । ढुंगा–माटोसँग जुध्दा–जुध्दा मुटुमा रगत जमेको होला ।’ अहिले आधुनिक यन्त्रबाट गह्रा फुटाउने मिलाउने गरिने हुँदा उनीहरूले गह्रा फुटाउन छाडेको केही वर्ष बितिसकेको छ । हुन त, अब शरीरमा पनि उस्तो तागत छैन । बलको काममा हात बढाउने छोराहरू भिन्न भइसके, छोरीहरू ‘पराइ’ बनिसके । यद्यपि, माथि रमिते वा राम्चेबाट तल टारतिर हेर्दा टारको आकृति पक्कै फरक देखिएको छ ।
उनले ठेकेदारीमा हलो पनि जोते । वर्षभरि हलो जोतेबापत निश्चित रकम र अन्न पाइन्थ्यो । बालीघरे हली बन्दा सजिलो भएन । त्यसैले धेरै वर्ष गरेनन् । अहिले उनी कसैको हली त छैनन् । तर, पहिले नै अन्न र पैसा लिएर गुजारा गर्ने हुँदा हालत भने बालीघरेजस्तै छ । कमाइ र खर्चबारे सोध्दा उनी भन्छन्, ‘खानमै सकिन्छ । काम नचले पनि खान–लाउन परिहाल्छ अनि काम सुरु हुनुअघि ल्याएको तिर्दै सकिन्छ । फेरि नयाँ लियो, फेरि तिर्यो ।’ थप्छन्, ‘हिउँदमा काम नहुँदा कुनै धनी बाहुन वा कतैबाट अन्न वा पैसा लाने अनि असार, मंसिर वा कुनै काम परेको बेला तिर्ने ।’
यसरी वर्ष दिन यसै जाँदा बाँकी कमाइ नै हुँदैन रे ! धेरैतिरको अन्न, पैसा लिएको हुँदा सबैले मेला पनि बोलाउँछन् । धेरैतिर मेला बोल्दा दिन नै भुलिन्छ अनि जान सकिँदैन र मानिसहरू रिसाउँछन् । हुन त उनको नियत मानिसलाई झुक्याउने होइन ।
असार, साउन र मंसिरमा खेतबारीको कामले उनी र उनको परिवारलाई भ्याई–नभ्याई हुन्छ । यलुङखोले हाँस्दै भन्छन्, ‘असारमा हाम्रो भन्दा गोरुको जिन्दगी सजिलो हुन्छ, औँसी–पुर्नेमा जोत्नुपर्दैन । मानिसको न औँसी, न त पुर्ने सधैँको चटारो ।’ रोपाइँ सुरु भएपछि फुर्सदै हुँदैन । बेँसीको धान रोपाइँ सकिएसँगै माथितिर कोदो रोपाइँ हुन्छ । त्यसपछि बीचमा गोड्नेबाहेक मंसिरसम्म खेतबारीको खासै काम पर्दैन । तर, यो बेला यलुङखोलेको घाँस बोक्ने काम सुरु हुन्छ । बर्सेनि उनले कसै न कसैको घाँस बोक्ने गर्दै आएका छन् । कुनै वर्ष दैनिक प्रतिघर एक भारी घाँसको हिसाबले ७ भारी काट्ने उनी अहिले दुई घरको मात्र काट्छन् । उनी प्रतिभारी २५ रूपैयाँ पाउथे । यसैलाई अन्न लिँदा प्रतिभारी चार माना पाउँथे । आज घाँसको प्रतिभारी २०० रूपैयाँ पुगेको छ । घाँस बोक्दाको अर्को फाइदा पनि छ । उनका अनुसार एक भारी घाँस लाँदा एक छाक खाना पनि दिने चलन हुन्छ । खाना नखाए प्रतिछाक एक माना अन्न दिने चलन छ । धेरै घाँस बोकेको वर्ष उनले छाकबापत ६ मुरी १५ पाथी अन्न लिएका थिए । तर, खानमै समस्या हुने स्थिति भयो ।
यलुङखोले भन्छन्, ‘साझे कमायो, निमेक गर्यो, भारी बोक्यो, खाना कसैगरी पुग्दैन । वर्षभरि काम गर्यो, वर्षभरि खानाकै चिन्ता !’
