जनस्वास्थ्य

‘यदि समाजवाद कहीँ लागू हुन्छ भने सबभन्दा पहिले स्वास्थ्यमै हुनुपर्छ’

डा अनुप सुवेदी संक्रमण रोग विशेषज्ञ हुन् । अमेरिकामा पहिले इन्टर्नल मेडिसिन र पछि संक्रमणरोग विषयमा विशेषज्ञताको तालिम लिएपछि त्यहीं केही वर्ष काम गरेर फर्केका अनि ह्‍याम्स अस्पतालमा काम गरेका डा सुवेदी हाल कीर्तिपुर हस्पिटलमा कार्यरत छन् । मेडिकल क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव संगालेका सुवेदी अध्ययन, खोज र चिन्तनमा निरन्तर क्रियाशील छन् । जनस्वास्थ्य र सामाजिक मुद्दामा समेत लेख्‍न रुचि राख्‍ने डा अनुप सुवेदीसँग छम गुरुङले गरेको चेतलुङ–वार्ताः

हाल नेपालमा फैलँदो ओमिक्रोनको अवस्था के कस्तो छ ? हामीकहाँ तथ्यांकीय विश्लेषणबाट निर्णय लिने गरिन्छ ? 

एक त नेपालमा तथ्यांक लिने र विश्लेषण गर्ने प्रचलन खासै हुँदैन । त्यसैले हामीले थाहा पनि पाउँदैनौँ । अनि अहिले पछिल्लो समय हाम्रो देशमा कसैले ‘सेरोप्रेभलेन्स’ अध्ययन गरेको छैन । यहाँ करिब ९० प्रतिशत संक्रमित भइसक्यो होला । 

धेरै मान्छेलाई संक्रमित गराउने भए पनि खासै सिकिस्तचाहिँ नबनाउने, अलि हल्का खालको संक्रमण हुने भेरिएन्टको रूपमा देखिएको छ, ओमिक्रोन ।

नयाँ–नयाँ भेरिएन्ट आएकाले समुदायगत रूपमै रोग प्रतिरोधी क्षमता बढ्दै पनि गएको छ । तर, भाइरस अझ बढी संक्रमणशील रूप लिएर मात्र आउन सक्ने स्थिति पनि छ । अबको भाइरस सबैलाई संक्रमण गराउने खालको हुन पनि सक्छ वा निश्‍चित उपसमूह अर्थात् कुनै दीर्घरोग भएका/लामो समयदेखि औषधि खान परिरहेका मान्छेहरूलाई मात्र आक्रमण गर्ने भएर आउन पनि सक्छ । तत्काल जनजीवन नै अस्तव्यस्त गराउने खालको भाइरस आउने सम्भावना अलि कम देख्छु । आए पनि केही वर्ष लाग्‍न सक्छ । एकाध वर्ष यस्तै नयाँ–नयाँ स्वरूपमा परिवर्तन लिएर आउने, केही हप्ता निश्‍चित समूह र क्षेत्रलाई अलि आक्रान्त पार्ने भइरहन सक्छ । हाम्रो रोग प्रतिरोधी क्षमतामा थप सबल हुँदै गएपछि भाइरसबाट अझ कम डराउनु पर्ने स्थितिमा पुगिन्छ कि भन्‍ने आश छ । 

अहिले जुन भेरिएन्टको भाइरस छ, फेरि आउँदा यो अर्को पाराले आउन सक्छ । मुख्य समस्या त के रहेछ भने जनावरसँग मानिसको संसर्ग असाध्यै धेरै भयो । त्यसो त जनावरको प्राकृतिक बासस्थान सबै मानिसले हडप्दै–मास्दै गइरहेका छन् । परिणाम– ती जनावरहरू मान्छेसँग एकदमै घुलमिल भएर बस्‍नुपर्ने स्थितिमा पुगे । एकातिर, जनावरहरूमा भएको भाइरसको जोखिम हामीमा पहिलेभन्दा दिनदिनै बढेर गएको छ । अर्कोतिर, विश्‍वभरि मान्छेहरूको आवतजावत बढी छ ।

