विरासत

बीपीको त्यो बयान

२०१७ सालको सैनिक ‘कु’पछि राजा महेन्द्रले तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हाले ।जेलबाट छुटेपछि भारत निर्वासनमा रहेरै राजनीतिक संघर्ष चलाइरहेका कोइराला २०३३ सालमा सबैलाई चकित पार्दै स्वदेश फर्किएका थिए । मेलमिलापकाे नीति लिएर स्वदेश फर्केका उनी पुनः पक्राउ परे । सुन्दरीजलको बन्दीगृहमा बन्दी बनाइएका कोइरालालाई यसपटक सात-सातवटा गम्भीर प्रकृतिका अभियोग लगाइएको थियो । प्रत्येक अभियोगमा बीपीसँग लिइएका बयानहरूलाई अदालती बयान नं. १ देखि ७ सम्म यहाँ प्रस्तुत गरिएको छ । पुस्तककार कृतिमा समेत प्रकाशित भइसकेको यो ऐतिहासिक पाठलाई हिजो र आजको पुस्ताले उत्तिकै महत्त्वका  साथ अध्ययन र बहस गर्न आवश्यक छ । यहाँ प्रकाशित पाठ भने हामीलाई नेता तथा अध्येता प्रदीप गिरिको सौजन्यबाट प्राप्त भएको हो ।

अदालती बयानः १

जनक्रान्ति त सामाजिक क्रान्तिमा पुग्‍ने बाटो मात्र हो ।

जनकपुर अञ्‍चल, सर्लाही जिल्लाको मलंगवा हाईस्कुल दक्षिण धानको खेतमा प्रहरी एवं गङ्गाबहादुरको नेतृत्वमा रहेका व्यक्तिहरूका बीच गोली हानाहान भई मानिससमेत मरेको घटनाका सम्बन्धमा विशेष अदालत, मुकाम सिंहदरबारका अतिरिक्त न्यायाधीश जनकमान श्रेष्ठको इजलासमा अभियुक्त विश्वेश्वरप्रसाद कोइरालाले गरेको बयानः

जवाफ नं. १ः

मेरो नाम विश्वेश्वरप्रसाद कोइराला, पिताको नाम स्व. श्री कृष्णप्रसाद कोइराला, जात ब्राह्मण, उमेर ६३ को भएँ, पेसाले राजनीतिक तथा सामाजिक काम गर्छु, घर मोरङ जिल्ला विराटनगरमा छ ।

जवाफ नं. २ः

वादी श्री ५ को सरकारविरुद्ध मसमेत भएको राजकाजसम्बन्धी अव्यवस्था उत्पन्‍न गरेको मुद्दामा यस अदालतबाट वारेण्टद्वारा पक्राउ गरी मिति ०३४/१/१४ का दिन उपस्थित गराउँदा सो दिन कानुन व्यवसायीको सल्लाहको निम्ति समय मागी बयान गर्न आज उपस्थित भएको हुँ ।

जवाफ नं. ३ः

मिति ०३०/९/१८/४ को प्रहरी प्रतिवेदनमा मिति ०३०/८/३० को रातमा सर्लाही जिल्लाको मलंगवा हाइस्कुलदेखि दक्षिणतर्फ अन्दाजी ३०० गज पूर्वको धानखेतमा गङ्गाबहादुरको नेतृत्वमा वीरेन्द्र, अशोककुमार समेत बैंक र भन्सार कार्यालय लुट्ने उद्देश्यले गएको बखत प्रहरी र ती व्यक्तिका बीच गोली हानाहान भई मानिससमेत मरेको घटनाका सम्बन्धमा तपाईंमाथि दाबी भएको प्रहरी प्रतिवेदन देखाई पढी–वाची सुनाई सोधनी भएको हकमा, मैले साधारणतया जनक्रान्तिको आह्वान गरेको हुँ । मेरो क्रान्तिको प्रेरणा र आह्वानबाट त्यो सम्पादित भएको हुन सक्छ । त्यसो हुनाले यस घटनाका सम्बन्धमा मलाई केही ज्ञान नभए पनि म नैतिक रूपबाट जवाफदेही छु । तर, यो घटना मैले गराएको होइन । त्यसो भएकोले प्रहरी प्रतिवेदनमा उल्लेख भएको आरोप ममाथि लाग्‍नुपर्ने होइन ।’

जवाफ नं. ४ः

तपाईंले जनक्रान्ति आह्वान गरेको भन्‍‍नु भएकोमा के–कस्तो किसिमको जनक्रान्ति कहिले आह्वान गर्नु भएको हो अर्थात् हिंसात्मक जनक्रान्ति भनेको के हो भनी सोधनी भएको हकमा, आज बयान गर्न समयले नभ्याउँदा बयान कार्य यहाँ स्थगित गरिएको ठीक हो भनी सही गर्नेः

निज विश्वेश्वरप्रसाद कोइराला ... .... ... ... ... ... ...१

इति सम्वत् २०३४ बैशाख १७ गते रोज ६ शुभम् ।

जवाफ नं. ५ः

कानुन व्यवसायी पाउनुको साथै बयान गर्न स्वच्छन्द वातावरण पाएको छु । ०३४/१/१७ का दिन हिंसात्मक वा अहिंसात्मक के–कस्तो जनक्रान्ति आह्वान गरिएको हो भनी सोधनी भएको जवाफमा स्वयं श्री ५ महाराजाधिराजबाट शाही घोषणाद्वारा बक्सेको संविधान र मौसुफको मर्यादित वचनको आधारमा जनताबाट निर्वाचित भएको म नेपालको अहिलेसम्मकै एक मात्र प्रधानमन्त्री थिएँ । आज किन यस अदालतमा अभियुक्तको रूपमा उपस्थित गराइएको हुँ ? मेरो स्थितिमा यत्रो प्रचण्ड परिवर्तन के कारणले भयो ? के त्यो परिवर्तन मद्वारा नै सम्पादित भएको हो ? अथवा, राजकीय व्यवस्थामा नै त्यस्तो परिवर्तन आएकोले यसो हुन गएको हो ? यो मौलिक तथ्यलाई बुझेपछि मात्र ममाथि लगाइएका आरोपहरूको समुचित पृष्ठभूमिको जाँच हुन सक्छ ।

म एउटा ऐतिहासिक सन्दर्भको सानो चर्चा गर्दै यस अदालतको ध्यान २००७ सालको क्रान्तितर्फ लैजान चाहन्छु, जुन क्रान्तिद्वारा राजालाई राजगद्दी तथा जनतालाई मौलिक अधिकार र श्री ५ महाराजाधिराजको शाही घोषणाद्वारा प्रजातान्त्रिक राजकीय व्यवस्थाको वाचा (कबुलियत) एकै चोटि प्राप्त भएको थियो । नेपाल राष्ट्रका लागि यो सानो उपलब्धि थिएन । राजा र प्रजाको सम्मिलित उद्योग र प्रयासको परिणामस्वरूप नेपालमा नयाँ युगको उदय भएको हो ।

यस्तो सहयोगात्मक साझा उद्योग र प्रयास नेपालको इतिहासमा पहिले कहिल्यै पनि भएको थियो जस्तो मलाई लाग्दैन । साँच्चै भन्‍ने हो भने त्यो साझा उद्योगले नेपाललाई केवल एउटा भौगोलिक धारणा वा राज्यबाट उचालेर एउटा राष्ट्रमा अवतरित गरायो । यसरी राष्ट्रनिर्माणको प्रथम चरणमा देश सबैको साझा हो भन्‍ने पवित्र भावनाको प्रभातीय किरण नेपाली जातिको मानसमा उदय भयो । त्यसै दिनदेखि राष्ट्रियताको सबैभन्दा पहिलो र बलियो आधार ‘देश सबैको साझा हो’ भन्‍ने सिद्धान्त मर्यादित र स्थापित भयो ।

यदि देश सबैको साझा हो भन्‍ने सिद्धान्त शाब्दिक प्रबन्ध र ओठेभक्ति मात्र होइन भने त्यस्तो साझा सम्पत्तिको स्वामित्व, खटन, नियन्त्रण र व्यवस्थाको अधिकार र दायित्व पनि साझा नै हुनुपर्छ । राजा र प्रजाको सहयोगले भएको २००७ सालको क्रान्ति र त्यसपछि फागुन ७ गतेको ऐतिहासिक शाही घोषणाले ‘देश कसैको व्यक्तिगत सम्पत्ति होइन, राजालगायत सारा जनताको साझा सम्पत्ति हो’ भन्‍ने राष्ट्रियता र प्रजातन्त्रको यही सर्वमान्य सिद्धान्तलाई कुनै मन्दिरमा प्राणप्रतिष्ठा गरेर देवमूर्ति स्थापित गरेको जस्तै प्रतिष्ठापित गर्‍यो । यहाँ देशलाई नै मन्दिरको रूपमा सम्झिए हुन्छ र त्यसमा स्थापित देवमूर्ति त्यही देश साझा हो भन्‍ने सिद्धान्त हो ।

यत्रो ठूलो यज्ञ, यत्रो ठूलो पुनीत स्थापनालाई कुनै अवस्थामा पनि दूषित हुन दिनु हुँदैन । राष्ट्रियता र प्रजातन्त्रको महिमाले मण्डित त्यही पुनीत भावनाले प्रेरित भएर नै म २००७ सालको क्रान्तिमा लागेको हुँ, देशप्रति ममता भएर होमिएको हुँ, देशलाई राष्ट्र बनाउने यज्ञमा मैले आफूलाई अर्पित गरेको हुँ । मेरो राजनीतिक जीवनको केन्द्रीय प्रेरणा त्यही भावना हो । सफल–असफल, व्यावहारिक दृष्टिले बुद्धि पुगेका वा नपुगेका तमाम मेरा कार्यवाहीलाई सबै कार्यहरूलाई यही भावनाको बलियो धागोले बाँधेर एउटा प्रस्ट रूप दिएको छ । मेरो जीवन खुला पुस्तक हो ।

त्यसपछि, नेपालको इतिहासमा शाही घोषणाद्वारा राजाप्रदत्त संविधानको आधारमा बालिग मताधिकारद्वारा २०१५ सालको आमचुनाव भएको एउटा अर्को अत्यन्त महत्त्वपूर्ण घटना हुन्छ । त्यस चुनावको परिणामस्वरूप म प्रधानमन्त्री भएँ । मेरो प्रधानमन्त्रीत्वका तीनवटा आधार थिए । एक, संविधान (राजाप्रदत्त), दोस्रो, आमचुनाव, त्यसबाट जनताको प्रस्ट इच्छा परिलक्षित भएको थियो र तेस्रो, स्वयं राजाले संविधानको मर्यादामा रहेर प्रजातान्त्रिक भावनाको कदर गर्दै मलाई प्रधानमन्त्रीका लागि आह्वान गरिबक्सेको थियो । म यसरी जनता, संविधान र राजाको आधारमा प्रधानमन्त्री भएको थिएँ ।

नेपालको इतिहासमा आजसम्म केवल म एकजना मात्र त्यस्तो प्रधानमन्त्री भएको हुँ । २०१७ सालमा राष्ट्र, प्रजातन्त्र र साझाको सिद्धान्तमाथि एउटा अनुचित प्रहार भयो । म यहाँ गुण–दोषको लेखाजोखा गर्न चाहन्‍नँ किनभने मेरो दृष्टि भविष्यको पुनर्निर्माणको लक्ष्यपट्टि लागेको छ । गुण–दोषको लेखाजोखा गर्ने काम इतिहासकार वा पुनर्निर्माणको कार्यमा व्यावहारिक एवं सक्रिय भूमिका पूरा गर्न नसक्ने व्यक्तिहरूले गर्छन् र गर्नेछन् । यो कुनै व्यक्तिगत प्रश्‍न उठाइएर होइन । तर, त्रिगुण मर्यादाले मण्डित मेरो प्रधानमन्त्रित्वको निर्मम समाप्तिको न प्रजातन्त्रको दृष्टिले, न संविधानको दृष्टिले, न राष्ट्रियताको दृष्टिले कुनै पनि औचित्य थिएन ।

म यति त अवश्य भन्‍न चाहन्छु । मैले न राजाको सम्मान र अधिकारको, न संविधानको अक्षरको भावनाको, न राजनीतिक र प्रजातान्त्रिक मर्यादा र व्यवहारको ‘मनस वाचा कर्मणा’ ले पनि कहिल्यै अवज्ञा गरेँ । तर, म आठ वर्षसम्म बिनाअभियोग बन्दी बनाएर राखिएँ । मसँगै हजारौँ राजनीतिक व्यक्तिहरू, मेरा सहयोगी वा राजनीतिक विरोधीहरू पनि त्यस दिन समातिए । किन ? यो बडो महत्त्वपूर्ण प्रश्‍न छ, जसको उत्तर खोज्नुपर्छ । मलाई जुन दिन बिनाअभियोगको अभियुक्त बनाइयो, त्यस दिनदेखि नै भनौँ, म न्यायालयको अगाडि उभिएको छु ।

