मधेस-थरुहट

सीमा उल्झनमा मधेस

नेपालमा सीमाको सवाल उठ्नेबित्तिकै मधेसले चर्को आवाजमा भारतलाई गाली गर्नुपर्छ भन्‍ने अपेक्षा राखिन्छ । त्यसो त मधेस र भारतका विभिन्‍न समुदायबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध भएकै कारण मधेसले अनेक पीडा सहँदा–सहँदै पनि भारतको खुलेर विरोध गर्न चाहँदैन र सक्दैन पनि । परिणाम– मधेसलाई हरेक अधिकार र क्षेत्रमा शंकाको दृष्टिले हेरिन्छ । 

एकातिर, सीमा सुरक्षालगायत राजनीतिक आन्दोलनमा मधेसी नागरिकले गरेका संघर्षलाई अवमूल्यन गरिन्छ । अर्कोतिर, उनीहरूलाई राष्ट्रघातीको सूचीमा राखिन्छ । त्यसमाथि भारतले निर्माण गरेका भौतिक संरचनाले हरेक वर्षामा मधेस डुबानमा पर्ने गरेको छ । भारतीय सीमाछेउका आफ्ना खेतबारी मिचिँदा स्थानीयले समय–समयमा झडप गर्नुपर्ने अवस्था छ ।

राज्यले नै गर्नुपर्ने सीमा नाकाको सुरक्षा मधेसी नागरिकले गर्नु परेको छ । सीमा सुरक्षाको जिम्मा लिएका प्रहरी प्रशासन भने तस्करसँग कमिसन खाने र मधेसकै नागरिकलाई दमन गर्नमा अग्रसर देखिन्छ । यसबाहेक उनीहरू बेकम्मा देखिन्छन् ।

भारतीय सीमा सुरक्षाबल, भारतीय नागरिक र नेपाली प्रहरी प्रशासनको तेहेरो मारमा पर्दासमेत मधेसका नागरिकले देशका लागि गर्दै आएको कामलाई कहीँ–कतै जस दिइँदैन । बरु अपमान र लान्छना बोक्न बाध्य पारिन्छ । कतिपयले नागरिकता, भेषभुसा, भाषा, धर्म र संस्कृतिको मामिलामा असहिष्णु भएर गाली गर्छन् ।

भारतीय सीमा सुरक्षाबल, भारतीय नागरिक र नेपाली प्रहरी प्रशासनको तेहेरो मारमा पर्दासमेत मधेसका नागरिकले देशका लागि गर्दै आएको कामलाई कहीँ–कतै जस दिइँदैन ।

सदनमै पनि मधेसका नेताहरूले ‘अग्‍निपरीक्षा’ कहिलेसम्म भनेर प्रश्‍न सोध्नु परेको छ । लाग्छ– यदि यो ‘नेभर इन्डिङ गेम’ को रूपमा स्थापित भएमा मधेसका लागि मात्र नभएर देशकै लागि खतरनाक साबित हुन सक्छ । 

मधेसीलाई भारतीय र मधेसलाई भारतसँग जोडिरहने मनोविज्ञान रहेसम्म मधेसीलाई सम्मान र मधेसलाई समृृद्धि प्राप्त हुँदैन भन्‍ने कुरा पहाडभन्दा मधेसका नेता र नागरिक दुवैले बुझ्‍नजरुरी छ । यो मनोविज्ञान तोड्नका लागि नेपाल र भारतबीचको सीमा व्यवस्थापन अति जरुरी देखिन्छ । सीमा व्यवस्थापन गर्दा भारतलाई पनि कम फाइदा हुँदैन । भारतले बारम्बार उठाउँदै आएको सीमा सुरक्षाको सवाल सीमा व्यवस्थापनबाट हल गर्न सजिलो हुन्छ । 

खुला सिमानाकै कारण भारतले आतंकवाद व्यवस्थापनमा कठिनाइ झेल्नु परेको छ । सीमाको सवाल नेपाललाई भन्दा पनि भारतलाई बढी आवश्यक देखिन्छ । खुला सिमानाको गाम्भीर्यलाई बुझेरै भारतले सीमा नजिकैबाट पूर्व–पश्‍चिम बाटो तथा ठूलो नगरको निर्माण गर्दै छ, जसको उद्देश्य सिँचाइ र यातायातसँगै सीमा व्यवस्थापन पनि हुन सक्छ । नहरको निर्माणपश्‍चात् भारतीय क्षेत्रको निश्‍चित ठाउँमा मात्र प्रवेश गर्न पाउनेछन्, जहाँ भारतीय एसएसबीको सुरक्षा जाँच हुनेछ । कालान्तरमा बाहिरी मानिसका लागि पहिचान खुल्ने केही कागज खोजिन सक्छ । यसो गरे दुवैलाई फाइदा हुन्छ । सुरक्षाको सवालमा नियमन केही सहज हुन सक्छ । 

