साहित्य

राष्ट्रिय जनावरको देशमा

राष्ट्रिय जनावरको देशमा 
सूचीकृत छु
राष्ट्रिय जनगणनाको एक आँकडा
एक अराष्ट्रिय मान्छे

अराष्ट्रिय बाजेको नाति
अराष्ट्रिय बाबुको छोरा
डामेर निधारभरि तीनपुस्ते अराष्ट्रियता
खेपिरहेछु
राष्ट्रिय जनावरको एक अराष्ट्रिय मुद्दा

जहाँ केही राजकीय शब्दहरू
छुट्टिएर शब्दको खोपीबाट
बन्दछन् राष्ट्रिय गीत
केही दैविक वाणीहरू खसेर ब्रह्मवाणीबाट
बन्दछन् मुलुकी ऐन
र केही जनावरहरू
निस्किएर धर्मसभाको चेपबाट
गर्छन् मान्छेमाथि रजाइँ 
फहराउँदै एकसाथ
गणतन्त्र दिवसको विजय पताका
र मक्किँदै गरेको पुर्खाको भोटो
खेपिरहेछु
१ सय ६४ वर्ष पुरानो जंगबहादुरको अपराध संहिता

राष्ट्रिय जनावरको देशमा
यसरी खेपिरहेछु एक अराष्ट्रिय मुद्दा 
जहाँ सोधिएका छन् हमेसा एउटै प्रश्‍न–
‘किन भोगिरहेछस् यो संगीन अपराध
जसलाई खुद संविधानले अराष्ट्रिय भनेको छ ?’
उत्तरमा हमेसा मैले भनेको छु– 
‘जोसँग मेरो
खाद्य सम्प्रभुता जोडिएको छ’
फेरि प्रश्‍न–
‘तर यो राज्य–अपराध हो,
तँलाई थाहा छैन ?’
भनेँ– ‘राज्य कुन सिमानाबाट सुरु हुन्छ
मलाई थाहा छैन’
प्रश्‍न–‘कैलेदेखि खा’को होस् ?’
भनेँ– ‘पाँचौं हजार वर्षदेखि’
फेरि प्रश्‍न– ‘कैलेदेखि खा’को होस् ?’
फेरि भनेँ– ‘दसौँ हजार वर्षदेखि’

अन्तिम प्रश्‍नपछि
जब बाँधियो मेरा हात–खुट्टा
झुण्ड्याएर छातीमा राज्यद्रोहको बिल्ला
जब खिचियो मेरो एकथान पूर्णकदा तस्बिर
अचानक लाग्यो
कि गणतन्त्रको यो प्रथम दशक
जसको लागि खुद मैले पनि
फटाएको हुँ, साढे सत्ताइस जोर आयुको तलुवा
मानौँ, ब्युँतिरहेछन् अझै पनि 
राजा महाराजाको अनेक संस्करणहरू त्यहाँ
डुक्रिरहेछन्
जंगबहादुरको सनातन गोठबाट
नयाँ–नयाँ उत्पादन भएर
धर्मयुद्धका नयाँ–नयाँ साँढेहरू
जसले खोसेका छन्
मात्र एक थान आधुनिक ‘हिन्दुस्थाना’ का लागि
हज्जारौँ वर्ष पुरानो मेरो प्राकृतिक न्याय
र, ठोकेका छन् मेरो थाप्लोमा
पुस्तैनी दण्डस्वरूप
गोरुको बाध्यकारी मेक्चन 

अराष्ट्रिय बाजेको नाति
अराष्ट्रिय बाबुको छोरा
बाध्य हुने छैन अब
कुनै पनि प्रश्‍नको उत्तर दिनबाट म
बरु एक अनन्तकालदेखि
चढाएझैँ प्रत्येक पटक
पुर्खाहरूको नाममा
फेरि चढाउनेछु सुप्तुलुङभरि
गोरुको सायाचोक्मा 
र खोज्‍नेछु
साढे सत्ताइस जोर आयुको तलुवामा
फाटेको आफ्नै सम्प्रभुता

राष्ट्रिय जनावरको देशमा
ती तमाम जनावरहरूप्रति
म उत्तिकै उदार बन्न सक्छु
सिवाय एउटा खतरनाक शब्द
जसको कारणले ‘अराष्ट्रिय’ भइरहन
म अभिशप्त छु
म त्यही शब्द खारेज गर्न चाहन्छु । 

*****

मेक्चनः गाई र गोरुको मासु खाए बापत किराँतीहरुले खेप्‍नुपर्ने दण्ड र कर । 

सुप्तुलुङः तीन चुल्हाको किराँती नाम । 

सायाचोक्माः किराँती राई भाषाअनुसार शिर उभ्याउने काम ।


(यो कविता २०७५ वैशाख १ मा अन्नपूर्ण फुर्सदमा प्रकाशित  छ। आजको दिनमा झनै सान्दर्भिक यो कविता कविको अनुमतिले यहाँ पुनःप्रकाशित गरिएको हो - सं.)