मेरो कुनै कारबाहीले मेरो स्थितिमा परिवर्तन आएको होइन, न त मेरो भावनामा कुनै परिवर्तन भएर नै यसो हुन लागेको हो । म त २००७ सालमा जस्तो थिएँ वा २०१७ सालमा जस्तो थिएँ, आज पनि त्यस्तै प्रजातन्त्रवादी, राष्ट्रवादी र साझावादी छु । परिवर्तन त बाहिर पो आयो । यस बाह्य परिवर्तनको सम्बन्धमा पनि म एउटा कुरा निवेदन गर्न चाहन्छु । २०१५ सालको राजाप्रदत्त संविधान २००७ सालको शाही घोषणाको पूर्तिमा लागू गरिएको थियो । 

‘हाम्रा प्रजाको शासन अबउप्रान्त निजहरूले निर्वाचित गरेको संविधान–सभाले तर्जुमा गरेका प्रजातान्त्रिक विधानअनुसार होस् भन्‍ने हाम्रो इच्छा र निर्णय भएकोले’ भन्‍ने २००७ सालको शाही घोषणामा निहित भावना, पूर्णता र आत्माका साथै संविधान तर्जुमा गर्ने प्रणालीको निर्देशनबाट अलग्गिएर श्री ५ महाराजाधिराजले २०१५ सालको संविधान जनतालाई बक्सेको भए पनि जनताले त्यसलाई शिरोधार्य गरे । त्यस दिन फेरि राजा र प्रजाको साझा प्रयास प्रारम्भ भएको थियो । म यस न्यायालयको अगाडि एउटा प्रश्‍न उठाउन चाहन्छु र यो प्रश्‍न न्यायको सिद्धान्तसम्बन्धी प्रश्‍न हो ।

समाजको कुपमण्डुकता, अन्धविश्वास, बौद्धिक दासता, रुढिवाद, सामन्ती मनोवृत्ति, दरिद्रता र त्यसबाट उत्पन्‍न हुने तमाम अवान्छनीय दुर्गुणहरूको अन्त्य हुनुपर्छ भन्‍ने विचारलाई समग्र परिवर्तनको परिप्रेक्ष्यमा क्रान्तिको संज्ञा पनि दिने चलन छ । त्यस्तो राजनीतिक क्रान्तिले समग्र सामाजिक क्रान्तिका लागि उपयुक्त पृष्ठभूमि तयार पार्छ । यस प्रकारको विचार र सिद्धान्तलाई मान्‍ने भएकोले पनि म आफूलाई क्रान्तिवादी भन्छु ।

के राजाले दिइबक्सेको कुरो एकोहोरो स्वेच्छाले (unilaterally) मौसुफबाट फर्काउन सकिबक्सिन्छ ? धार्मिक दृष्टिले हेर्‍यो भने पनि दानमा दिइसकेको वस्तुलाई दाताले एकोहोरो स्वेच्छाले पुनः हस्तगत गर्न सक्तैन । कानुनी दृष्टिले हेर्दा पनि दिइसकेको दान फर्काएर लिन पाइँदैन । संवैधानिक दृष्टिबाट त झन् यो सम्भव छैन, नत्र भने बेलायतकी महारानी एलिजावेथ द्वितीयले म्याग्‍नाकार्टालाई फिर्ता लिन सक्ने भइन् । व्यावहारिक दृष्टिबाट पनि दिएको कुरो खोस्‍ने अधिकारको सिद्धान्तलाई कुनै स्तरमा पनि स्वीकार गरेको खण्डमा घोर अनिश्‍चितता र अव्यवस्थाले गर्दा व्यवहार नै सर्वथा असम्भव भएर जान्छ ।

२०१७ साल पुस १ गतेको घटना अनुचित मात्र होइन, असंवैधानिक र गैरकानुनीसमेत थियो, न्याय सिद्धान्तको आधारमा म यस न्यायालयका समक्ष यो निवेदन गर्न चाहन्छु । यस सम्बन्धमा मानव अधिकारको बृहत् सन्दर्भमा मात्र होइन, न्याय कानुनको साँघुरो सन्दर्भमा पनि एउटा अर्को कुरो विचारणीय छ । २०१७ सालको काण्डमा हजारौं व्यक्ति थुनिए, धेरैसँग बडो निर्मम व्यवहार भयो । गैरकानुनी तरिकाबाट यसरी थुनिएका व्यक्तिहरूको आचरणलाई लिएर सरकारी तवरबाट बदनामीको ठूलो प्रचार भयो । कुनै ऐन–कानुन, व्यवस्थागत नियम, संवैधानिक निर्देशन र सरकारी आदेशहरूको उल्लङ्घन नगर्दा–नगर्दै पनि र ऐन–कानुनको मर्यादामा रहँदा–रहँदै पनि मजस्तो नागरिकले आठ–आठ वर्षसम्म जेलमा बस्‍नुपर्‍यो ।

यदि केवल तर्कको दृष्टिले त्यस समयको प्रधानमन्त्रीले कुनै असंवैधानिक वा गैरकानुनी काम गरेको थियो भन्‍ने माने पनि र भने पनि दण्डको भागी त त्यो प्रधानमन्त्री पो हुन्थ्यो वा जो–जो त्यसका मतियार थिए ती–ती पो हुन्थे ! तर, त्यस दिन त कसैलाई पनि नछोडी यावत् राजनीतिक व्यक्तिहरूमाथि कारबाही भयो । मैले यी सबै कुराको बयान दोषारोपण गर्ने उद्देश्यले पटक्कै गरिरहेको छैन । तर, बडो व्यथित हृदयले उल्लेख गर्नुपर्छ कि त्यस दिन हजारौं निर्दोष नेपाली नागरिकहरू न केवल बन्दी बनाइए, तिनीहरूलाई आतङ्कको वातावरणमा कागजसमेत गराइयो । त्यसरी तिनीहरूलाई आत्माहीन तुल्याइयो ।

नेपालको इतिहासमा जनताको सम्मानलाई समाप्त पार्ने वा नागरिकहरूको तेजोवध गर्ने कार्य त्यत्रो ठूलो दायरामा पहिले कहिल्यै भएको थिएन । २०१७ सालमा अन्यायको बीजारोपण भएको थियो । सरकारी स्तरबाट भएको अन्यायले मानिसको मनमा न्याय, ऐन, कानुनप्रति उदासीनता र कतै–कतै विरोध र विद्रोहको भावना उठ्नु एकदम स्वाभाविक छ । यो सार्वभौमिक नियम हो, यसलाई हामी इतिहासको प्रत्येक पानामा दर्ता भएको पाउँछौँ । यस्तो हुनु मानिसको प्राकृतिक स्वभावको लक्षण हो । न्यायकर्ताबाट नै न्यायको अवहेलना भएपछि कसले न्यायको मर्यादा राख्छ ? गंगोत्रीको जल दूषित भएपछि त्यस जलको पवित्रता कहाँ रहन्छ ?

न्यायको उद्‍गम स्थलमा नै त्यो अमर्यादित भएपछि देशमा केवल पशुबल र स्थूल शक्तिको आधारमा जङ्गली नियमको बोलबाला हुन जान्छ । राज्यको सर्वोपरि मौलिक उद्देश्य न्यायको स्थापना गर्नु हो । न्यायको मर्यादा नभएको राज्यमा त्यस राज्यको आदर्श नै स्खलित भएर जान्छ । त्यसपछि आदर्शविहीन राज्यका संस्थाहरू र शासनका विभिन्‍न विभागहरू एकेक गरेर भ्रष्ट हुँदै जान्छन् । पल्टन राष्ट्रको सुरक्षा गर्ने आदर्शबाट च्युत भएर जनतामाथि आतङ्क थोपर्ने र राजनीतिक विरोधीहरूको विरुद्ध प्रयोग हुने एउटा यन्त्र हुन पुग्छ । र, पुलिस दमनको साधन हुन पुग्छ । निजामती सेवा भरौटेहरूको क्लब बन्‍न पुग्छ । यस स्थितिमा यदि कुनै इमानदार नागरिकले आफ्नो जिम्मेवारीलाई बुझेर केही गर्न खोज्यो भने त्यसले दोषको भागी हुनुपर्छ ?

राज्य जनताको साझा सम्पत्ति हो, त्यसो हुनाले त्यसको सार्वभौमिकता पनि जनतामा सम्मिलित रूपमा निहित हुन्छ । त्यसैले राज्यको शासन यन्त्र ‘सरकार’ जनताद्वारा स्थापित हुनुपर्दछ भन्‍ने प्रजातन्त्रका राज्य, सार्वभौमिकता र सरकारसम्बन्धी मान्यता हुन् । यस्तो प्रजातान्त्रिक मान्यताले जनतालाई रैतीको श्रेणीबाट उचालेर नागरिकको श्रेणीमा पुर्‍याउँछ ।

मैले क्रान्तिको नारा दिएको हुँ । विरोधको कुनै शान्तिपूर्ण वैधानिक उपाय नभएर क्रान्तिको सिद्धान्तलाई अपनाउनु परेको हो । यदि मौलिक अधिकार, नागरिक स्वतन्त्रता र कानुनी राज्यको व्यवस्था कायम रहन दिएको भए क्रान्तिको आवाज उठाउनुपर्ने खण्ड आउने थिएन । वैचारिक स्वतन्त्रताको वातावरणमा विचारहरू, सिद्धान्तहरू र कार्यक्रमहरूबीच जनसमर्थनका लागि प्रतिस्पर्धा हुने थियो र त्यस अवस्थामा प्रशासकीय आदर्शमा बलियो जनसमर्पित विचार प्रतिविम्बित हुने थियो । वैधानिक ढङ्गबाट समय–समयमा प्रस्ट अभिव्यक्त भएका जनइच्छाअनुसारको नीति र कार्यक्रमलाई प्रशासकीय यन्त्रद्वारा सम्पादित गर्दै देश उन्‍नतिको पथमा अग्रसर हुन्थ्यो । त्यस्तो स्वस्थ राजनीतिक वातावरणमा क्रान्तिको चर्चा कसले गर्ने थियो ?

म क्रान्तिवादी हुँ, आतङ्कवादी होइन । मेरो अर्थमा ‘क्रान्ति’ जनताको सक्रिय विरोधको त्यस्तो स्थिति हो, जसले जनताविरोधी सरकारमाथि त्यति असह्य दबाब पार्छ कि त्यस सरकारले जनताका जनतान्त्रिक अधिकारहरू दिन बाध्य हुनुपर्छ । प्रजातन्त्र ल्याउनका लागि जनक्रान्तिको आवश्यकता परेको हो । तर, मेरो उद्देश्य व्यवस्थाको समाप्ति हो, व्यवस्थावादीहरूको समाप्ति होइन । तसर्थ, म व्यक्तिगत हिंसामा विश्वास गर्दिनँ । क्रान्तिको लक्ष्य व्यवस्था हुन्छ, आतङ्कको लक्ष्य व्यक्ति हुन्छ । मैले व्यक्तिगत हिंसा र आतङ्कको विरोधमा वक्तव्यहरू दिँदै आएको छु ।

साथै, म नेपाली समाजका राजनीतिक, आर्थिक, सामाजिक, बौद्धिक, शैक्षिक र हरेक क्षेत्रहरूमा हरेक पक्षलाई वर्तमान युगअनुरूप बनाउन परिवर्तन चाहन्छु । समाजको कुपमण्डुकता, अन्धविश्वास, बौद्धिक दासता, रुढीवाद, सामन्ती मनोवृत्ति, दरिद्रता र त्यसबाट उत्पन्‍नहुने तमाम अवान्छनीय दुर्गुणहरूको अन्त्य हुनुपर्छ भन्‍ने विचारलाई समग्र परिवर्तनको परिप्रेक्ष्यमा क्रान्तिको संज्ञा पनि दिने चलन छ । त्यस्तो राजनीतिक क्रान्तिले समग्र सामाजिक क्रान्तिका लागि उपयुक्त पृष्ठभूमि तयार पार्छ । यस प्रकारको विचार र सिद्धान्तलाई मान्‍ने भएकोले पनि म आफूलाई क्रान्तिवादी भन्छु ।

सायद मेरो यो सिद्धान्त र आदर्शलाई बुझेर नै होला सरकारले पनि मेरा विरुद्ध जनक्रान्तिद्वारा प्रजातान्त्रिक समाजवाद कायम गर्न खोज्‍ने भनी अभियोग लगाएको छ । जनक्रान्ति त पुग्‍ने बाटो मात्र हो, लक्ष्य प्राप्तिको साधन मात्र हो । त्यो पनि विशेष परिस्थितिको बाध्यताले लिनुपर्ने बाटो मात्र हो । साँच्चै भन्‍ने हो भने म एउटा नरम विचार भएको, वैधानिकतामा विश्वास गर्ने राजनीतिक प्राणी हुँ । कार्यगत कारणले, परिस्थितिको बाध्यताले र आफ्नो आदर्शलाई त्याग्‍न नसकेर मेरो त्यस्तो नरम स्वभाव र आस्था भएर पनि मैले २००७ सालमा क्रान्तिको बाटो अँगाल्नु परेको थियो ।