अहिले नेपालमा कुनै सामानको अभाव हुँदा सीमाञ्‍चलका भारतीय शहरबाट सजिलै नेपालमा भन्दा सस्तो मूल्यमा उपभोग गर्न पाएका छन् । उता केही डर आइपर्दा पारि रहेका नातेदारहरूकहाँ शरण लिन पाएका छन् । बिरामी हुँदा उता सुलभ स्वास्थ्योपचार पाएका छन् । आफ्नो गाउँ–समुदायमा विद्यालय नै नभएको नागरिकले भारतीय विद्यालयमा निःशुल्क पढ्न पाएका छन् । त्यस्तैगरी बैंक र वित्तीय संस्था नभएको ठाउँका नागरिकले भारतीय बैंक र वित्तीय संस्थामा आफ्ना दुईचार पैसा जोगाउन पाएका छन् । यता नश्ल फरक रहेकै कारणले वंशज नागरिकता हुँदाहुँदै पनि आफ्नै देशका शहर बजारमा अपमान सहनु परेको छ । उता भारतीय शहर बजारमा गएर काम–दाम कमाएर नेपालका आफ्ना लालाबालालाई पालिरहन बाध्य छन् । यी त खुला सीमाका कारण प्राप्त केही सुविधाका कुरा भए । यदि सीमा नाका बन्द भयो भने यी सुविधाको विकल्प आफ्नै देशमा खोज्‍नुपर्ने बाध्यता आइपर्छ । र, सरकारविरुद्ध आवाज उठ्न थाल्नेछ ।

सीमा व्यवस्थापन हुनेबित्तिकै नागरिकका आधारभूत आवश्यकता नेपाल आफैंले परिपूर्ति गर्नु पर्दछ । मधेसका माग सम्बोधन गर्नुपर्ने नेपाल सरकार आफैँले हो भन्‍ने जिम्मेवार पहलकदमी पनि सुरु हुन सक्छ ।

लडाइँबिना केही प्राप्त हुँदैन भन्‍ने कुरा नेपाली इतिहासले प्रमाणित गरिसकेको छ । गाँस, बास र कपासजस्ता नैसर्गिक अधिकारका लागि मधेसले एक पटक फेरि पनि कडा आन्दोलन गर्नुपर्ने स्थिति नआउला भन्‍न सकिन्‍न । जालझेलका अगाडि संविधानप्रदत्त अधिकार पनि कमजोर भएको अवस्थामा मधेसमा वास्तविक अधिकारको लडाइँ अपरिहार्य छँदै छ ।

सीमा व्यवस्थापन हुनेबित्तिकै नागरिकका आधारभूत आवश्यकता नेपाल आफैंले परिपूर्ति गर्नु पर्दछ । मधेसका माग सम्बोधन गर्नुपर्ने नेपाल सरकार आफैँले हो भन्‍ने जिम्मेवार पहलकदमी पनि सुरु हुन सक्छ । नागरिकको मलखाद, बीउबिजन र विषादी, दैनिक उपभोग्य सामग्री, स्वास्थ्य र शिक्षाको ग्यारेन्टी गर्ने जिम्मा नेपाल सरकारको काँधमै आइपर्छ। 

मधेससँग प्रशस्त उर्वर खेतीयोग्य जमिन छ । सिँचाइ, मलखाद र बीउबिजनको राम्रो प्रबन्ध मिलाउने हो भने खेतीबाटै मधेस समृद्ध हुने प्रशस्त सम्भावना छ, जुन सीमा व्यवस्थापनबाट मात्र सम्भव छ । सीमा व्यवस्थापनबाट कृषिमा आधारित मधेसका साना तथा मझौला उद्योग धन्दाहरूले बाँच्‍ने आधार पाउन सक्दछन् । त्यति मात्रै होइन, मधेसका किसानहरूले आफ्ना उत्पादनको उचित मूल्य प्राप्त गर्न सक्दछन् । सीमा क्षेत्रमा फलँदो आपराधिक क्रियाकलापहरू पनि नियन्त्रण हुन सक्दछन् । 

अर्को कुरा, मधेसका नागरिक तस्करीकै भरमा बाँचून् भन्‍ने नेपाल सरकारको मनसायमा बदलाव आउन सक्छ । मधेसले तस्करीबाट होइन, सरकारी आपूर्तिबाट स–सम्मान जीवन निर्वाह गरोस् भन्‍ने मनसायका साथ सरकारले काम गर्न सक्दछ ।

सीमाको विषयमा मधेसका नागरिकहरूले मात्र चिन्ता लिनु पर्छ भन्‍ने छैन । भारतसँगको खुला सिमानाबाट मधेसभन्दा पनि पहाडका नागरिकले बढी फाइदा लिएका छन् । सीमा व्यवस्थापनबाट न आवतजावत बन्द हुन्छ, न त काम गर्न नै प्रतिबन्ध लाग्छ । बरु नागरिकको श्रमको सम्मान बढ्नुका साथै मधेसका नागरिकहरूले पहिचान र आत्मसम्मान दुवै प्राप्त गर्न सक्दछन् ।