जीवनभर खुन–पसिना सुकाएर काम गर्दा पनि यलुङखोलेहरू आजसम्म भोकै बाँच्न बाध्य छन् । सधैँ सबैलाई नमस्कार र सम्मान गरेर पनि उनीहरू अपमानित जीवन बाँच्दै छन् ।
आफैँले थाप्लामा डाम, ढाडमा घाउ र हातमा ठेला उठाएर ल्याएको घाँसबाट आएको गोरस आफैँलाई नचल्दा छाती भक्कानिएर आउँछ । घाँस बोकेर आँत सुकेको हुन्छ, हलो उचाल्दा–उचाल्दा छाती खरो भएको हुन्छ, चड्कने घामले तालु फुट्लाझैँ हुन्छ । दूध, दही त परको कुरा– मोहीको पानीसम्म चल्दैन ।
यलुङखोलेलाई काम लगाउँछन्, काम लगाएबापत उनले ज्याला पनि पाउँछन्, मानिसहरू यति गरेपछि आफूले न्याय गरेको मान्छन् । उनी पनि कसैसँग केही गुनासो गर्दैनन् । उनले काटेको घाँस खाएर हुर्किएका गाईभैँसीले दिएको दूधले कतिको ढुङ्ग्रो भरियो, कतिको ठेकी पुराना भए । त्यही दूध, दही, मोही खाएर ‘उच्च जात’ का सन्तानहरू हुर्किए । बरु कति दूध खाइदिने मानिस नपाएर फाटेर गयो, दही मोही कुहिएर गयो । तर, आफैँले थाप्लामा डाम, ढाडमा घाउ र हातमा ठेला उठाएर ल्याएको घाँसबाट आएर गोरस आफैँलाई नचल्दा भने उनको छाती भक्कानिएर आउँछ । घाँस बोकेर आँत सुकेको हुन्छ, हलो उचाल्दा–उचाल्दा छाती खरो भएको हुन्छ, चड्कने घामले तालु फुट्लाझैँ हुन्छ, भारी बोकेर ज्यानै खरो हुन्छ । दूध, दही त परको कुरा– मोहीको पानीसम्म चल्दैन । खोलेको भाँडामा टिलपिल मोही हुन्छ । तर, उनी र उनीजस्तै दलितलाई फुको चिउरा, सातु दिँदा मानिस भएकैमा पनि उनलाई धिक्कार लाग्छ ।
सधैँ यस्तै विभेदमा बाँचेका यलुङखोलेलाई साँच्चै दलितलाई दूध, दही दिँदा क्षत्री बाहुनको गाईवस्तु मासिन्छ कि भन्नेलाग्थ्यो रे ! तर, अहिले केहीले दिन थालेपछि उनले बुझे, यो उनीहरूमाथि गरिएको विभेद रहेछ । अहिले उनलाई लाग्छ– यहाँका भेदभाव गर्ने सबै ‘पापी’ नै हुन् । यो सत्ता पनि ‘पापी’ हो । उनी भन्छन्, ‘सबैभन्दा पापी यी नेताहरू हुन् ।’
चुनावताका जाँड–रक्सी खुवाउने, होहल्ला र बाचा गर्ने तर चुनावपछि सिन्को नभाँच्ने नेताहरूको कारण आफ्नो दुःख सधैँ उस्तै रहेको ठहर छ, उनको । उनी भन्छन्, ‘नेताहरूको के छ र ! सबैले झुट बोल्ने भएपछि लाज पनि नहुँदो र’छ । नागाहरूको राज्यमा नाङ्गै हिँड्न लाज नभएजस्तो । लाज त हामी गरिबहरूलाई हुन्छ । एक दिन कसैको हलो जोत्नआउँछु भनेर गएन भने अर्को पटक भेट्दा के भन्नी हुन्छ !’