२००७ सालको क्रान्तिको अनिवार्यतालाई अहिलेको शासनका पृष्ठपोषकहरूले पनि स्वीकार गर्लान् । यदि २००७ सालको क्रान्तिमा मेरो योगदानमा निहित आदर्शलाई इमानदारीपूर्वक स्वीकार गर्ने हो भने आजको यो क्रान्तिलाई बुझ्‍न कसैलाई पनि गाह्रो पर्नेछैन । मैले यहाँ आफूमाथि अन्याय भएको चर्चा गर्दा आफ्नोे राजनीतिक मान्यताको चर्चाका साथ तत्सम्बन्धी बितेका कुराको उल्लेख गरेको हुँ । हामी सङ्कटको कालबाट गुज्रिरहेका हुँदा मलाई अभियुक्तको रूपमा अदालतको सम्मुख उपस्थित नगराइएको भए, म यसको चर्चा नै गर्ने थिइनँ ।

यो राष्ट्रिय सङ्कट हो । यो सङ्क्रमणकालीन वा विकासको शैशवकालीन सङ्कट मात्र होइन, यो हाम्रो अस्तित्वको नै सङ्कट हो । यस स्थितिमा हामीले बाँच्‍ने आधार राष्ट्रिय एकता मात्र छ । त्यस्तो हुनाले यस बेला बितेका कुरालाई कोट्याएर वाद–विवाद, पक्ष–प्रतिपक्ष र मनोमालिन्यको स्थितिलाई कसैले पनि उत्पन्‍न गराउन हुँदैन, राष्ट्रिय एकताका लागि सबैले प्रयत्‍नशील हुनुपर्दछ । इतिहासका सम्मुख, जनताका सम्मुख, आफ्नोे आदर्शका सम्मुख, यो न्यायालयका सम्मुख, म आफूलाई पूर्ण निर्दोष भएको अनुभव गर्दछु ।

जवाफ नं. ५ः

अभियुक्त धीरेन्द्रकुमार श्रेष्ठ र अशोककुमार उपाध्यायसमेत दुई जनाले २०३० साल जेठ महिनामा वासुदेवको पत्र लिई तपाईंं विश्वेश्वरप्रसादलाई बनारसमा भेट्न जाँदा ‘जनक्रान्ति गर्नुपर्छ, बन्दुक चलाउन जान्‍‍नुहुन्छ ?’ भनी सोध्नुभएको थियो र पछि बाटो खर्च भनी तपाईंंले भा.रू. ६०।– दिई पठाउनु भएको थियो भन्‍ने आदि व्यहोरा भएको २०३०/९/२ मा प्रहरीमा र २०३०/९/२० मा जनकपुर अञ्‍चलाधीश कार्यालयमा बयान दिएका छन्, त्यो के–कसो हो भनी सोधनी हुनुको साथै निजहरू दुवैका बयानहरू सुनाउँदा सुनी पाएँ ।

यो सोधनी भएको विषयमा मसँग अनेक विद्यार्थीहरू दिनहुँ भेट्न आइरहन्थे, तसर्थ मलाई धीरेन्द्र र अशोकको बारेमा केही सम्झना छैन । म आफूलाई भेट्न आएका सबै जनासित यस व्यवस्थाको विरुद्ध अर्थात् पञ्‍चायती व्यवस्थाको विरुद्ध कुरा गर्थेँ । त्यसो भएकाले उनीहरूले भनेका कुराहरू साँचो पनि हुन सक्छन् । तर, मेरो साथमा पिस्तोलधारी बडीगार्ड कहिल्यै पनि थिएन । अहिले प्रश्‍न भएको सम्बन्धमा मैले त्यसो भनेको हुन सक्छ र निजहरूको भनाइमा सत्यता पनि हुन सक्छ ।

जवाफ नं. ६ः

जवाफ नं. ५ मा अभियुक्त धीरेन्द्र र अशोककुमारलाई बन्दुक चलाउन जान्दछौँ ? भनी ‘मैले भनेको साँचो हुन सक्छ’ भनी जवाफ दिनुभयो । यसरी बन्दुक चलाउन जान्दछौँ भनी सोध्नुको अर्थ के हो र बन्दुक पनि दिनु भएको थियो कि भनी सोधनी भएको हकमा धेरै विद्यार्थीहरू क्रान्तिका लागि मसँग हात–हतियारको माग गर्थे । म तिनीहरूलाई माथि जवाफ नं. ४ मा जनक्रान्तिको व्याख्या गरेजस्तै व्याख्या गरेर बन्दुक चलाउन नजानीकन बन्दुकको माग गर्नुहुँदैन भनेर पठाइदिन्थेँ । हुन सक्छ, मैले त्यही कुरा यिनीहरूसँग पनि भनेको हुँला । त्यो भन्‍‍नुबाहेक ती दुईजना धीरेन्द्र र अशोककुमारलाई मैले बन्दुक दिएको छैन ।

जवाफ नं. ७ः

तपाईंंले सशस्त्र क्रान्तिको पनि आह्वान गर्नुभएको थियो कि भनी सोधनी भएको हकमा मैले माथि नै क्रान्तिको अनिवार्यताको चर्चा गर्दा ‘विशेष परिस्थितिमा प्रजातन्त्र स्थापनाको लागि २००७ सालमा गरेजस्तै सशस्त्र क्रान्ति वा विद्रोह जनताको नैसर्गिक अधिकार हो’ भनिसकेको छु । यो एक प्रकारले आत्मरक्षाको हकजस्तै हो । सशस्त्र क्रान्तिको आह्वान पछि मौकामा गर्नेछु र अहिले बेला आएको छैन भनी मैले अभियुक्त धीरेन्द्र र अशोककुमारलाई भनेअनुसार त्यसबेलासम्म मैले सशस्त्र क्रान्तिको आह्वान गरेको थिइनँ ।

जवाफ नं. ८ः

तपाईंंले धीरेन्द्र र अशोककुमारलाई भा.रू. ६० ।– बाटो खर्च दिनुभएको थियो भनी सोधनी भएको हकमा मलाई याद छैन ।

जवाफ नं. ९ः

धीरेन्द्र र अशोककुमार कुन राजनीतिक संस्थाका व्यक्तिहरू हुन् र तपाईं स्वयं कुन राजनीतिक दलको कुन स्तरमा हुनुहुन्छ वा हुनुहुन्‍नभनी सोधनी भएको हकमा धीरेन्द्र र अशोककुमार कुन राजनीतिक संस्थाका व्यक्ति हुन् वा होइनन् त्यो सम्झना नभएकोले थाहा छैन । तर, म स्वयं भने नेपाली कांग्रेस राजनीतिक पार्टीको अध्यक्ष हुँ । यो राजनीतिक पार्टी हाल पनि विद्यमान छ । नेपाली कांग्रेस अवैध घोषित भएकोले खुल्ला रूपमा यसको कार्यालय छैन । 

आज समयको अभावले बयान स्थगित गरिएको ठीक छ भनी सही गर्ने ।

निज विश्वेश्वरप्रसाद कोइराला... ... ... ... ... ... ... ... ..  १

इति सम्वत् २०३४बैशाख १९ गते रोज १ शुभम् ।

जवाफ नं. १०ः

हाल सीतामढीस्थित इन्टरनेसनल होटलभन्दा दक्षिणतर्फको घरमा बस्‍ने वासुदेव कोइरालालाई तपाईंंले के–कस्तो काम लगाइराख्नुभएको छ भनी सोधनी भएको हकमा वासुदेव कोइरालासँग मेरो पुरानो परिचय छ र टाढाबाट मेरो नाता पनि पर्न सक्छ । वासुदेव कोइराला नेपाली कांग्रेसमा सदस्य छन्/छैनन् मलाई याद छैन । वासुदेवले धीरेन्द्र र अशोककुमारलाई हातहतियार दिए–नदिएको पनि याद छैन । वासुदेव कोइरालालाई मैले कुनै हातहतियार दिए–नदिएको पनि याद छैन ।

जवाफ नं. ११ः

तपाईंले कुनै हातहतियार पनि जम्मा गरी राख्नुभएको छ कि भन्‍ने सोधनी भएको हकमा म जवाफ दिन चाहन्‍नँ ।

जवाफ नं. १२ः

मेरो सबुतको हकमा बुझ्‍नुपर्ने केही पनि छैन ।

जवाफ नं. १३ः

उक्त लिखित बयान बेहोरा अर्थात् ०३४/१/१७, ०३४/१/१९ र आजका मिति समेतमा लेखिएको बयान मैले भने अनुसार लेखिएको ठीक छ भनी सही गर्नेः

निज विश्वेश्वरप्रसाद कोइराला... ... ... ... ... ... ... ... ... ... ... ... ... ... ... ... ... १

इति सम्वत् २०३४ बैशाख २० गते रोज २ शुभम् ।

२९ अप्रिल १९७७–२ मे १९७७ (१७–२० बैशाख २०३४)

स्रोतः  राष्ट्रिय एकताको निम्ति आह्वान

प्रकाशकः बीपी समाज, काठमाडौं, २०४७

अदालती बयानः २

नेपाली कांग्रेसका सदस्यहरूको नाम भन्‍न असमर्थ छु 

कोसी अञ्‍चलस्थित धरानको फुस्रे प्रहरी ब्यारेकमा बमबहादुरले बम हान्‍नलाग्दा पक्राउ परेको मुद्दाका सम्बन्धमा विशेष अदालत मुकाम सिंहदरबारका अतिरिक्त न्यायाधीश श्री जनकमान श्रेष्ठको इजलासमा विश्वेश्वरप्रसाद कोइरालाको बयानः

जवाफ नं. १ः

मेरो नाम विश्वेश्वरप्रसाद कोइराला हो, पिताको नाम स्व. कृष्णप्रसाद कोइराला हो । मेरो जात कोइराला, ब्राह्मण । उमेर ६३ को भएँ । वतन मोरङ जिल्ला विराटनगरमा छ ।

जवाफ नं. २ः

वादी श्री ५ को सरकारविरुद्धमा विश्वेश्वरप्रसाद कोइरालासमेत भएको धरानको फुस्रे प्रहरी व्यारेकमा बम हान्‍न लाग्दा अभियुक्त बमबहादुर पक्राउ भएको राजकाज मुद्दामा वारेण्ट जारी भएकोले प्रहरीद्वारा उपस्थित गराउँदा बयान गर्न उपस्थित भएको हुँ ।

जवाफ नं. ३ः

फार्बिसगन्जमा अवैध नेपाली कांग्रेसको कार्यालय सञ्‍चालन गरी सो कार्यालयद्वारा नेपालमा अशान्ति मच्चाउने, अराजकता फैलाउने कार्यको षड्यन्त्र तपाईंंले रचेको र सो विषयमा बमबहादुरले फुस्रे प्रहरी क्याम्पमा बम हान्‍नलाग्दा पक्राउ परेको घटनाबाट थाहा भएको भनी अभियोग–पत्रमा राजकाज अपराध सजाय ऐन, ०१९ को दफा ४ (२) अन्तर्गत सजायको दाबी भएको अभियोग–पत्र देखाई, पढी, बाची सुनाई सोधनी गरेको हकमा, अवैध नेपाली कांग्रेसको अध्यक्ष म स्वयं हुँ । फार्बिसगन्ज अर्थात् विदेशमा कहीँ पनि मेरो नेपाली कांग्रेसको कार्यालय खोलिएको छैन । नेपाली कांग्रेस पार्टी नेपालभित्र मात्र सीमित छ । फार्बिसगन्जमा नेपाली कांग्रेसको कार्यालय नै नरहेकोले यो अभियोग ममाथि लाग्‍नुपर्ने होइन ।

जवाफ नं. ४ः

अभियुक्त बमबहादुरले मिति ०३०/१२/२३ मा प्रहरीमा गरेको बयान र मिति ०३१/१/५ मा कोसी अञ्‍चलाधीश कार्यालयमा गरेको बयानसमेत देखाई, सुनाई सोधनी भएको हकमा विदेशमा कहीँ पनि मेरो पार्टी छैन । गिरिजाप्रसाद कोइराला र यज्ञबहादुर थापा (कप्तान) ले राजालाई हटाउनुपर्छ भने होलान् जस्तो मलाई लाग्दैन । नेपाली कांग्रेस राजतन्त्रको विरोधमा छैन । त्यति मात्र होइन, नेपालको वर्तमान सन्दर्भमा राजतन्त्रको आवश्यकता अनुभव गरेर नै नेपाली कांग्रेसले आफ्नोे ध्येयमा वैधानिक राजतन्त्रको उल्लेख गरेको छ । 

नेपालको इतिहासमा राजतन्त्र सदैव रह्‍यो । तर, यो राणाकालभन्दा पहिलेको राजतन्त्र र २०१७ सालपछिको राजतन्त्रजस्ता राजतन्त्रका विभिन्‍न रूपमा प्रकट भएको छ । त्यति मात्र होइन, २००७ सालमा एकै समयमा नेपालमा दुई जना राजा थिए । तसर्थ, नेपालमा दुईवटा राजतन्त्र थिए । त्यसो हुनाले राजतन्त्र भनेर मात्र पुग्दैन । राजतन्त्र कस्तो छ, त्यसको पनि विवेचना हुनुपर्दछ । वैधानिक राजतन्त्रमाथि नेपाली कांग्रेसको पूर्णआस्था छ, राजतन्त्रको नाउँमा राणाकालीन व्यवस्था जस्तो छ भने अर्थात् अप्रजातान्त्रिक व्यवस्था छ भने नेपाली कांग्रेस त्यसको विरोधी छ । जहाँसम्म पञ्‍चायती व्यवस्थाको कुरा छ, पञ्‍चायत नाउँसँग हाम्रो (नेपाली कांग्रेसको) कुनै विरोध छैन । तर, पञ्‍चायतको नाउँमा अहिले प्रचलित जनता विरोधी व्यवस्थाको भने हामी (नेपाली कांग्रेस) विरोधी छौँ ।

