साहित्य

महिलाले सीमा नाघेर अघि बढ्नु पर्नेछः गीताञ्जली श्री

हिन्दी लेखिका गीताञ्जली श्रीको उपन्यासले हालै अन्तर्राष्ट्रिय बुकर पुरस्कार हात पारेको छ । हिन्दी भाषामा लेखिएको यो पहिलो पुस्तक हो, जसले बुकर पुरस्कारको सम्मान पायो । उनको उपन्यास ‘रेत समाधि’ को अंग्रेजी अनुवाद चिरपरिचित अनुवादक डेजी रकवेलले ‘टुम अफ स्यान्ड’ नाममा अनुवाद गरेकी छन् । यसमा एक जना बृद्ध महिलाको कथा छ, जो आफ्नो पतिको मृत्युपछि अवसादमा पुग्छिन । सन् १९४७ मा भएको भारत-पाकिस्तान विभाजनको विकराल अवस्थामा उनी अचानक एक दिन पाकिस्तान गएर संघर्ष गर्ने निधो गर्छिन । महिला र आमा हुनुका नाताले उनले के-कस्तो परिस्थितिको सामना गर्नुपर्छ उपन्यासमा त्यसको वर्णन छ । उनै गीताञ्जलीसँग डीडब्ल्युले पुरस्कार, साहित्य र समाजका बारेमा गरेको विशेष कुराकानी ।

‘रेत समाधि’ मा तपाईंले महिला हुनुलाई सधैँ सीमाभित्र बाँधिने अनुभवसँग जोड्नु भएको छ । यसमा तपाईंको मूल आशय के हो ?

शताब्दीयौँदेखि महिलाको जसरी निर्माण गरिएको छ, उनीहरूका लागि कयौँ सीमा र दायराहरू कोरिएका छन् । महिला यस्तो हुनुपर्छ, त्यस्तो हुनुपर्छ भनिएको छ । सीमा र पर्खालहरूले उनीहरूको व्यक्तित्वमा निकै अर्थ राख्छ । तर, म के भन्दैछु भने दायरा र सीमा छन् भने त्यसलाई नाघ्नुले पनि अर्थ राख्छ । महिला हुनुको अर्थ नै सीमामा बाँधिनु हो तर त्यसैले तपाईंलाई त्यो सीमा नाघ्‍न उक्साउने गर्छ र महिलाहरू त्यस्ता सीमा, पर्खालहरू नाघेर अघि पनि बढ्छन् ।

अंग्रेजीमा ‘माई साइलेन्ट मदर’ का नाममा आएको उपन्यासले तपाईंलाई निकै प्रसिद्धि दिलायो । त्यसमा तपाईंले तीन पुस्ताका महिलाको कथा उकेर्नु भएको छ । ‘रेत समाधि’ मा पनि छुट्टा-छुट्टै पुस्ताका महिला र उनीहरूको आपसी सम्बन्धलाई देखाइएको छ । तपाईंलाई यस्ता विषयले किन आकर्षित गर्छन ?

यो संसारमा बसेर मैले बुकर पुरस्कारका विषयमा सोचेकी पनि थिइन । मेरा लागि यो सबै धेरै परको कुरा थियो, मानौँ कुनै अर्कै लोकको कुरा ।

आमाहरू निकै महत्वपूर्ण हुन्छन् । महिला भएकैले म महिलाहरूको जीवनलाई आफ्नै ढंगले बुझ्‍ने गर्छु । त्यस्ता कैयौँ कुराहरू हुन्छन्, जुन तपाईं र तपाईंको वरपरका मानिसका अनुभवबाट फुत्त निस्कन्छन् । तर, तपाईं थप के पनि हेर्नुहोस भने ‘हमारा शहर उस बरस’ भन्‍ने उपन्यासमा मैले हिन्दू, मुसलमानका विषयमा लेखेकी छु । भन्‍नुको अर्थ मेरो कल्पनामा, मेरो अनुभवमा, मेरो जीवनमा जे मलाई महत्वपूर्ण लाग्छ, त्यो लेखनीमा आउने गर्छ ।

आफ्नो उपन्यासका साथ गीताञ्जली श्री । फोटोः इन्डियन एक्सप्रेस

अन्तर्राष्ट्रिय बुकर पुरस्कारका लागि चुनिएपछि कस्तो महशुस भयो ?