गत चुनावमा ‘छवाछुत मान्दैनौँ’ भन्ने उनकै गाउँका नेताले पनि अहिले उनलाई घरबाहिरै बसाएर खाना खुवाउँछन् रे ! थापेरै खानु पर्छ रे ! अरुले खाएको भाँडा छाडेर हिँड्दा उनले माझेरै छाड्नुपर्छ रे ! उहिल्यै (जनयुद्धका बेला) झन्डै–झन्डै विभेद सकिएको थियो । हुन त उनी पुरानो पार्टीमा उहिल्यैबाट थिए रे ! भोट भने सबै पार्टीलाई दिएको भन्ने उनी कुनै दल र नेताबीच फरक भने नपाएको बताउँछन् ।
यलुङखोले अहिले अधिकांश समय कमाएको खेतमा निर्मित चित्राको गोठमा बस्छन् । ०७२ सालको भूकम्पले उनको घर पनि बाँकी राखेन । बेँसीमा अरुकै जग्गामा बनाएको खुला गोठमा बसे पनि राखनधरन त्यही गाउँको भत्किएको घरमा थियो । उनको घर मान्छे बस्न जोखिम छँदै थियो । तर, अब सामान राख्न पनि असुरक्षित भयो । अघिल्लो हिउँदबाट उनको घरमा समानहरू हराउन थालेको बताउने उनी भन्छन्, ‘सधैँ खानकै लागि अरुको निमेक गर्नेको घरमा के पो हुन्थ्यो र ! अरु त्यही ढुंगा–माटो गरेर जोडेको कासको थाल र अरु भाँडाकुँडा चोरले चोरो ।’
छिट्टै एउटा घर बनाएर थान्कोमुन्को गरेर ताला ठोक्न पाए आनन्द हुन्थ्यो भन्ने लागेको छ, उनलाई । उनको घर पुनर्निर्माणमा परेको छ । छिट्टै घर नबनाए सरकारले दिने अनुदान नपाउने हुँदा उनको चिन्ता झनै बढ्दो छ । यसका लागि गाउँकै एक जना मिस्त्रीलाई ठेक्का दिएको घर बनाउने काम भने डीपीसी गरेर रोकिएको छ । गाउँमा धेरैले घर बनाइसकेका छन् ।
गाउँ–गाउँसम्म पुगेका वित्तीय संस्था र तिनले दिएको सकसबाट यलुङखोले पनि बचेका छैनन् । आफ्नै पालिकामा पुगेको एउटा वित्तीय संस्थाबाट एक पटक तीन लाख ऋण लिएका उनले जसोतसो फेरि अन्त कतै ऋण नै काडेर तिरेछन् । अहिले त्यही संस्थाबाट एक लाख ऋण लिएका उनले पछिल्लो लकडाउनबाट किस्ता तिर्न सकेका छैनन् । लामो समय किस्ता तिर्न नसकेकाले बैंकबाट फोन आउँछ र फोेनसँगै कालोसूचीमा राखिदिने धम्की पनि आउँछ ।
कालोेसूचीमा राखेपछि दलित भत्ता र घर बनाउन अनुदान पाइँदैन पीरले अचेल यलुङखोले निदाउन सक्दैनन् । मंसिरमा काम चलेपछि किस्ता तिर्न सकिएला कि भन्ने आशमा छन्, उनी । जिन्दगीको मध्यान्हमा खुसी खोज्दै हिँडेका उनलाई अहिले लाग्छ, गरिबलाई जहाँ गए पनि खानकै दुःख, लाउनकै दुःख ! आफ्नो माटो गतिलो तर धेरै नभएपछि उब्जेको अन्नले खान पुग्दैन । खान नपुगेपछि जति कमाए पनि पुग्दैन । परिवारको परिबन्दले ऋण लिएका उनलाई अहिले त्यही ऋणले भोक र निद्रा खोसेको छ ।