पहिले–पहिले पनि इबोलाजस्तो भाइरस पनि फैलिन्थ्यो । त्यस बेला मान्छेको आवतजावत कम हुन्थ्यो, निश्‍चित क्षेत्रमा फैलिन पाउँथ्यो, १०–१५ जना मर्थे र भाइरस हराउँथ्यो । अहिले अवस्था त्यस्तो छैन । एक जना संक्रमित मान्छे मर्नुभन्दा पहिले नै १०/२० वटा देशमा रोग फैलिने स्थिति बनिसकेको छ । ओमिक्रोन आएर सबै संक्रमित भइसकेपछि लड्न सक्ने हुन्छौँ अनि यो अन्तिम भेरिएन्ट हो भन्‍ने ठानिरहेका हुन सक्छन् । तर, विदेशतिर देखिएका आँकडाअनुसार ओमिक्रोन भाइरस विरुद्दको रोग प्रतिरोधी क्षमता अधिकांश मान्छेमा केही महिना वा केही हप्तापछि नै हराउँदो रहेछ भन्‍ने देखिएको छ । यस भेरिएन्टको पनि बीए–१ भन्‍ने भेरिएन्टको पनि उप–भेरिएन्ट बढी फैलिएको थियो । त्यसको पनि अहिले अर्को उप–भेरिएन्ट बीए–२ भन्‍ने छ । यो युरोप–अमेरिकामा बढ्दै छ । नेपालमा त बीए–२ नै प्रमुख ओमिक्रोनको उप–भेरिएन्ट भइसक्यो । बीचमा बीए–१ आएर बीए–२ पनि फैलिसक्यो । अनि कतिपय मान्छेलाई चाहिँ बीए–१ को संक्रमण भइसकेपछि बीए–२ को पनि संक्रमण भइसकेको छ । 

चीनले सजिलै जे खोप दियो, त्यही लिएर आयौँ । जबकि त्यो खोप कत्तिको गुणस्तर छ भन्‍नेमा ध्यानै दिइएन । विशेषगरी पछिल्लो डेल्टा र ओमिक्रोन भेरिएन्टमा त्यस खोपले काम गर्दैन भन्‍ने पर्याप्त संकेतहरू आइसकेका थिए ।

यसो सोच्दा त भर्खर ओमिक्रोन लागिसकेकालाई फेरि नलाग्‍नुपर्ने हो । तर, त्यस्तो पनि देखिरहेको छ । त्यसकारण अझै पनि भाइरस संक्रमण फैलिरहँदा तरुण उमेरका मान्छेहरू त हताहती हुने सम्भावना कम होला । जो परिवारमा बुढाबुढी हुनुहुन्छ, उहाँहरूलाई फेरि जोखिममा पार्ने त हाम्रै व्यवहारका कारणले पनि हो । यसो भन्‍नुको मतलब सधैं डराएर बस्‍नुपर्छ भन्‍न खोजेको होइन । 

पहिलो लहरको कोभिड महामारी र अहिले फैलिरहेको भेरिएन्टको सन्दर्भमा व्यक्ति, समुदाय र राज्यको व्यवहारमा के कति फरक पाउनु भएको छ ? 

नेपालमा फैलिएको पहिलो लहरको कोभिड भाइरस कुन भेरिएन्ट हो भन्‍ने निश्‍चित थिएन । त्यस बखत युरोप अमेरिकामा एउटा भेरिएन्ट फैलिएको थियो । वुहानमा भेटिएभन्दा केही फरक थियो । त्योभन्दा अलि बढी संक्रमणशील भेरिएन्ट त्यहाँ फैलियो । अनि त्यही भेरिएन्ट विश्‍वव्यापी रूपमा फैलिएको थियो । नेपालमा पनि त्यही भेरिएन्ट आएको हो भन्‍ने अनुमान मात्र हो किनभने पहिलो लहरमा यहाँ भाइरससम्बन्धी कुनै पनि अध्ययन भएन । त्यस बेला केही मान्छे सिकिस्तै भए, हताहती भए । त्यसमाथि तत्कालीन समयमा सुरुआती सामना गर्नु पर्दा बढी जोखिम ठानियो । 

खासमा पहिलो लहरको भाइरस पछिल्ला लहरको भेरिएन्टभन्दा अलि कम डरलाग्दो रहेछ । कम संक्रमणशील पनि रहेछ । हुन त वुहानकै हेर्दा भयावह लागेको थियो । तर, त्योभन्दा पछि अल्फा झन् खतरनाक आयो । त्यसपछि डेल्टा  हुँदै अहिले ओमिक्रोनको भेरिएन्ट फैलिरहेछ । त्यो पहिलो लहरमा अस्पतालहरूभित्र आईसीयु र भेन्टिलेटरमै राखिएको भए पनि मृत्यु–दर कम नै थियो । हाम्रो गाउँघरतिर खासै पसेन पनि । भारतमा गएर काम गर्ने संक्रमित मान्छेहरू गाउँघरमा पुग्दा अलि–अलि सर्‍यो । घरघरमै मान्छे बिमारी हुने स्थिति भने आएको थिएन । त्यो धेरै फैलिन सक्ने थिएन र टिकेन पनि । संक्रमणशीलता त्यति कडा थिएन । 