जवाफ नं. ५ः

राजतन्त्र सम्बन्धमा तपाईंंको व्यक्तिगत विचार के छ भनी सोधनी भएको हकमा जवाफ नं.४ मा नेपाली कांग्रेसको विचार र सिद्धान्त लेखाएको हुँ । म सो पार्टीको अध्यक्ष भएकाले सोही विचार मेरो व्यक्तिगत विचार र धारणा पनि हो ।

जवाफ नं. ६ः

अभियुक्त बमबहादुर राईले आफ्नोे बयानमा ह्याण्ड ग्रेनेड गिरिजाप्रसादको आदेशमा कप्तान यज्ञबहादुर थापाबाट पाएको भनेको देखिन्छ । तसर्थ, सो ह्याण्ड ग्रिनेड वितरण गर्न निज गिरिजाप्रसाद र कप्तान यज्ञबहादुर थापालाई लगाउनु भएको थियो कि भनी सोधनी भएको हकमा यो प्रश्‍नसित ममाथि लागेको अभियोगको सम्बन्ध रहेको जस्तो नलागेकोले जवाफ दिन असमर्थ छु ।

जवाफ नं. ७ः

गिरिजाप्रसाद कोइराला र कप्तान यज्ञबहादुर थापासित तपाईंको के–कस्तो चिनापर्ची छ र तिनीहरू नेपाली कांग्रेस पार्टीको कुन प्रकारका सदस्य हुन् वा होइनन् भनी सोधिएको हकमा गिरिजाप्रसाद कोइराला मेरो सहोदर भाइ हो र कप्तान यज्ञबहादुर थापालाई पनि चिन्दछु । नेपाली कांग्रेस एउटा ठूलो संस्था भएकोले त्यसको सदस्य सङ्ख्या पनि धेरै ठूलो छ । तसर्थ मलाई सदस्यहरूको नामको सम्झना छैन र कुनै–कुनै सदस्यहरूको नाम सम्झना भए पनि नेपाली कांग्रेस अवैध भएकोले ती सदस्यहरूको नाम भन्‍नपनि म असमर्थ छु र सोही प्रकार ती सोधिएका व्यक्तिहरू सदस्य हुन् वा होइनन् भन्‍नपनि म असमर्थ छु ।

जवाफ नं. ८ः

मेरो सबुतको हकमा बुझ्‍नुपर्ने केही छैन ।

उक्त लिखित बयान, मैले भने अनुसार लेखिएको ठीक छ, झुठ्ठा ठहरे कानुन बमोजिम बुझाउँला भनी सही गर्नेः

निज विश्वेश्वरप्रसाद कोइराला... ... ... ... ... ... ... १

इति सम्वत् २०३४ बैशाख २० गते रोज २ शुभम् ।

२ मे १९७७ (२० बैशाख २०३४)

स्रोतः  राष्ट्रिय एकताको निम्ति आह्वान

 प्रकाशकः बीपी समाज, काठमाडौं, २०४७

अदालती बयानः ३

प्रजातन्त्र नभए विकास अवरुद्ध हुन्छ 

पञ्‍चायती व्यवस्थामा जनताको मौलिक अधिकार नभएकोले सङ्गठन गरी सशस्त्र क्रान्तिद्वारा पञ्‍चायती व्यवस्थाको सरकार पल्टाई लोकतान्त्रिक समाजवादी व्यवस्था स्थापना गर्ने भन्‍ने चन्द्रबहादुर र पञ्‍चसिंह अभियुक्त भएको बागमती अञ्‍चलको राजकाज मुद्दाका सम्बन्धमा विशेष अदालत मुकाम सिंहदरबारका अतिरिक्त न्यायाधीश श्री जनकमान श्रेष्ठका इजलासमा विश्वेश्वरप्रसाद कोइरालाले गरेको बयानः

जवाफ नं. १ः

मेरो नाम विश्वेश्वरप्रसाद कोइराला, पिताको नाम स्व. कृष्णप्रसाद कोइराला, जात कोइराला, ब्राह्मण, उमेर ६३ को भएँ, घर मोरङ जिल्लाको विराटनगरमा छ ।

जवाफ नं. २ः

वादी श्री ५ को सरकारविरुद्ध मसमेत भएको पञ्‍चायती व्यवस्थालाई पल्टाई लोकतान्त्रिक समाजवादी व्यवस्था स्थापना गर्न जनक्रान्ति गर्ने भन्‍ने राजकाज अपराधको मुद्दामा बयान गर्न उपस्थित भएको हुँ ।

जवाफ नं. ३ः

नेपाली कांग्रेसका अध्यक्ष विश्वेश्वरप्रसाद कोइरालाले अहिलेको पञ्‍चायती व्यवस्थामा जनताको मौलिक अधिकार नभएकोले सङ्गठन गरी सशस्त्र क्रान्तिद्वारा पञ्‍चायती व्यवस्थाको सरकार पल्टाउनुपर्छ र नेपाली कांग्रेसको सरकार गठन गर्नुपर्छ भन्‍‍नुभएको भनी दामनले भनेको भन्‍ने अभियुक्त चन्द्रबहादुर र पञ्‍चसिंहका बयानसमेतलाई आधार लिई तपाईंमाथि लागेको राजकाज अपराधको अभियोगको मिति ०३१/११/२५ को प्रहरी प्रतिवेदन देखाउँदा देखीसुनी पाएँ । सो अभियोगसम्बन्धी सोधनी भएको हकमा आज बयान गर्न समयले नभ्याउँदा स्थगित गरिएको छ ।

उक्त बयान मैले भनेअनुसार लेखिएको ठीक छ भनी सही गर्नेः

निज विश्वेश्वरप्रसाद कोइराला... ... ... ... ... ... ... ... ... १

इति संवत् २०३४ बैशाख महिना २२ गते रोज ५ शुभम् ।

जवाफ नं. ४ः 

जवाफ नं. ३ मा सोधनी भएको प्रश्‍नको हकमा ०३४ साल बैशाख २२ गते जवाफ लेखाउन समयले नभ्याउँदा आज उपस्थित भई कानुनी सल्लाहकारबाट समेत सल्लाह पाई बयान गर्दैछु । पञ्‍चसिंह र चन्द्रबहादुरलाई म चिन्दिनँ । तर, दामनलाई चिन्दछु । वर्तमान पञ्‍चायती व्यवस्था अप्रजातान्त्रिक भएकोले नेपाली कांग्रेस परिवर्तनको पक्षमा छ र म त्यसको अध्यक्ष हुँ । तर, यसलाई परिवर्तन गरेर नेपाली कांग्रेसको सरकार स्थापना गर्ने कुरा उल्लेख भएको छ, त्यो ठीक होइन । नेपाली कांग्रेस प्रजातन्त्र स्थापना गर्न चाहन्छ । त्यसमा अरू पार्टीलाई प्राप्त नहुने कुनै विशेषाधिकार नेपाली कांग्रेसलाई प्राप्त हुँदैन । संघर्षको अनिवार्यताबारे पनि मैले प्रचार गरेको हुँ र मैले यहाँ जनतालाई प्रजातान्त्रिक मौलिक नागरिक अधिकार छैन पनि भन्दै आएको हुँ । जनता क्रान्तिको बाटोमा त्यस स्थितिमा मात्र लाग्छ, जब उसलाई शान्तिपूर्ण र वैधानिक बाटो उपलब्ध हुँदैन ।

जवाफ नं. ५ः

जवाफ नं.४ मा सशस्त्र संघर्ष गर्नुपर्छ भनी दामनले भनेको थियो र त्यसमा तपाईंं विश्वेश्वरप्रसाद कोइरालाको पनि सहमति छ भनिएकोमा प्रस्ट जवाफ मिलेन कसो हो भनी पुनः सोधनी भएको हकमा मैले क्रान्तिको चर्चा गर्दा विशेष परिस्थितिमा प्रजातन्त्र स्थापनाको लागि २००७ सालको जस्तो विद्रोह वा सशस्त्र क्रान्ति गर्नु पनि जनताको नैसर्गिक अधिकार हो भन्‍ने गरेको छु । यो एक प्रकारको आत्मरक्षाको हकभित्र पर्ने अधिकार हो ।

जवाफ नं. ६ः

मिति २०३१/१२/३/१ मा अञ्‍चलाधीश कार्यालयमा अभियुक्त पञ्‍चसिंहले गरेको बयान थान १ र मिति २०३२/१/३/४ मा अञ्‍चलाधीश कार्यालयमा गरेको बयान थान १ समेत देखी, सुनी पाएँ । निजहरूको बयानको हकमा म विश्वेश्वरप्रसाद कोइरालाले भारतबाट हतियार पठाउँछु र हामीले सङ्गठन गर्नुपर्छ भनी दामनले भन्यो भनेको र पञ्‍चसिंहले दिएको अरू बयान पनि विश्वासलाग्दो छैन । जहाँसम्म नेपाली कांग्रेसको सङ्गठन गर्ने प्रश्‍न छ, त्यो दामन वा अरूले पनि गरेका हुन सक्छन् । तर, दामनले भारतबाट हतियार पठाइन्छ भन्यो भन्‍ने कुराको हकमा त्यो पत्यारलाग्दो छैन । सरकारलाई पनि पत्यार नलागेको जस्तो छ । त्यसैले सरकारले पनि निजले बयानमा देखाइएका व्यक्तिहरूमध्ये अरूमाथि कारबाही नगरेर केवल ममाथि मात्र कारवाही गरेको छ ।

जवाफ नं. ७ः

तपाईंले दामनलाई सशस्त्र संघर्षको लागि भारतबाट हतियार पठाउँछु भन्‍‍नुभएको थियो भनी सोधनी भएको हकमा यो प्रश्‍न ममाथि लगाएको अभियोगबाट उत्पन्‍न नहुने भएकोले यसको उत्तर दिन म असमर्थ छु ।

जवाफ नं. ८ः

अभियोग–पत्रका साथ दाखिल हुन आएको अवैध नेपाली कांग्रेसको रातो चारतारे झण्डाको मुनि प्रतिज्ञा–पत्र भनी छापिएको त्यसको भित्री भागमा पनि सोहीअनुसार चारतारे झण्डाको मुनि परिचय–पत्र भनी छापिएको सम्बन्धित व्यक्तिको परिचय खुलाई लेखिएको प्रतिज्ञा–पत्र तथा परिचय–पत्र थान (३३) तेत्तीस भनिएको तर ३१ थान मात्र दाखिल भएको र सो ३१ थान अवैध नेपाली कांग्रेसको सदस्य बने–बनाएको अर्धकट्टी रसिद पाना २५ पच्चीसको थान ३, पाना २३ को थान १ समेत अर्धकट्टी बुक थान ४ देखाउँदा देखी, सुनी पाएँ ।

जवाफ नं. ९ः

उक्त बयान मैले भनेअनुसार लेखिएको ठीक छ । जवाफ नं. ८ मा सोधनी भएको प्रश्‍नको जवाफ लेखाउन समयले नभ्याउँदा आज बयान स्थगित गरिएको ठीक छ भनी सही गर्नेः

निज विश्वेश्वरप्रसाद कोइराला... ... ... ... ... ... ...१

इति संवत् २०३४ बैशाख २६ गते रोज १ शुभम् ।

जवाफ नं. १०ः

जवाफ नं. ८ मा सोधिएको सिलसिलामा सो परिचय–पत्र र प्रतिज्ञा–पत्र समेतको सदस्यताका किताबहरू देखाई तपाईंं स्वयं अध्यक्ष हुनुभएको नेपाली कांग्रेसको नै हो वा होइन र त्यो नेपालको कानुनअनुसार र इजाजत प्राप्त नेपाली कांग्रेस पार्टी हो वा होइन भनी सोधनी भएको हकमा सोधिएका प्रश्‍नहरूमध्ये सदस्यताको अर्धकट्टी थान ४ म स्वयं अध्यक्ष भएको नेपाली कांग्रेस पार्टीको सदस्य बनाउने किताबको अर्धकट्टी हो, सदस्य बनाउने तरिका पनि त्यही हो र यो नेपाली कांग्रेस पार्टी नेपालको कानुनअनुसार रजिस्टर्ड भएको छैन । प्रतिज्ञा–पत्र थान ३२ पनि नेपाली कांग्रेस पार्टीकै हो । प्रजातन्त्र र समाजवाद नेपाली कांग्रेसको लक्ष्य र आदर्श भएकाले सदस्यताको अर्धकट्टी थान ४ मा लेखिएको प्रजातन्त्र र समाजवाद विषयमा प्रस्ट पार्न बयान दिन चाहन्छु ।

वर्तमान युगलाई प्रजातन्त्रको युग भन्‍‍नुका ऐतिहासिक कारणहरू छन् । राज्य, सार्वभौमिकता र सरकारका सम्बन्धमा राज्य राजाको, त्यसको सार्वभौमिकता राजा व्यक्तिमा निहित रहन्छ र सरकार व्यक्तिगत शासनको यन्त्र हो भन्‍ने पुरानो मान्यतालाई वर्तमान युगमा कसैले पनि स्वीकार गर्दैन । त्यसैले फ्रान्सको लुई चौधौंंले जस्तो ‘राज्य भनेको म नै हुँ’ भन्‍ने नैतिक साहस कुनै पनि तानाशाहले गर्न सक्तैन । त्यसैले उनीहरूले पनि जनताको नाउँमा शासन गरेको छु भन्‍ने प्रचार गर्नुपर्छ ।