म भारतमा बसेर हिन्दी भाषामा काम गर्छु । यो संसारमा बसेर मैले बुकर पुरस्कारका विषयमा सोचेकी पनि थिइन । मेरा लागि यो सबै धेरै परको कुरा थियो, मानौँ कुनै अर्कै लोकको कुरा । जति बेला मैले थाहा पाएँ कि म बुकरको छनोटमा परेकी छु, त्यतिबेला मलाई यसको महत्वबारे पनि थाहा थिएन । त्यति बेला मैले नाम मात्र सुनेकी थिएँ ।

त्यसपछि विभिन्‍न मानिसको फोन आउन थाल्यो र मेरो कामका बारेमा विभिन्‍न पत्र-पत्रिकामा लेख्‍न थालियो । त्यसपछि बल्ल, बिस्तारै थाहा भयो कि यो त ठूलै कुरा रहेछ । जब म ‘सर्ट लिस्ट’मा तानिएँ त्यति बेलासम्म यसका सबै आयाम बारे थाहा पाइसकेकी थिएँ ।

म के भन्दैछु भने दायरा र सीमा छन् भने त्यसलाई नाघ्नुले पनि अर्थ राख्छ । महिला हुनुको अर्थ नै सीमामा बाँधिनु हो तर त्यसैले तपाईंलाई त्यो सीमा नाघ्‍न उक्साउने गर्छ ।

हिजो-आज भारतमा हिन्दी पुस्तकको बजार कस्तो छ ?

समग्रमा मिश्रित खालको छ । यसका साथै तपाईंले के विषय हेक्का राख्नु पर्छ भने हिन्दी बोल्ने ठाउँहरू निकै गरिब छन् । शिक्षाको समस्या छ । पढे-लेखेका मानिस छन् र अनपढ पनि छन् । केरल (पूर्ण साक्षर) जस्ता राज्यसँग तुलना गर्ने हो भने त्यहाँ साहित्यलाई लिएर जस्तो रुझान छ हिन्दी भाषा बोलिने ठाउँहरूमा त्यस्तो विल्कुलै छैन । मानिस पढ्न चाहन्छन र के पनि चाहन्छन् भने उनीहरूले अझै धेरै पढ्न पाउन । तर, पुस्तकालय गएर सबैले पढ्नु सजिलो छैन ।

तपाईंलाई के लाग्छ, बुकर पुरस्कार पाएपछि हिन्दी पुस्तकको बजारलाई यसले केही सहयोग गर्छ ?

जब यस्तो खालको हलचल पैदा हुन्छ, तब तपाईं प्रकाशकको घेरामा तानिनु हुन्छ र प्रकाशक तपाईंको वरपर पनि छरिन पुग्छ । यतिबेला हिन्दी साहित्य जगत त्यस्तो प्रकाशको केन्द्रमा तानिएको छ । बल्ल मानिसलाई थाहा हुन थाल्यो कि हिन्दीमा पनि केही छ । हिन्दीका साथसाथै अन्य क्षेत्रीय भाषाका विषयमा पनि जिज्ञासा त अवश्य नै बढेको हुनुपर्छ ।

यति हुँदाहुँदै पनि के ध्यान दिइनु पर्छ भने लेखनको काम आफैमा निकै शान्त र निजी कृत्य हो । लेखनी त्यसरी नै चलिरहन्छ, जसरी आजसम्म चल्दै आईरहेको छ । भलै त्यो अहिले जति प्रकाशमा आओस वा नआओस ।

(अनुवादः नरेश ज्ञवाली)