दोस्रो लहरको सुरुमा अल्फा भेरिएन्ट आयो । संभवतः त्यो भेरिएन्ट पनि गाउँघरमा खासै फैलिएन । अल्फाले आक्रान्त पारिरहेकै बेला डेल्टा भन्‍ने भेरिएन्ट आयो । दोस्रो लहरको पूर्वाद्र्धमा अल्फा थियो भने उत्तराद्र्धमा डेल्टा थियो । डेल्टा आएपछि नै हो, घर–घरमा मानिसहरू संक्रमित भए र धेरै मरे पनि । त्यस बेला केही परीक्षण पनि भएन । काठमाडौंमै अक्सिजन र बेड नपाएर थुप्रै मान्छे मरे । हामीले अहिलेसम्म भोेगेको सबभन्दा कठिन समय थियो, त्यो । 

पछि अध्ययनबाट परीक्षण गरिएको भन्दा लगभग बीस–तीस गुणा मान्छेहरू संक्रमित भएका रहेछन् भन्‍ने थाहा भयो । अहिले तेस्रो लहरको ओमिक्रोन बढी संक्रमणशील त देखियो । तर, पहिलो र दोस्रो लहरमा यहाँको करिब असी–नब्बे प्रतिशत मान्छे संक्रमित भइसकेका कारणले भाइरसचाहिँ नयाँ रहेन । हाम्रो शरीरको रोग प्रतिरोधी प्रणालीले त्यस भाइरससँग लड्न सिकिसकेको छ । केही मान्छेले अर्थात् विशेषगरी स्वास्थ्यकर्मीहरूले भ्याक्सिन पनि लगाइसके । त्यसो हुनाले हामी अलि बढी सुरक्षित पनि भयौँ । कसरी र के कारणले सर्छ भन्‍ने पनि बढी थाहा भयो । अर्को कुरा, तयारी पनि भयो र सँगै हामी सचेतपूर्वक बेवास्ता गर्न सक्ने स्थितिमा पनि आइपुग्यौँ ।

यो तेस्रो लहरमा बढी संक्रमणशील भएकाले सबैजसो मान्छे एकचोटि संक्रमित हुने स्थिति आए पनि पहिला नै संक्रमित भइसकेका मान्छे फेरि संक्रमित हुँदा समेत तुलनात्मक रूपमा सिकिस्त हुने निकै कम भएको छ । अहिले पनि दिनको ८/१० जनाको मृत्यु त भइरहेकै छ ।

तर, हरेक लहरमा राज्यले आवश्यक तयारी नै गरेको देखिएन । अघिल्लो लहरबाट सिकेर तयारी गरेको दखिएन । दोस्रो लहर आउँदा हाम्रो सीमा–नाकामा होल्डिङ सेन्टरहरूसहितको बलियो संयन्त्र हुनुपर्दो रहेछ भनियो । अहिले तेस्रो लहर आएर यत्तिका महिना हुँदासमेत त्यो बन्दै बनेन । अहिले पनि गाउँघरमा सबैतिर संक्रमण भइरहेकै छ । संयोगवस, अहिले हामी धेरै हताहती भएका छैनौँ । तर, हताहती कम हुने कुरा पहिले नै त थाहा थिएन नि । तयारी त गर्नैपर्थ्यो नि ! 

आफैं दोहनकारी भूमिकामा छ । जनताबाट स्रोत लिने, कर तिराउने, जनताकै नाममा बजेट आउने अनि त्यसलाई उनीहरूले नै दोहन गर्ने । लक्षित वर्ग या समुदायमा पुग्दै नपुग्‍ने अर्को समस्या छँदै छ ।