मैले २००७ सालको विद्रोहलाई ‘क्रान्ति’, २०१८ सालको घटना–समूहलाई ‘विद्रोह’, कोतपर्वलगायत २०१७ सालको घटनालाई ‘षड्यन्त्र’ र व्यवस्थावादीबाट भएका हुन् वा व्यवस्थाको विरोधीबाट भएका हुन्, त्रासको वातावरण रच्‍ने हेतुले हुने व्यक्तिगत हत्या आदिलाई ‘आतङ्क’ भनेको थिएँ । तसर्थ, मेरो जनक्रान्तिको आह्वानको प्रेरणाले कसैले हात–हतियार सङ्कलन गर्न थालेका वा गरेका रहेछन् भने त्यसका लागि मेरो नैतिक जिम्मेवारी छ ।

राज्य जनताको साझा सम्पत्ति हो, त्यसो हुनाले त्यसको सार्वभौमिकता पनि जनतामा सम्मिलित रूपमा निहित हुन्छ । त्यसैले राज्यको शासन यन्त्र ‘सरकार’ जनताद्वारा स्थापित हुनुपर्दछ भन्‍ने प्रजातन्त्रका राज्य, सार्वभौमिकता र सरकारसम्बन्धी मान्यता हुन् । यस्तो प्रजातान्त्रिक मान्यताले जनतालाई रैतीको श्रेणीबाट उचालेर नागरिकको श्रेणीमा पुर्‍याउँछ । प्रजातन्त्रका तीनवटा मूलभूत सिद्धान्तहरू छन्, ती तीन सिद्धान्तहरूमध्ये एउटा मात्र पनि व्यवस्थामा समावेश भएको छैन भने त्यो प्रजातन्त्र नै होइन । झन् तीनवटै छैन भने त प्रजातन्त्र हुने कुरै भएन । प्रजातन्त्रका ती तीनवटा अनिवार्य तत्त्वहरू हुन्ः

(१) मौलिक र नागरिक अधिकारः यहाँ नागरिक भन्‍नाले ती अधिकारका उपभोक्तालाई बोध गराउँछ ।

(२) कानुनी राज्यः सरकारको निरङ्कुशता, सरकारी विभागहरूको विशेषगरी पुलिस र सेनाको अत्याचार र अन्यायका विरुद्ध कानुनी कार्यवाहीको हकद्वारा नागरिकमाथि अत्याचार नहोस् भनेर कानुनी राज्यको सिद्धान्तलाई प्रजातन्त्रको मूलभूत सिद्धान्तमा गनिएको छ ।

(३) राज्यशक्तिको प्रयोग र राज्यको नीति निर्धारणमा नागरिकहरूको अधिकार र निर्वाध उपस्थित एवं हस्तक्षेपको सिद्धान्तः यो सिद्धान्त जनताको सार्वभौमिक सिद्धान्तबाट प्रतिफल भएको हो ।

राज्यशक्तिको प्रयोग गर्ने अधिकार कसलाई प्राप्त छ वा राज्यसत्ता कसको हातमा हुनुपर्छ भन्‍ने प्रश्‍नमा तीन प्रकारका माध्यमको चर्चा हुन सक्छ ।

(१) जबर्जस्ती स्थूल शक्तिको प्रयोगद्वारा राज्यसत्ता प्राप्त गर्ने माध्यमः यस माध्यमको औचित्यलाई कसैले पनि स्वीकार गर्नेछैन ।

(२) दैवीशक्तिबाट राज्यसत्ता प्राप्तिको धारणाः श्री ३ मोहनशमशेरले मलाई एकपल्ट भनेका थिए– ‘राज्यसत्ता प्राप्त गर्न पुर्पुरोमा लेखिएको हुनुपर्छ ।’ जन्मबाट अधिकार पाएको सिद्धान्त यसैअन्तर्गत पर्न आउँछ ।

(३) प्रजातान्त्रिक माध्यमः पूर्ण स्वतन्त्रताको वातावरणमा जनताले मौलिक अधिकारको पूर्ण उपभोग गर्न पाएको स्थितिमा चुनावको माध्यमद्वारा राज्यसत्ता प्राप्त गर्नु प्रजातान्त्रिक माध्यम हो ।

आर्थिक विकासका लागि पनि प्रजातान्त्रिक माध्यम आएको हो । यो व्यवस्था ऐतिहासिक शक्तिबाट उत्पन्‍न भएको हो । समाजका आन्तरिक सुषुप्त शक्तिहरूलाई जागृत गराएर तिनलाई समाजको विकासको शक्तिमा परिणत गर्नका लागि पुरानो सामन्ती व्यवस्थालाई त्यागेर वर्तमान युग सुहाउँदो जनप्रिय र प्रजातान्त्रिक व्यवस्था कायम गर्नुपर्छ भन्‍ने नेपाली कांग्रेसको धारणा छ ।

साथै, जब जनताले ठूलाठूला जिम्मेवारी लिन थाल्छन्, जब उनीहरूको अन्तप्रेरणा जागृत हुन्छ, जब जनताका बीचमा नयाँ–नयाँ प्रयोगका लागि स्थानीय र राष्ट्रिय स्तरमा नेतृत्व वर्गको उदय हुन जान्छ, समाजको आन्तरिक शक्ति तब मात्र चलायमान हुन्छ । प्रजातन्त्र, ठीक यही क्रियालाई जनताका बीच चलाउनका लागि ऐतिहासिक कारणबाट विकासको परिस्थितिको बाध्यताले स्थापित भएको राजनीतिक विचारधारा र व्यवस्था हो । प्रजातन्त्र नभएको खण्डमा विकास पनि अवरुद्ध भएर जान्छ । जसरी प्रजातन्त्रले राजनीतिक दृष्टिबाट समानताको सिद्धान्तलाई स्थापित गर्दछ । त्यसैगरी समाजवादले आर्थिक दृष्टिबाट समानताको सिद्धान्तलाई स्थापित गर्दछ ।

समाजवादको आदर्श स्थिति त उत्पादनको त्यस्तो चरम विकास हो, जसमा सबै व्यक्तिलाई उनीहरूको आवश्यकताअनुसारका भौतिक मागहरूको पूर्ति समाजद्वारा हुने व्यवस्था हुन्छ । त्यस्तो पर्याप्तता र प्रचुरताको स्थितिमा पुग्‍नका लागि समाजले उत्पादनका साधनहरूको योजनाबद्ध र विवेकपूर्ण विकासद्वारा आधुनिकीकरण गर्नुपर्दछ । विकासको मूल फुटाउने जुन चर्चा आजकल देशमा चलिरहेको छ, त्यो अनुकूल राजनीतिक व्यवस्थाको अभावमा केवल कागजी घोडा कुदाएको जस्तो मात्र भइरहेको छ । त्यो पनि सिद्धान्ततः समाजवादको लक्ष्याधीन प्रारम्भिक प्रयत्‍नमा गनिन सक्छ । म प्रजातान्त्रिक समाजवादको स्थापनामा लागेको हुँ र नेपाली कांग्रेसको लक्ष्य पनि त्यही हो । त्यसैले सदस्यताको रसिद, बहीको अर्धकट्टीमा ‘नेपालमा जनताको उत्तरदायी शासन स्थापित गर्न प्रजातान्त्रिक समाजवादी सिद्धान्तप्रति आस्था र विश्वास’ भन्‍ने लेखिएको छ ।

जवाफ नं. ११ः

तपाईंंले नेपालको कानुनविरुद्ध नेपालमा नेपाली कांग्रेसको सङ्गठन गरी व्यवस्थित रूपमा श्री ५ को सरकारलाई पल्टाउने उद्देश्य राखेको हो भनी सोधनी भएको हकमा अहिलेको पञ्‍चायती व्यवस्था प्रजातान्त्रिक नभएकोले यस अप्रजातान्त्रिक व्यवस्थाको सट्टा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने हेतुले सङ्गठन र त्यसका लागि प्रयास गरेको हुँ ।

जवाफ नं. १२ः

मेरो सबुतको हकमा बुझ्‍नुपर्ने केही छैन

जवाफ नं. १३ः

उपर्युक्त लिखित बयान मैले भनेअनुसार लेखिएको ठीक छ, झूटो ठहरे कानुनबमोजिम बुझाउँलाः

निज विश्वेश्वरप्रसाद कोइराला... ... ... ... ... ... १

 इति संवत् २०३४ बैशाख २७ गते रोज २ शुभम् ।

४–९ मे १९७७ (२२–२७ बैशाख २०३४)

स्रोतः  राष्ट्रिय एकताको निम्ति आह्वान

प्रकाशकः बीपी समाज, काठमाडौं, २०४७

अदालती बयानः ४

सङ्कीर्ण कानुनी अर्थ्याईले हाम्रो कदमको मूल्याङ्कन हुन सक्तैन

स्प्रिट फायर पत्रिकामा प्रकाशित आफ्नोे लेखद्वारा श्री ५ विरोधी मन्तव्य राखी गरेको ‘राजकाज अपराध’ मुद्दाका सम्बन्धमा विशेष अदालत मुकाम सिंहदरबारका अतिरिक्त न्यायाधीश श्री जनकमान श्रेष्ठका इजलासमा विश्वेश्वरप्रसाद कोइरालाले गरेको बयानः

जवाफ नं. १ः

मेरो नाम विश्वेश्वरप्रसाद कोइराला, मेरो पिताको नाम स्व. कृष्णप्रसाद कोइराला, मेरो जातः कोइराला ब्राह्मण, पेसा राजनीतिक र सामाजिक, उमेर ६३ वर्ष, वतनः मोरङ जिल्ला विराटनगरमा छ ।

जवाफ नं. २ः

वादी श्री ५ को सरकारविरुद्ध म विश्वेश्वरप्रसाद कोइरालासमेत भएको स्प्रिट फायर पत्रिकामा श्री ५ विरोधी मन्तव्य प्रकाशित गरेको ‘राजकाज अपराध र सजाय’ सम्बन्धी मुद्दामा ममाथि लागेको अभियोगमा बयान गर्न उपस्थित भएको हुँ ।

जवाफ नं. ३ः

‘२००७ सालको क्रान्तिले राजालाई शक्ति सम्पन्‍न तुल्यायो । पार्टी फोड्ने र जनतालाई उत्तेजित गर्ने काम राजाले गरे । पार्टीभित्र घुसेका दुईजना प्रतिनिधिको भनाइमा लागेर शाही रक्षकहरूद्वारा जनतामा अशान्ति मच्चाइयो । सैनिक कार्यवाहीको परिणामस्वरूप आज देशको अवस्था नाजुक हुँदै गइरहेको छ’ भन्‍ने धारणा विश्वेश्वरप्रसाद कोइरालाले स्प्रिट फायर नामको पत्रिकामा प्रकाशित गरेको हुँदा त्यो श्री ५ विरोधी मन्तव्य भएकोले सो सम्बन्धमा राजकाज अपराधको अभियोग लागेको मिति ०३२/२/१५/५ को अभियोग–पत्र देखी–सुनी पाएँ । यस सम्बन्धमा स्प्रिट फायर पत्रिकामा प्रकाशित विश्वेश्वरप्रसाद कोइरालाको मन्तव्य भनिएको समेत देखी–सुनी पाएको खण्डमा बयानमा मेरो आफ्नोे भावना वा विचार व्यक्त गर्न पाउने थिएँ र मेरो बयानमा प्रस्ट भावना प्रकट हुने थियो ।

जवाफ नं. ४ः

उक्त लिखित बयान मैले भनेअनुसार लेखिएको ठीक हो र आज समयले नभ्याउँदा बयान गर्न बाँकी नै छ, यहाँ स्थगित गरिएको ठीक छ भनी सही गर्नेः

निज विश्वेश्वरप्रसाद कोइराला... ... ... ... ... ...  १

इति संवत् २०३४ बैशाख २७ गते रोज २ शुभम् ।

जवाफ नं. ५ः

जवाफ नं ३ मा सोधिएको मिति ०३२/२/१५/५ को अभियोगको साथै माग बमोजिम अप्रिल १५, १९७४ को ‘स्प्रिट फायर’ भनिने पाक्षिक पत्रिकामा भूतपूर्व प्रधानमन्त्री बीपी कोइराला नामक व्यक्तिको नेपालः द बेसिक क्वेस्चन शीर्षकको वक्तव्य प्रकाशित भएको र सो पत्रिका सक्कल नै देखाउँदा देखी–सुनी पाएँ । यस सम्बन्धमा स्प्रिट फायरमा अप्रिल १५, १९७४ मा मेरो नाममा  प्रकाशित भएको लेख मेरो नै हो । यो तीन वर्ष पहिलेको कुरो हो । अभियोगमा लगाइएको अर्थ त्यस लेखबाट निस्किँदैन । अङ्ग्रेजी भाषाको अल्पज्ञान भएको व्यक्तिले मात्र मेरो त्यस लेखको त्यसरी अर्थ्याउन सक्छ ।