जातले दलित भएकोमा उनलाई पछुतो छैन । तर, मानिसहरूले हेप्दा भने दुःख लाग्छ नै । जीवनमा ६८ वर्ष दलित र गरिब हुनुको अपमानसहित बाँचेका उनलाई मानिस–मानिस एउटै हुन् भन्ने लाग्छ । उनी भन्छन्, ‘अब यहाँका खतिवडा, वाग्ले, दाहाल, कोइराला, मगर, तामाङ, कामी सबै आफ्नै दाजुभाइजस्ता हुन् । मरेर जाने चोला केलाई झगडा गर्नु ?’ आफूले अन्याय सहे पनि आउने पुस्ताले त्यो पीडा सहनु नपरोस् लाग्नेउनलाई विरोध गर्न नसक्नुमा ‘पापी’ पेटलाई दोष दिन्छन् । देशको संविधान र कानुनमा के छ ? उनलाई थाहा छैन । तर, समाजमा अन्याय बेहोर्नु परेको यलुङखोलेलाई जत्तिको राम्रो गरी शायदै अरुलाई थाहा छ ।
जीवनमा ६८ वर्ष दलित र गरिब हुनुको अपमानसहित बाँचेका उनलाई मानिस–मानिस एउटै हुन् भन्नेलाग्छ । देशको संविधान र कानुनमा के छ ? उनलाई थाहा छैन । तर, समाजमा अन्याय बेहोर्नु परेको यलुङखोलेलाई जत्तिको राम्रो गरी शायदै अरुलाई थाहा छ ।
अहिले दोबाटो–दोबाटोमा मन्दिर बनेका छन् । गाउँपालिका र वडाले पनि मन्दिरमा मनलाग्दी लगानी गरेका छन् । यलुङखोले यी मन्दिर बनाउँदा ढुंगा, बालुवा र माटो बोक्छन् । अरु काम पनि गर्छन् । मन्दिर पूरा हुन्छ । देउता भन्दै निर्जिव पत्थरलाई भित्र राखिन्छ तर यलुङखोलेलाई बाहिर राखिन्छ । उनी त्यहि पत्थर बाहिरबाटै ढोग्छन् र हिँड्छन्।
यलुङखोलेलाई यो पनि थाहा छ, देउता कसैको बाउको पेवा होइन । उनी भन्छन्, ‘दक्षिणकाली, पशुपतिमा हामीलाई जान केही लाग्दैन, कसैले केही भन्दैन पनि । तर, यहाँ पस्न सकिँदैन ।’ देउता त आत्मामा पो हुन्छ, मन्दिरमा त ढुंगा राखिन्छ । यहाँ मानिसहरू आत्मामा पनि ढुंगा राख्छन् र मन्दिरमा पनि ।
जीवनभर खुन–पसिना सुकाएर काम गर्दा पनि यलुङखोलेहरू आजसम्म भोकै बाँच्न बाध्य छन् । सधैँ सबैलाई नमस्कार र सम्मान गरेर पनि उनीहरू अपमानित जीवन बाँच्दै छन् ।
हुन त, यलुङखोलेहरूले बाँचेको जिन्दगी यस राज्यका लागि कुनै सरोकारको विषय नै होइन, न त यो स्थानीय राजनीतिकै चासोको विषय हो । घोषणापत्रहरूसमेत उनीहरू पढ्न जान्दैनन्, बोक्छन् मात्र । भाषणहरू बुझ्दैनन्, ताली बजाउँछन् मात्र । उनीहरूको मनैबाट अरु आशक्ति हुँदैन । बस्, उचाली दिन्छन् मात्र । व्यवस्था फेरिरह्यो, यलुङखोलेहरूले लाउने नारा बदलिरहे, उनीहरूले पिठ्युँमा बोकिदिने घोषणापत्रहरू फेरिइरहे, हातले उचाल्ने झन्डाहरू अर्कै–अर्कै भए । उनीहरूलाई भर्याङ बनाएर सत्तामा पुगेकाहरूको जिन्दगी फेरियो ।
तर, यलुङखोलेहरूको बिहान खाना खाएपछि साँझ के खाने र साँझ खाएपछि बिहान के खाने भन्ने प्रश्न भने सधैँ उस्तै नै छ । ढोकाबाहिर कुरेर हात थापेर खाने दिन उस्तै छ । आफ्नो सम्पूर्ण रगत, पसिना र जीवन दिएर श्रम गरेबापत ज्याला मात्र लिएर चुल्हो जलाउने दैनिकी उस्तै छ । सदियौँदेखिको दलन उस्तै नै छ । जिन्दगीसमेत उस्तै छ ।
यी तथ्यहरूबाट यस्तो निष्कर्षमा पुग्नुपर्ने हुन्छ- यलुङखोलेको दैनिकी नफेरिनु राज्यको गति, मति र लय नफेरिनु हो । नेतृत्व नालायक हुनु हो । व्यवस्था असफल हुनु हो । विचारले काम नगर्नु हो ।