अर्को, जनस्वास्थ्य संयन्त्र बलियो बनाउनुपर्छ । उचित नियन्त्रण गर्न सक्ने हुनुपर्छ । खोपको कुरामा पनि चुक्यौँ । चीनले सजिलै जे खोप दियो, त्यही लिएर आयौँ । जबकि त्यो खोप कत्तिको गुणस्तर छ भन्‍नेमा ध्यानै दिइएन । विशेषगरी पछिल्लो डेल्टा र ओमिक्रोन भेरिएन्टमा त्यस खोपले काम गर्दैन भन्‍ने पर्याप्त संकेतहरू आइसकेका थिए । तर, हामीकहाँ त्योभन्दा राम्रो खोप कसरी पुर्‍याउने भन्‍ने केही सोच–विचार गरेको देखिएन । सोझो–सीधा मान्छेको बाहुल्य हुने गाउँघरतिर चाइनिज खोप बाँडियो, जुन खोप सुरुको लहरका लागि मात्र ठीकै थियो । विश्‍व स्वास्थ्य संगठनले मान्यता पनि दिएको थियो । त्यो त पहिलो लहरको आँकडा हेरेर दिइएको थियो । तर, पछि भाइरसको परिस्थिति परिवर्तन भएर नयाँ भेरिएन्ट आइसकेको थियो । त्यति बेला भेरोसिल लगाएका धेरै मान्छे आईसीयुमै मरिरहेका थिए । सहरका टाठा–बाठाले अरु नै खोप लाए । काठमाडौंका, स्वास्थ्य मन्त्रालयका या अलि बुझ्‍नेहरूले एस्ट्राजेनेका, कोभिसिल्ड, जोन्सन, फाइजर, मोडर्ना लगाए ।

सरकारले आफ्नो उत्तरदायित्वपूर्ण व्यवहार जे गर्नुपर्थ्यो, त्यो खासै गरेनन् । राज्य संयन्त्र एकदम निष्फल रह्‍यो । त्यसो त स्वास्थ्य क्षेत्रमा मात्र नभएर राज्य सबैतिर निष्फल नै छन् ।

महामारी होस् या अरु स्वास्थ्य समस्या, त्यसलाई सम्बोधन गर्ने स्वास्थ्य नीति निर्माण गर्दा भुइँ मानिसको कोणबाट नसोची दिँदा स्वास्थ्य क्षेत्रमा थप जटिलता निम्तिएको हो ?

पुँजीवादअन्तर्गत ‘ट्रिकल डाउन इकोनोमिक्स’ ले जसरी अरु क्षेत्रमा प्रभाव पारेको छ, ठ्याक्क त्यस्तै प्रभाव स्वास्थ्य क्षेत्रमा हुँदैन । स्वास्थ्यमा चाहिँ राज्यले आफ्‍नो जिम्मेवारी नलिइदिँदा गडबडी आउने हो । यदि समाजवाद कहीँ लागू हुन्छ भने सबभन्दा पहिले स्वास्थ्यमै हुनुपर्छ । सामान्यतया पुँजीवादी देशमा पनि स्वास्थ्यमा समाजवाद नै हुन्छ । अमेरिकामा समाजवादी कार्यक्रमहरू पनि छन् । अमेरिका नेपालभन्दा स्वास्थ्यमा धेरै समाजवादी छ । चीनभन्दा पनि अमेरिका स्वास्थ्यमा समाजवादी नै देखिन्छ । नेपालमा चाहिँ राज्यले आफ्नो कामै नगर्ने समस्या छ । स्वास्थ्यलाई चाहिँ विनिमय क्षेत्रमा सीमित राखिदियो । कम्पनी खोलेर नाफा गर्न मिल्ने व्यवसाय पो बनाइदियो । अनियन्त्रित लुटको क्षेत्रजस्तो बनाइदियो, स्वास्थ्यलाई । निजी स्वास्थ्य सेवाको पहुँचभन्दा पर रहेका भुइँ–मान्छेहरू त आधारभूत सेवाबाट समेत बञ्‍चित हुँदै छन् । ती अलपत्रै पर्नुपर्ने कहालीलाग्दो परिस्थिति देखा पर्दै छ । यसरी आम मानिस चपेटामा परिरहनु ठूलो विडम्बना हो ।

भाइरसलाई आम मानिसले कसरी बुझ्‍ने होला ? यो कसरी उत्पत्ति हुन्छ ?