नेपाली कांग्रेस पार्टी, जसको म अध्यक्ष हुँ, त्यसले वैधानिक राजतन्त्रमा विश्वास राख्दछ । त्यसो हुनाले मेरो कदापि पनि श्री ५ को अनादर वा राजमुकुटको बेकदर गर्ने  मनसाय हुन सक्तैन । मैले राजा र प्रजाबीचको फाटा (Confrontation) को स्थितिको चर्चा गर्दा केही ऐतिहासिक तथ्यको विवरण त्यसमा दिएको हुँ ।

नेपाली कांग्रेसले वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा राष्ट्रिय एकताको सर्वाधिक आवश्यकता महसुस गरेर राष्ट्रिय एकताका लागि प्रयत्‍नशील हुने उद्देश्यले हामी नेपाल फर्केका छौँ र मेरो त्यस लेखमा लेखिएका कुराहरू ऐतिहासिक दृष्टिबाट असत्य त छैनन् तर यसबेला अप्रासङ्गिक भएका हुन सक्छन् । हामी सारा नेपालीमा नेपालको हित र राष्ट्रिय एकताका लागि पहिलेको कटु कुराहरूलाई बिर्सिन सक्ने र एकताका नयाँ अध्याय प्रारम्भ गर्न सक्ने कटिबद्धता हुनुपर्छ भन्‍ने विश्वास लिएर नेपाल फर्किएका हौँ । सङ्कीर्ण कानुनी अर्थ्याईले हाम्रो अहिलेको यस ऐतिहासिक कदमको मूल्याङ्कन हुन सक्तैन भन्‍ने मलाई लाग्छ ।

जवाफ नं. ६ः

भीमबहादुर र सत्येन्द्रनारायणसित परिचय छ वा छैन भनी सोधनी भएको हकमा मलाई निजहरू दुवै को हुन् भन्‍ने थाहा छैन र चिन्दिनँ ।

जवाफ नं. ७ः

भाग्‍ने व्यक्तिहरू भीमबहादुर र सत्येन्द्रनारायणसमेतले छाडी गएको सामानमा स्प्रिट फायर पत्रिका फेला परेको भनिएको र अभियोग–पत्रमा त्यसैका साथमा फेला परेको भनिएको ग्रिनेडसमेतका माल सामान पनि तपाँइले पठाउनुभएको थियो कि भनी सोधनी भएको हकमा भीमबहादुर र सत्येन्द्रनारायण समेतका व्यक्तिहरूसित मेरो परिचय नै नभएको कुरा माथि जवाफ नं.६ मा लेखाइसकेको हुनाले मैले निजहरूलाई ग्रिनेडसमेतका हतियार दिएर पठाउने कुरै उठ्न सक्तैन र मसित सो कुराको सम्बन्ध पनि छैन र रहँदैन ।

जवाफ नं. ८ः

मेरो सबुतको हकमा बुझ्‍नुपर्ने केही छैन ।

जवाफ नं. ९ः

उक्त लिखित बयान मैले भने अनुसार लेखिएको ठीक छ, झूटो ठहरे कानुनबमोजिम बुझाउँलाः

निज विश्वेश्वरप्रसाद कोइराला... ... ... ... ... ... ...१

इति संवत् २०३४ बैशाख २८ गते रोज ३ शुभम् ।

१०–११ मे १९७७ (२७–२८ बैशाख २०३४)

स्रोतः  राष्ट्रिय एकताको निम्ति आह्वान 

प्रकाशकः बीपी समाज, काठमाडौं, २०४७

अदालती बयानः ५

मेरो जनक्रान्तिको आह्वानको प्रेरणाबाट भएको कार्यप्रति नैतिक जिम्मेवारी लिन्छु 

सशस्त्र क्रान्तिको माध्यमबाट पञ्‍चायती व्यवस्था पल्टाउने सन्दर्भमा मेची अञ्‍चल झापा जिल्ला, धुलाबारीस्थित सुब्बा बस्तीको सजुवा किसानको घरमा हतियार जम्मा गरेको भन्‍ने राजकाजसम्बन्धी मुद्दाको सन्दर्भमा विशेष अदालत मुकाम सिंहदरबारका अतिरिक्त न्यायाधीश श्री जनकमान श्रेष्ठका इजलासमा विश्वेश्वरप्रसाद कोइरालाले गरेको बयानः 

जवाफ नं. १ः

मेरो नाम विश्वेश्वरप्रसाद कोइराला, मेरा पिताको नाम स्व. कृष्णप्रसाद कोइराला, मेरो जात कोइराला (ब्राह्मण), उमेर ६३ को भएँ, पेसा राजनीति र सामाजिक कार्य, घर मोरङ जिल्ला विराटनगरमा छ ।

जवाफ नं. २ः

वादी श्री ५ को सरकारविरुद्ध विश्वेश्वरप्रसाद कोइरालासमेत भएको पञ्‍चायती व्यवस्थाअनुरूपको श्री ५ को सरकारलाई उल्टाउन धुलाबारी सुब्बा बस्ती बस्‍ने सजुवा किसानको घरमा हतियार जम्मा गरेको ‘राजकाज अपराध’ सम्बन्धी मुद्दामा बयान गर्न उपस्थित भएको हुँ ।

जवाफ नं. ३ः

श्री ५ को सरकारलाई पल्टाउने उद्देश्यले भारतको बातसीमा हतियार जम्मा गरी मेची अञ्‍चल, धुलाबारी बस्‍ने सजुवा किसानको घरमा हतियार सङ्कलन गरी लुकाइराखेकोमा विश्वेश्वरप्रसाद कोइरालासमेत माथि ‘राजकाज अपराध’ सम्बन्धी अभियोग लागेको ०२९/१२/१२/१ को प्रहरी प्रतिवेदन थानः १ देखाउँदा देखी–सुनी पाएँ । आज बयान गर्न समयले नभ्याउँदा स्थगित गरिएको छ ।

जवाफ नं. ४ः

उपर्युक्त लिखित बयान मैले भनेअनुसार लेखिएको ठीक छ, झूटो ठहरे कानुन बमोजिम बुझाउँला भनी सही गर्नेः

निज विश्वेश्वरप्रसाद कोइराला... ... ... ... ... ... ... १

इति सम्वत् २०३४बैशाख २८ गते रोज ३ शुभम् ।

जवाफ नं. ५ः

जवाफ नं.३ मा ०२९/१२/१२/१ को प्रहरी प्रतिवेदनमा भएको विवरण देखी–सुनी पाएँ । तुरसा हेमरमलाई म राम्ररी चिन्दछु । ती मेरा २००७ सालको क्रान्तिदेखिका पुराना साथी हुन् । चन्द्रकुमार र सजुवा किसानलाई म चिन्दिनँ । धेरै मानिसहरु मसँग भेट्न आउँथे । तिनीहरूमध्ये यी दुई व्यक्ति पनि हुन सक्लान् । म आफ्नोे राजनीतिक विचारको प्रचार र व्यवस्थाका सिलसिलामा २–३ चोटि बतासे, सिलिगुडीतिर गएको थिएँ । मेरा राजनीतिक विचारहरू जान्‍न नेपालभित्रबाट धेरै मानिसहरू त्यहाँ मसँग भेट्न आउँथे । म उनीहरूलाई वर्तमान अप्रजान्त्रिक व्यवस्थाको सन्दर्भमा क्रान्तिको अनिवार्यताबारे सम्झाउँथेँ ।

एकचोटि फागुण ७ गतेको राष्ट्रिय प्रजातन्त्र दिवस पनि मैले त्यहीँ मनाएको थिएँ, जसमा धेरै मानिसहरू उपस्थित भएका थिए । मैले त्यहाँ फागुन ७ गतेको महत्त्वको बारेमा प्रकाश पार्दा त्यस समय क्रान्ति किन अनिवार्य भयो भनेर ‘२००७ सालले विशेष स्थितिमा जनताको सशस्त्र क्रान्ति गर्ने वैधानिक अधिकार र मान्यता स्थापना गर्‍यो’ भन्दै २००७ सालको क्रान्तिको पनि चर्चा गरेको थिएँ ।  मैले त्यस समयमा भनेको थिएँ– ‘२००७ सालको क्रान्तिताका नेपालमा दुईवटा राजा थिए– एउटा श्री ५ त्रिभुवन र अर्को श्री ५ ज्ञानेन्द्र । श्री ५ त्रिभुवनसँग न राज्य थियो, न त राज्यको यन्त्र सरकार नै थियो । मौसुफ विदेशमा शरण लिन पुगिबक्सेको थियो । तर, मौसुफसँग राज्यको सबैभन्दा महत्त्वपूर्ण र सार्वभौमिकता सम्पन्‍न तत्त्व थियो । त्यो तत्त्व थियो, जनता । ज्ञानेन्द्रसँग प्रशासकीय व्यवस्था, सरकारी सेना आदि राज्यका यावत् पाराफर्नेलिया (Paraphernalia) थिए ।  ती तत्त्वहरूले ज्ञानेन्द्रलाई राजा भनेर उनीप्रति आफ्नोे बफादारीको समर्थन दिएका थिए । तर, राज्यको एउटा मूल तत्त्व ‘जनता’ भने मौसुफको पक्षमा थिएन ।’

मैले त्यस समयमा जन–क्रान्ति, विद्रोह, षड्यन्त्र र आतङ्कको पनि विश्लेषण गरेको थिएँ । मैले २००७ सालको विद्रोहलाई ‘क्रान्ति’, २०१८ सालको घटना–समूहलाई ‘विद्रोह’, कोतपर्वलगायत २०१७ सालको घटनालाई ‘षड्यन्त्र’ र व्यवस्थावादीबाट भएका हुन् वा व्यवस्थाको विरोधीबाट भएका हुन्, त्रासको वातावरण रच्‍ने हेतुले हुने व्यक्तिगत हत्या आदिलाई ‘आतङ्क’ भनेको थिएँ । तसर्थ, मेरो जनक्रान्तिको आह्वानको प्रेरणाले कसैले हात–हतियार सङ्कलन गर्न थालेका वा गरेका रहेछन् भने त्यसका लागि मेरो नैतिक जिम्मेवारी छ ।

जवाफ नं. ६ः

चन्द्रकुमार लिम्बूले प्रहरीमा मिति २०२९/११/१६/३ मा र अदालतमा मिति २०३०/१/९/३ मा गरेको बयान थानः २ देखाई–सुनाई सोधनी हुन्छ, निज चन्द्रकुमारले तपाईं विश्वेश्वरप्रसाद कोइराला नेपाली कांग्रेसको मुख्य नेता भई पार्टीका मानिसहरूलाई निर्देशन दिने, क्रान्ति गरी श्री ५ को सरकारलाई पल्टाउने उद्देश्यले बनारसमा बसी कार्यसञ्‍चालन गर्ने गरेको र बतासेको जिम्मा भवानी विक्रमको थियो, भवानी विक्रमको घरमा तपाईं आउनुभएको र श्री ५ को सरकारलाई पल्टाउन क्रान्ति गर्नपर्छ भनी मिटिङ गरेर सो पारित गरेको समेत विश्वास लागेको कुरासमेत उल्लेख गरेको र निज बतासे बस्‍ने भवानी विक्रमको घरबाट बरामद भएका हतियार ल्याई सजुवा किसानको घरमा लुकाइराखेको भन्‍ने बेहोरा भएकोमा तपाईंंको के कस्तो सम्बन्ध र के–कस्ता कामसम्म गर्नुभएको छ भनी सोधनी भएकोमा म नेपाली कांग्रेसको अध्यक्ष भएकोले चाहे ती कार्यहरू मेरो ज्ञानमा भएका हुन् वा नहुन्, नेपाली कांग्रेसले गरेका सबै कामका लागि मेरो नैतिक जवाफदेही छ । चन्द्रकुमारले सायद सही कुरालाई लक्ष्य गरेर बयान दिएका हुन सक्छन् । म चन्द्रकुमारलाई चिन्दिनँ, न सजुवा किसानलाई नै चिन्दछु । चन्द्रकुमारले दिएको बयानबाट ममाथि आरोप खडा हुन सक्तैन ।

जवाफ नं. ७ः

तुरसा हेमरम सतारले मिति ०३०/३/५/३ मा अदालतमा गरेको बयान थानः १ देखी–सुनी पाएँ, निज तुरसा हेमरम सतार मेरो पुरानो साथी भएकाले चिनेको कुरा माथि नै बताइसकेको छु । निजले भवानी विक्रमको घरमा म गएको भनेको कुरा र २०२९ साल फागुनमा सिलिगुडीमा भेट हुँदा आराम–कुशल सोधेको भन्‍ने कुरा पनि साँचो हुन सक्छ ।

जवाफ नं. ८ः

सजुवा किसानले मिति ०२९/११/२६/३ मा प्रहरी र अदालतमा गरेको बयान थानः २,  धनबहादुर भुजेलले मिति २०२९/११/१६/३ मा प्रहरीमा गरेको बयान थानः १, चेरखा टुडु सतारले मिति २०२९/११/१७/४ मा प्रहरीमा र मिति २०३०/२/९/२ मा अदालतमा गरेको बयान थानः २ समेत सुनी पाएँ । सजुवा किसान, धनबहादुर भुजेल, टुडु सतारसमेतलाई म चिन्दिनँ र चेरखा टुडु सतारको बयान मलाई भरपर्दाे लागेन र यसमा मलाई अरू केही भन्‍‍नु छैन ।

