कला

रेलको बाटोः एक दारुण दृश्य

गणतन्त्रको धुन र आक्रोशको लय

गीत के हो ? गीत भन्‍ने बित्तिकै सामान्यतया एउटा संवेग हो भन्‍ने बुझिन्छ वा कुनै मनोदशा व्यक्त गर्ने, मन वहलाउने शैली, जसमा वैचारिक पक्ष भन्दा भावनात्मक रूप ज्यादा झल्किन्छ । चाहे त्यो प्रेमको सन्दर्भमा होस वा अन्य कुनै । जहाँ अनेक स्वैर कल्पनाका भावहरु जोडिन्छन ।

तर, अहिलेका गीत यो सीमित अर्थभित्र कैद छैनन् । त्यसको पृष्ठभूमिले कुन सामाजिक वर्ग, कुन समय र व्यवस्था, कुन भाषा र भुगोलको प्रतिनिधित्व गर्छ भन्‍ने कुराको पृथक परिभाषा अब कुनै पनि विधाको वर्गीकृत सृजनाले निर्माण गर्ने बेला आइसकेको छ ।  

रेलको बाटो

रेलको बाटो पुग्दै छ रे, तिमी बस्‍ने सहरैमा
हुम्ला कहिले मोटर आउला, बस्याको छु रहरैमा
ए हजुर, बस्याको छु हेन्र्या रहरैमा

सिटामोलको अभावमा मर्नु पर्ने कोही !
चोट लागे भोक लागे पनि बाँच्‍नुपर्ने रोई हजुर
तुइन चढी स्कुल जान्छन नानीबाबु गाउँमा !
कालो बाटो चिल्ला गाडी होलान तिम्रा ठाउँमा हजुर 
रेलको बाटो

खच्चड मेरा गाडी-मोटरसँगै हिड्ने भिरमा
नुनको भारी पिठिउँमा नाम्लो मेरो शिरमा हजुर
दाउरा घाँस खाली खुट्टा छैनन चप्पल जुत्ता
रातो कार्पेट बिछ्याउछन रे तिमिले टेक्दा उता हजुर
रेलको बाटो पुग्दैछ रे...

सिंहदरबार

जाउँ कहाँ गाउँ छोडि लुक्ने सहर देख्या छैन
ठूलो महल बनाइ बस्ने त्यो नि मेरो रहर होइन
भत्किएको छाप्रोमाथि छाना कहिले होला
साँझ बिहान टन्‍न पेटमा खाना कहिले होला

मलाई सुख्खा रोटी छैन तिम्लाई अनेक व्यन्जन
गाउँ गाउँमा सिंहदरबार आयो अरे भन्छन
गाउँमा बत्ती पुल छैन अभाव चामल नुनको
आश्वासनले मात्रै टार्‍यौ मैले लाको गुनको
राजधानीले बिर्सिएछ मेरा गाउँको बाटो
कि नेपाली हैन र म ! एउटै होइन माटो ?
जाउँ कहाँ

एक छाक टार्न गिट्टी कुट्दै थला परिन प्यारी
हवाईजहाज महङ्गो छ लैजाउँ म क्या गरी
रिन मागौँ त पत्याउँदैनन् के पर्यो विपत्ती
कहिले आउला मेरा गाउँमा डाक्टर र ओखती
एकादेशको कथा जस्तो मेरा गाउँको व्यथा
ढुङ्गे युगमै बाँचिराछु अझै पनि यता हजुर
जाउँ कहाँ

मौलिक स्वरूपमा सुरज पण्डितको गत बर्ष ‘रेलको बाटो’ र हालै सिंहदरबार नामक गीत रिलिज भए । दुईटै गीतका शब्दमा बिल्कुलै सरल र यथार्थपन छ । पश्चिमेली लोक भाकालाई आधुनिक शैलीमा गाउँदा पनि गीतमा उत्तिकै मौलिकताको प्रादुर्भाव छ ।

दुईटै गीतको मूल मर्मले कथा भनिरहेको छ । जुन कथा बिकट हुम्लाको र दार्चुलाको छ । हुम्ला जहाँ हालसम्म राजधानी र प्रदेशसम्म जोड्न उचित मोटर बाटो पुगेको छैन । चरम गरिबीले सर्वसाधारणका लागि जहाज चढ्न पहुँचमा छैन । ग्रामीण स्वास्थ्य समस्या र मोटर बाटोको अभावले गर्दा आफ्नी जहान सुत्केरीले खेप्‍नु परेको पीडा देखाइएको छ ।

गीत रिजिल भइसक्दासम्म हुम्ला मोटर बाटोले त छोयो तर व्यवस्थित र सर्वसाधारणको पहुँचमा भने अझै छैन ।

बिरामी पर्दा डाक्टर र औषधीको अभावले धामी झाँक्रीले झारफुक गर्नुपर्ने रुढिवादी परम्परा आजसम्म भोग्दै आएको विवशताको दारुण दृश्य हो । यस्तै दुःखको कारणले घट्ने यस्तै अन्य दर्दनाक घटनाको मुख्य कारण उसले आफ्नो जन्मजात नियतिलाई मात्र दोष दिदैन । 

बरु यसमा क्रान्ति गरेर फेरिएको राज्य व्यवस्थालाई पनि उत्तिकै जिम्मेवार देख्छ । जसको बदलामा पात्र आफ्नै नियतिमाथि मात्रै सत्तोसराप गर्दैन गीतको घुमाउरो भावमा सत्ताप्रति आक्रोश र असन्तुष्टि  पनि व्यक्त हुन्छ । गीतले दर्शक-श्रोताको मन छुन्छ । शब्द र दृश्यहरूसँगै कठोर हृदयहरू पनि दुख्छन ।