जवाफ नं. ९ः

मेरो सबुतको हकमा बुझ्‍नुपर्ने केही छैन ।

जवाफ नं. १०ः

उक्त लिखित बयान मैले भनेअनुसार ठीक छ, झूटो ठहरे कानुन बमोजिम बुझाउँलाः 

निज विश्वेश्वरप्रसाद कोइराला... ... ... ... ... ... ... १

इति सम्वत् २०३४ बैशाख २९ गते रोज ४ शुभम् ।

१०–११ मे १९७७ (२८ –२९ बैशाख २०३४)

स्रोतः  राष्ट्रिय एकताको निम्ति आह्वान

प्रकाशकः बीपी समाज, काठमाडौं, २०४७

अदालती बयानः ६

नेपाली कांग्रेस अप्रजातान्त्रिक पञ्‍चायती व्यवस्थाको ठाउँमा प्रजातान्त्रिक व्यवस्था कायम गर्न चाहन्छ 


क्रान्तिको माध्यमबाट श्री ५ को सरकारलाई पल्टाउने उद्देश्यले गण्डकी अञ्‍चल स्याङ्जा जिल्लामा हतियार घुसाई राष्ट्रविप्लवको षड्यन्त्र रचेको सम्बन्धी राजकाज मुद्दाका सम्बन्धमा विशेष अदालत मुकाम सिंहदरबारका अतिरिक्त न्यायाधीश श्री जनकमान श्रेष्ठका इजलासमा विश्वेश्वरप्रसाद कोइरालाले गरेको बयानः

जवाफ नं. १ः

मेरो नाम विश्वेश्वरप्रसाद कोइराला, मेरा पिताको नाम स्व. कृष्णप्रसाद कोइराला, मेरो जातः कोइराला ब्राह्मण, मेरो उमेर ६३ वर्ष, पेसा राजनीति र सामाजिक कार्य, वतन मोरङ जिल्ला विराटनगरमा छ ।

जवाफ नं. २ः

वादी श्री ५ को सरकारविरुद्ध विश्वेश्वरप्रसाद कोइरालासमेत भएको गण्डकी अञ्‍चल स्याङ्जा जिल्लामा हतियार घुसाई राष्ट्रविप्लवको अपराध गर्ने षड्यन्त्र रचेको सम्बन्धी ‘राजकाज अपराध’ को मुद्दामा बयान गर्न आज उपस्थित भएको हुँ ।

जवाफ नं. ३ः

बेदप्रसादले श्रीप्रसाद घर्तीसमेतका मानिसलाई बनारसमा लगी विश्वेश्वप्रसाद कोइरालासित परिचय गराई पछिबाट गिरिजाप्रसाद कोइरालाले क्रान्तिको निम्ति श्री ५ को सरकारलाई पल्टाउने उद्देश्यले हतियार दिई पठाएको भन्‍ने बेहोराको बयानबाट राष्ट्रविप्लवको अपराध गर्ने षड्यन्त्र रच्नमा सरिक देखिएको भनी तपाईंंमाथि राजकाज अपराधको अभियोग लागेको मिति २०३१/६/२/४ को प्रहरी प्रतिवेदन थानः १ देखाई–सुनाई तपाईंको तर्फबाट वा पार्टीको तर्फबाट के–कस्तो काम गर्नुभएको थियो भनी सोधनी भएको हकमा सो प्रहरी प्रतिवेदन देखी–सुनी पाएँ । आज बयान गर्न समयले नभ्याउँदा स्थगित गरिएको छ । भोलि बयान गर्न हाजिर हुनेछु ।

जवाफ नं. ४ः

उपयुक्त लिखित बयान मैले भनेअनुसार ठीक छ, झूटो ठहरे कानुनबमोजिम बुझाउँला भनी सही गर्नेः

निज विश्वेश्वरप्रसाद कोइराला... ... ... ... ... ...१

इति संवत् २०३४ जेठ २ गते रोज १ शुभम् ।

जवाफ नं. ५ः

जवाफ नं. ३ मा सोधनी गर्दा देखाइएको मिति २०३१/६/२/४ को प्रहरी प्रतिवेदन आज पनि देखी–सुनी पाएँ । मुद्दाका सह–अभियुक्तहरूले मेरो समक्ष नभनेका कुराहरूको न्यायिक जाँच हुन सक्तैन भन्‍ने लागेकोले यस प्रश्‍नका सम्बन्धमा मलाई केही पनि भन्‍‍नु छैन ।

जवाफ नं. ६ः

अभियुक्त बेदप्रसादले मिति ०३१/५/१२ मा प्रहरीमा र मिति २०३१/६/३ मा अदालतमा गरेको बयान थानः २ समेत देखाउँदा देखी–सुनी पाएँ । यस सम्बन्धमा मुद्दाका सह–अभियुक्तहरूले मेरो समक्ष नभनेको कुराहरूको न्यायिक जाँच हुन सक्तैन भन्‍ने लागेकोले यस प्रश्‍नका सम्बन्धमा मलाई केही पनि भन्‍‍नु छैन ।

जवाफ नं. ७ः

अभियुक्त बेदप्रसाद नेपाली कांग्रेस पार्टीको सदस्य हो वा होइन भनी सोधनी भएको हकमा नेपाली कांग्रेसलाई अवैध घोषित गरिएकोले म त्यस पार्टीका सदस्यहरूको नाम भन्‍न असमर्थ छु । त्यसकारण निज बेदप्रसाद नेपाली कांग्रेस पार्टीका सदस्य हुन् वा होइनन् भन्‍ने पनि म भन्‍न सक्दिनँ ।

जवाफ नं. ८ः

नेपाली कांग्रेस पार्टीको अध्यक्ष तपाईं हुनुहुन्छ वा को हो भनी सोधिएको प्रश्‍नको हकमा म त्यस पार्टीको अध्यक्ष हुँ ।

जवाफ नं. ९ः

अभियुक्त श्रीप्रसाद घर्तीले मिति २०३१/४/११ मा प्रहरीमा र मिति २०३१/६/३ मा अदालतमा गरेको बयान थानः २ समेत देखाउँदा देखी–सुनी पाएँ । त्यस सम्बन्धमा सह–अभियुक्तहरूले मेरो समक्ष नभनेको कुराहरूको न्यायिक जाँच हुन सक्तैन भन्‍ने लागेकोले यस प्रश्‍नका सम्बन्धमा मलाई केही पनि भन्‍‍नु छैन ।

जवाफ नं. १०ः

गिरिजाप्रसाद कोइरालासित चिनापर्ची छ कि भनी सोधनी भएको प्रश्‍नको उत्तरमा निज मेरो सहोदर कान्छो भाइ हो । निज कांग्रेस पार्टीको सदस्य हो वा होइन भन्‍ने प्रश्‍नको सम्बन्धमा म बताउन चाहन्‍नँ ।

जवाफ नं. ११ः

गण्डकी अञ्‍चल, स्याङ्जा जिल्ला, करेनडाँडा बस्‍ने बुद्धिमायाले मिति २०३१/५/७ मा प्रहरीमा र मिति २०३१/६/३ मा अदालतमा गरेको बयानसमेत देखाई सोधनी भएकोमा देखी–सुनी पाएँ । यस प्रश्‍नका सम्बन्धमा पनि मैले माथि उल्लेख गरेको जस्तै मुद्दाका सह–अभियुक्तहरूले मेरोसमक्ष नभनेका कुराहरूको न्यायिक जाँच हुन सक्तैन भन्‍ने लागेकोले मलाई केही पनि भन्‍‍नु छैन ।

जवाफ नं. १२ः

बुद्धिमायाको घरमा बरामद भएका ग्रिनेडसमेतका हतियारहरूबारे प्रहरी प्रतिवेदनमा उल्लेख गरिएको छ । ती हतियारहरू तपाईंंकै पार्टीले पठाएको हो कि भनी सोधनी भएको हकमा त्यसबारे मलाई केही पनि थाहा छैन ।

जवाफ नं. १३ः

तपाईंको नेपाली कांग्रेस पार्टीको उद्देश्य अभियुक्तहरू वेदप्रसाद र श्रीप्रसादले आफ्नोे बयानमा भनेजस्तै पञ्‍चायती व्यवस्था अनुकूलको श्री ५ को सरकार अप्रजातान्त्रिक भएकोले नेपाली कांग्रेस पार्टीको सरकार गठन गर्ने हो वा अरू नै केही हो भनी सोधनी भएको हकमा सह–अभियुक्तले दिएको बयानमा मलाई केही पनि भन्‍‍नु छैन । जहाँसम्म नेपाली कांग्रेसको ध्येयको प्रश्‍न छ, त्यसको सम्बन्धमा वर्तमान पञ्‍चायती व्यवस्था प्रजातान्त्रिक नभएकोले यसको ठाउँमा प्रजातान्त्रिक व्यवस्था कायम गर्ने नेपाली कांग्रेस पार्टीको उद्देश्य हो र नेपाली कांग्रेस अरू पार्टीलाई उपलब्ध नहुने कुनै पनि बढी राजनीतिक अधिकार आफ्नो लागि राख्‍न चाहँदैन ।

जवाफ नं. १४ः

तपाईंंले आफ्नोे उद्देश्य तथा लक्ष्य प्राप्तिका लागि हातहतियार जम्मा गर्ने वा प्रयोग गर्ने के–कस्तो नीति अपनाउनु भएको छ भनी सोधनी भएको हकमा प्रजातान्त्रिक मौलिक अधिकारका लागि २००७ सालको क्रान्तिले स्थापित गरेको क्रान्तिको सिद्धान्तप्रति नेपाली कांग्रेस विश्वास गर्दछ । योभन्दा बढी अहिले अरू केही पनि भन्‍‍नु छैन ।

जवाफ नं. १५ः

आज बयान गर्न समयले नभ्याउँदा यहाँ स्थगित गरिएको ठीक छ र उक्त लिखित बयान मैले भनेअनुसार लेखिएको ठीक छ, झूटो ठहरे सजाय सहुँला–बुझाउँला ।

निज विश्वेश्वरप्रसाद कोइराला... ... ... ... ... ...१

ति संवत् २०३४ जेठ ३ गते रोज २ शुभम् ।

जवाफ नं. १६ः

मेरो हकमा बुझ्‍नुपर्ने केही छैन ।

जवाफ नं. १७ः

उक्त लिखित बयान मैले भनेअनुसार लेखिएको ठीक छ, झूटो ठहरे कानुन बमोजिम बुझाउँला भनी सही गर्नेः

निज विश्वेश्वरप्रसाद कोइराला... ... .... ..... ...१

इति संवत् २०३४ जेठ ४ गते रोज ४ शुभम् ।

१५–१७ मे १९७७ (२–४ जेठ २०३४)

स्रोतः  राष्ट्रिय एकताको निम्ति आह्वान

प्रकाशकः बीपी समाज, काठमाडौं, २०४७

मैले वा नेपाली कांग्रेसले कहिल्यै पनि यस व्यवस्थाको ठाउँमा नेपाली कांग्रेसको सरकार स्थापना गर्ने उद्देश्यले संघर्ष गर्नुपर्छ भनेका छैनौँ । नेपाली कांग्रेस कहिल्यै पनि आफ्नोे पार्टीलाई अरू पार्टीभन्दा बढी कुनै प्रकारको सरकारी वा राजनीतिक अधिकार खोज्दैन । प्रजातन्त्रमा अरू पार्टीलाई जति अधिकार प्राप्त हुन्छ, त्योभन्दा बढी अधिकार नेपाली कांग्रेसले कहिल्यै पनि चाहना गरेको छैन ।

अदालती बयानः ७

कांग्रेस पार्टीको नामबाट भएका कामहरूको नेतृत्वको नैतिक जवाफदेही ममाथि छ 

पञ्‍चायती व्यवस्थाविरुद्ध हतियार उठाई श्री ५ को सरकारलाई पल्टाउने उद्देश्यले हातहतियार लिई मानिसहरू नेपाल भूमिभित्र प्रवेश गरी सगरमाथा अञ्‍चल, ओखलढुङ्गा जिल्ला, तिलपुङ्गमा गोली हानाहान भई मानिससमेत मरेको काण्डसम्बन्धी मुद्दामा विशेष अदालत मुकाम सिंहदरबारका न्यायाधीश श्री जनकमान श्रेष्ठको इजलासमा विश्वेश्वरप्रसाद कोइरालाले गरेको बयानः

जवाफ नं. १ः

मेरो नाम विश्वेश्वरप्रसाद कोइराला, मेरा पिताको नाम स्व. श्री कृष्णप्रसाद कोइराला, मेरो जात कोइराला (ब्राह्मण), उमेर ६३ वर्षको भएँ, पेसा राजनीति र सामाजिक कार्य, वतन मोरङ जिल्ला, विराटनगरमा छ ।

जवाफ नं. २ः

वादी श्री ५ को सरकारविरुद्ध विश्वेश्वरप्रसाद कोइरालासमेत भएको हातहतियार उठाई श्री ५ को सरकार पल्टाउने उद्देश्यले नेपाल सरहदभित्र हतियार घुसे–घुसाएको राजकाजसम्बन्धी मुद्दामा ममाथि पनि अभियोग लागेकोले हाजिर भएको हुँ ।