यो गीत रिजिल भइसक्दासम्म हुम्ला मोटर बाटोले त छोयो तर व्यवस्थित र सर्वसाधारणको पहुँचमा भने अझै छैन ।

समाज रूपान्तरणका लागि स्रष्टाले सृजनामार्फत शोषण विरोधी रचनात्मक आन्दोलन र आलोचना गर्ने परम्परा विश्वव्यापी नै हो । सन् १९३६ ताका पउल रोविन्शनले अमेरिकामा ‘ओल्ड म्यान रिभर’ भन्‍ने गीत काला जातिका मानिसमाथि क्रूर शोषण गर्ने गोरा सत्ताको विरोधमा ल्याए । 

गीतले बिम्बात्मक रूपमा दोष मिसिसिपी नदीलाई दिन्छ, तर सिधा आक्षेप त निरंकुश शासन प्रणालीलाई नै लाग्छ । यस्तै भारत र दार्जिलिङमा पनि रचनात्मक आन्दोलन केन्द्रीत कविता, गीतलगायत अन्य धेरै सृजनाहरू भएका छन ।

सिण्डिकेट चेतना

शब्द, बोध र भाषा चिन्तन विशुद्ध आलङ्कारीक भइकन पनि दृष्यले राजनीतिक मुद्दा सांकेतिक रूपमा प्रशस्त छोएका नेपाली बजारमा सम्भवतः पछिल्ला केही सृजनाहरू जनयुद्ध केन्द्रित भएका छन । उदाहरण प्रकाश सपुतका गीत पनि हुन । लामो राजनीतिक आन्दोलनको अभ्यास र सङ्घर्षबाट प्राप्तिबारे नेपाली समाज साँच्चिकै अन्योलता देखिन्छ ।

वास्तवमा गणतन्त्रले के दियो ? वा गणतन्त्रबाट नेपाली जनताले के पाए ? यो प्रश्‍न स्रष्टा र गणतन्त्रवादी दुवै चिन्तनमाथि हो ।

हामी कहाँ अपुरो मूलतः इतिहासमा राज्य विस्तार बाहेकका अन्य कुनै पनि वर्ग सङ्घर्षका क्रान्ति निरङ्कुश स्वभावका होइनन् । आजको व्यवस्थाले निम्त्याएको यो अवस्था त केवल नेतृत्व तहमा आएको वैचारिक स्खलनको परिणाम हो । तर, क्रान्ति नै गलत थियो भन्‍ने होइन । यसले हामीलाई यो अवस्थामा पुर्‍यायो । 

यो भन्दा त्यै ठिक थियो भनेर अबको युवा सर्जकले आफ्ना सृजनामा रुवाइका लहर भर्नु मात्र उपयुक्त देखिदैन । बरु अब ठण्डा मगजले सोच–विचार गरी वैचारिक क्रान्तिको अग्रदस्ता सम्हाल्ने बेला आइएसकेको छ ।

वास्तवमा गणतन्त्रले के दियो ? वा गणतन्त्रबाट नेपाली जनताले के पाए ? यो प्रश्‍न स्रष्टा र गणतन्त्रवादी दुवै चिन्तनमाथि हो । नेपाली समाजमा क्रान्ति पटक-पटक भएका छन । पहिचानका लागि, विकासका लागि र राजनीतिक विरासतका लागि । प्राप्ति भन्‍नु जो वर्ग समुदाय इतिहासको कुनै कालखण्डदेखि सामाजिक, सांस्कृतिक, भौगोलिक र अर्थराजनीतिक उत्पीडनमा थियो । उसको अस्तित्व रक्षाका निम्ति गणतन्त्रको उभारले कति योगदान दियो ? 

ऊ आज आफ्नो पहिचान खोजीको सन्दर्भमा कहाँ छ भन्ने नै मुल प्रश्‍न हो । विकासको बिम्ब भौतिक संरचनामा मात्र देख्‍ने स्रष्टाको वैचारिक सिण्डिकेटमाथि एउटा मूल प्रश्‍न यो पनि हो ।

अर्को प्रश्‍न जो हिजो क्रान्तिको शीर्ष नेतृत्वमा विचारको बन्दुकले सर्वहारा वर्गका निम्ति वर्गविहीन समाज परिकल्पनाको दस्तावेज लेख्यो । आज ऊ चिल्लो कारमा छ, महङ्गो महलमा छ, फ्रेन्चाइज रेस्टुराँमा बौद्धिक बिलासको नाटक गर्छ । र, पनि अझै आफूलाई क्रान्तिकारी सर्वहाराको पङ्क्तिमा नायकत्वको पगरी गुथाउँछ । अब ऊ कुन वर्गमा रह्यो ?   

सर्वहारा कि समान्त ? हुने खाने कि हुँदा खाने ? तर, अफसोस यी प्रश्न सोधे भुल हुनेछ किनकि जवाफमा ऊ कवि कृष्ण पराजुलीकै काव्य शैलीमा भन्नेछः ‘भाइ चुनाव जित्नु अघि त ‘म सर्वहारा’ नै थिए ।’ बिल्कुल सही जवाफ । किनकि यो उसको सत्ता सिण्डिकेटको सोच हो ।