जवाफ नं. ३ः

‘भारतस्थित अवैध कांग्रेस पार्टीका मुख्य नेता विश्वेश्वरप्रसाद कोइराला हुन् । श्री ५ सरकारको विरुद्ध हात–हतियार उठाई सरकार पल्टाउने, नेपाल अधिराज्यको सार्वभौमसत्तामा खलल पार्ने उद्देश्य उक्त पार्टीको थियो, सोही उद्देश्यका साथ अभियुक्त यज्ञबहादुर थापासमेतका मानिसहरू हात–हतियार लिई नेपालको भूमिभित्र प्रवेश गरेको र मिति २०३१/९/३ मा ओखलढुङ्गाको तिलपुङ्गमा गोली हानाहान भई मानिसहरूसमेत मरेको काण्ड घट्नुमा विश्वेश्वरप्रसाद कोइराला नेपाली कांग्रेस पार्टीको नेता भई पार्टीको तर्फबाट हतियार दिई पठाएको र प्राप्त पुस्तक पत्रिकाबाट समेत विश्वेश्वरप्रसाद कोइराला त्यसमा सरिक भएको देखिएको भनी राजकाजसम्बन्धी मुद्दामा अभियोग लागेको मिति २०३१/११/२४/७ को प्रहरी प्रतिवेदन थानः १ देखाउँदा देखी–सुनी पाएँ । आज बयान गर्न समयले नभ्याउँदा स्थगित गरिएको हो ।

जवाफ नं. ४ः

उपर्युक्त लिखित बयान मैले भनेअनुसार लेखिएको ठीक छ, झूटो ठहरे कानुनबमोजिम बुझाउँला भनी सही गर्नेः

निज विश्वेश्वरप्रसाद कोइराला... .... .... .... ..... १

इति संवत् २०३४ जेष्ठ २ गते रोज १ शुभम् ।

जवाफ नं. ५ः

जवाफ नं. ३ मा ममाथि अभियोग लागेको मिति २०३१/११/१४/७  को प्रहरी प्रतिवेदन थानः १ देखाउँदा आज पनि देखी–सुुनी पाएँ । म नेपाली कांग्रेसको अध्यक्ष हुँ । त्यसो हुनाले कांग्रेस पार्टीको नामबाट भएका कामहरूको नेतृत्वको नैतिक जवाफदेही ममाथि छ । त्यस सम्बन्धमा मलाई अहिले यति नै भन्‍‍नु छ ।

जवाफ नं. ६ः

अभियुक्त कप्तान यज्ञबहादुरले मिति २०३१/१/४/६ मा प्रहरीमा र मिति २०३२/१/१६/३ मा विशेष अदालतमा गरेका बयानका थानहरूसमेत देखी–सुनी पाएँ । सह–अभियुक्तको बयानको सम्बन्धमा मलाई केही पनि भन्‍‍नु छैन ।

जवाफ नं. ७ः

‘नोभेम्बर २६, १९७४ मा फार्बिसगन्जमा नेपाली कांग्रेसको उद्देश्यअनुसार हातहतियार उठाई श्री ५ को सरकारलाई पल्टाउने कार्यक्रम तय भएअनुसार कप्तान यज्ञबहादुरले आफू फौजी कमाण्डर भई र महेश कर्मोचा राजनीतिक अधिकृत भई हतियारसहित विदेशबाट नेपाल भूमिमा प्रवेश गरेका हौँ र ओखलढुङ्गामा सो गोलीकाण्ड भएको हो’ भनी बयानमा साबिती बयान गरेकोले के तपाईंंको नेपाली कांग्रेस पार्टीको हात–हतियार उठाई श्री ५ को सरकारको विरुद्ध लड्ने उद्देश्य रहेको थियो ? र निज कप्तान यज्ञबहादुर थापालाई खटाई पठाएको हो ? भनी सोधनी भएको हकमा सह–अभियुक्तले दिएको बयान सम्बन्धमा मलाई केही भन्‍‍नु छैन । यस प्रश्‍नको सम्बन्धमा मेरो जवाफ लेखाउन बाँकी नै छ र आज समयले नभ्याउँदा यहाँ स्थगित गरिएको ठीक छ ।

जवाफ नं. ८ः
उपर्युक्त लिखित बयान मैले भनेअनुसार लेखिएको ठीक छ, झूटो ठहरे कानुनबमोजिम बुझाउँला भनी सही गर्नेः

निज विश्वेश्वरप्रसाद कोइराला.... .... .... .... ... १

 इति संवत् २०३४ जेठ ३ गते रोज २ शुभम् ।

जवाफ नं. ९ः

जवाफ नं. ७ मा सोधनी भएको प्रश्‍नको हकमा आज पनि देखी–सुनी पाएँ र हिजो बयान गर्न बाँकी भएको जवाफ आज दिँदै छु । जहाँसम्म सह–अभियुक्तले दिएको बयान छ, त्यसका सम्बन्धमा मलाई केही पनि भन्‍‍नु छैन र अरू प्रश्‍नको सम्बन्धमा म निम्‍नलिखित बयान दिन्छुः

मैले जनक्रान्तिको आह्वान गरेको हुँ र विशेष परिस्थिति अर्थात् जनताका तमाम राजनीतिक अधिकार खोसिएको स्थितिमा आफ्नोे मौलिक प्रजातान्त्रिक अधिकार प्राप्त गर्नका लागि र प्रजातान्त्रिक व्यवस्था स्थापना गर्नका लागि जनतासँग क्रान्ति गर्ने अधिकार हुन्छ भन्‍ने कुराको बखत–बखत प्रचार र घोषणा गरेको हुँ । यस्तो अधिकार त्यस्तै जन्मसिद्ध अधिकार (Birth Right) हो, जसरी आत्मरक्षाको अधिकार जन्मसिद्ध अधिकार हो । मानवअधिकारले नै मानिसलाई मानिस हो भन्‍ने स्थापना गर्दछ, बाँचेर मात्र मानिस होइँदैन । उसले आफ्नोे मानवअधिकारका साथ बाँच्नुपर्छ भन्‍ने सिद्धान्तको मैले प्रचार गरेको हुँ । त्यसैले मौलिक प्रजातान्त्रिक अधिकारलाई मानिसको जन्मसिद्ध अधिकार पनि भन्दछन् ।

२००७ सालको क्रान्तिले यस अधिकारको वैधानिक मान्यतालाई स्वीकार गरेको छ । श्री ५ महाराजाधिराजले आफ्नोे शाही घोषणाद्वारा यसलाई स्वीकार गरिबक्सेको छ । साँच्चै भन्‍ने हो भने क्रान्तिको वैधानिकताले नै श्री ५ लाई गद्दीका साथसाथै आफ्नोे वैधानिक अधिकार पनि प्राप्त गरायो । जहाँसम्म ममाथि लगाइएको आरोपको प्रश्‍न छ, त्यसका सम्बन्धमा मलाई बयानमा केवल तीनवटा कुरा भन्‍‍नु छः 

(१) मेरा कुनै पनि कार्यले वा नेपाली कांग्रेसका कुनै कार्यवाहीले नेपालको राष्ट्रियता वा सार्वभौमिकता खलल गर्ने काम भएको छैन । म एक प्रजातन्त्रवादी र राष्ट्रवादी हुँ । श्री ३ मोहनशमशेरका पालामा अर्थात् श्री ५ ज्ञानेन्द्र गद्दीनसिन भएको बखतमा पनि ममाथि राष्ट्रियता र सार्वभौमिकता खलबल्याएको भनी यस्तै आरोप लगाइएको थियो । तिनताकाको व्यवस्थाले त्यस व्यवस्थाका विरोधीहरूलाई अराष्ट्रिय तत्त्व भन्‍ने गरेको थियो र प्रजातन्त्रको संघर्ष र जनक्रान्तिलाई नेपालको ढुङ्गा खल्बल्याउने अर्थात् सार्वभौमिकताविरुद्ध प्रयास गरेको भन्‍ने आरोप प्रजातन्त्रवादीमाथि लगाएको थियो । ठीक त्यही कुरा अहिले हुन थाल्यो । प्रजातन्त्र जसका लागि विष हुन्छ, उसले मात्र प्रजातन्त्रको संघर्षलाई अराष्ट्रिय आन्दोलन भन्दछ ।

(२) अहिलेको व्यवस्था अप्रजातान्त्रिक भएकोले नेपाली कांग्रेस र मैले यस व्यवस्थाको ठाउँमा प्रजातान्त्रिक व्यवस्था स्थापना हुनुपर्छ भनेका हौँ र त्यसका लागि प्रयत्‍न पनि गरेका हौँ । मैले वा नेपाली कांग्रेसले कहिल्यै पनि यस व्यवस्थाको ठाउँमा नेपाली कांग्रेसको सरकार स्थापना गर्ने उद्देश्यले संघर्ष गर्नुपर्छ भनेका छैनौँ । नेपाली कांग्रेस कहिल्यै पनि आफ्नोे पार्टीलाई अरू पार्टीभन्दा बढी कुनै प्रकारको सरकारी वा राजनीतिक अधिकार खोज्दैन । प्रजातन्त्रमा अरू पार्टीलाई जति अधिकार प्राप्त हुन्छ त्योभन्दा बढी अधिकार नेपाली कांग्रेसले कहिले पनि चाहना गरेको छैन ।

(३) यस मुद्दाका तथ्यहरूका सम्बन्धमा वादीले प्रस्तुत मुद्दाको आधार नै स्थापना गर्न नसकेको मलाई लागेकोले र मुद्दामा उल्लेखित तथ्यहरूको यथार्थलाई वादीले प्रमाणित गर्न नसकेकोले मलाई अरू केही भन्‍‍नु छैन ।

जवाफ नं. १०ः

‘अभियुक्त कप्तान यज्ञबहादुर थापा, अभियुक्त महेश कर्मोचा, कप्तान यज्ञबहादुर थापाको बयानमा पोलिएका गिरिजाप्रसाद, भद्रकाली मिश्र र गणेशमान सिंह, के तिनीहरू सबैसित तपाईंको परिचय छ ? र, नेपाली कांग्रेस पार्टीको सदस्य वा के हुन् ?’ भनी सोधनी भएको र कप्तान यज्ञबहादुर थापाको बयानबाट फोटो नं. ५ को फोटोमा टोपी लगाएको व्यक्ति महेश कर्मोचा भनिएको फोटोसमेत देखाई सोधनी भएको हकमा कप्तान यज्ञबहादुरलाई म चिन्दछु, सायद ३–४ पल्ट भेटेको पनि छु । भूतपूर्व सैनिकहरूमाथि अत्याचार भएर सरकारले उनीहरूको घरद्वार नष्ट गरेपछि केही भूतपूर्व सैनिकहरू मसँग भेट्न आएका थिए, कुन साल–महिना हो, त्यसको मलाई याद छैन । तीमध्ये यिनी पनि थिए । यसरी मसँग उनको परिचय भएको हो । उनी नेपाली कांग्रेसको सदस्य हुन् वा होइनन् म केही भन्‍न चाहन्‍नँ ।

महेश कर्मोचालाई म राम्ररी चिन्दिनँ । निज नेपाली कांग्रेसका सदस्य हुन् वा होइनन्, मलाई थाहा छैन । गिरिजाप्रसाद मेरो सहोदर भाइ हो । उनी नेपाली कांग्रेसका सदस्य हुन् वा होइनन्, त्यो भन्‍न चाहन्‍नँ । भद्रकाली मिश्रलाई म २००७ सालदेखि चिन्दछु । उनीसँग अहिले मेरो राजनीतिक मतैक्य छैन । गणेशमानजी मेरो सबैभन्दा पुरानो राजनीतिक सहयोगी अर्थात् २००४ सालदेखिको सहयोगी साथी हुन् । मेरो राजनीतिक सिद्धान्तअनुसार सरकारले अवैध घोषित गरेको नेपाली कांग्रेस पार्टीको सदस्यताको सम्बन्धमा निजको बारेमा केही भन्‍न चाहन्‍नँ ।

जवाफ नं. ११ः

माथि जवाफ नं. ३ मा देखाइएको प्रहरी प्रतिवेदनमा यज्ञबहादुर थापासमेतबाट बरामद भएको बन्दुक, हतियारहरू नेपाली कांग्रेस पार्टीबाट खटाई पठाइएको हो कि भनी सोधनी भएको हकमा जवाफ नं. ९ मा लेखिएको तेस्रो बुँदामा मैले यसको उत्तर दिइसकेको छु । अरू मलाई भन्‍‍नु छैन ।

जवाफ नं. १२ः

मेरो सबुतको हकमा बुझ्‍नुपर्ने केही छैन ।

जवाफ नं. १३ः

उपर्युक्त लिखित बयान मैले भनेअनुसार लेखिएको ठीक छ, झूटो ठहरे कानुन बमोजिम बुझाउँलाः

निज विश्वेश्वरप्रसाद कोइराला... ... ... ... ...१

इति संवत् २०३४ जेष्ठ ४ रोज ३ शुभम् ।

स्रोतः  राष्ट्रिय एकताको निम्ति आह्वान 

प्रकाशकः बीपी समाज, काठमाडौं, २०४७