पृथ्वीमा एउटै प्राणी नभएको बेला जीवन कसरी प्रारम्भ भयो भन्‍ने नै अनुमानित आधार मात्र छ । त्यसपछि हरेक प्राणीहरू उत्परिवर्तनको क्रममा अरू कुनै प्राणीको पुरानो स्वरूप परिवर्तन भएर नयाँ स्वरूपमा आएको हुन्छ । जस्तो, बाँदरजस्ता देखिने पुर्खाहरू हुँदै अहिलेको दुई खुट्टा टेक्ने मान्छेमा आइपुगेको हो । त्यसमा ‘जेनेटिक’ परिवर्तन छ । वातावरणले गर्दा आएका परिवर्तन पनि छ । 

त्यसैगरी एउटा भाइरस अरू प्राणीमा भएको भाइरसमा केही निश्‍चित परिवर्तन हुँदा पनि परिवर्तन हुन सक्छ । कोरोना भाइरस कहाँ, कसरी र के कारणले परिवर्तन भयो भन्‍ने अहिलेसम्म ठ्याक्कै स्पष्ट छैन । भन्‍नेले कतिले चीनमा ल्याबभित्र परीक्षण गर्दा गडबड भएर आएको पनि भनेका छन् । तर, त्यसको पनि खास प्रमाण छैन । प्रायः यस्ता नयाँ भाइरसहरूका भेरिएन्ट ८/१० वर्षको अन्तरालमा आइरहेका हुन्छन् ।

कोरोना भाइरसकै वर्ग/परिवारका भाइरसहरू विभिन्‍न जनावरमा हुन्छन् । त्यही जनावर या पन्छी आदिको भाइरसमा कुनै परिवर्तन हुन्छ । प्राकृतिक रूपमै पनि परिवर्तन हुन्छ । जस्तो, घामको प्रकाशमा रहेको परावैजनिक किरणले भाइरसको एउटा ‘सेल’ मात्रै परिवर्तन भयो भने पनि असर पार्न सक्छ । 

ती जनावरमा भएका भाइरस मान्छेमा आएर बस्ने वातावरण हुनु पर्‍यो । जंगली जनावरको नजिक मान्छे नजाँदा भाइरस लाग्दैन । तर, थुप्रै जनावरलाई एकै ठाउँमा राख्दा भाइरस मान्छेसम्म आइपुग्छ । चीनका त्यस्ता खाद्य–बजारहरू छन्, जहाँ विशेषगरी जनावरका मासु या धेरै थरीका जिउँदो जनावर बेचिन्छन् । त्यहाँ धेरै थरीका कोरोना भाइरस हुन सक्ने भयो । त्यहीँ दुई तीन थरी जनावरका भाइरसबाट पनि नयाँ गुणसहितको भाइरस बन्‍न सक्ने सम्भावना धेरै हुन्छ । परिवर्तन हुँदा कुनै कारणले मान्छेमा पनि सर्न सक्ने भयो । त्यसरी नै नयाँ भाइरसको जन्म भएर मान्छेको सम्पर्कमा आउँदा सर्न सक्ने भयो ।

‘समाजवादउन्मुख’ हाम्रो राज्य व्यवस्थामा स्वास्थ्य नीतिचाहिँ ‘पुँजीवादउन्मुख’ देखिन्छ ।व्यवस्था र राजनीतिक नेतृत्वबीच तालमेल नहुँदा जनस्वास्थ्यमा के असर पर्ला ? 

चाहे लोकतन्त्रवादी होस् या माक्र्सवादी राजनीतिकर्मी नै किन नहोस्, सबैमा समस्या देखिन्छ । त्यसो त उनीहरूलाई खबरदारी गर्ने मामिलामा हामी जनता पनि अलि निरीह नै छौँ । हामीसँग पैरवी गर्ने क्षमता पनि छैन । नागरिक आन्दोलनसमेत स–सानो कुरामा अल्झिएर बसेका हुन्छन् । तर, ठूल्ठूला विषयचाहिँ भित्रभित्रै धमिराले खाइसकेको हुन्छ । हामी बोक्रे कुरामा धेरै अलमलिएर बसिरहन्छौँ । त्यसकारण मलाई के लाग्छ भने यहाँ सीधै पुँजीवाद लागू भएको भन्दा पनि समाजवाद लागू हुन नसकेको हो । जानी–जानी पुँजीवाद लागू गर्छु भन्‍ने होइन होला । तर, समाजवादी नीति राज्यले लिनै सकेको छैन । हामी जनताले पनि त्यो दाबी गर्न सकेका छैनौँ । जस्तो सरकारले हरेक प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ बेडको अस्पताल बनाउने भन्‍ने घोषणा गर्छ । डाक्टर नहुने तर अस्पतालको भवनचाहिँ ठड्याउने । यसले के हुन्छ ? राज्यले न्यूनतम जिम्मेवारी पनि नलिएपछि समाजवादकै नीतिले पनि केही हुनेवाला छैन । 

प्रमुख कुरा जो–जो राज्यको निकायमा छन्, त्यहाँ पुगेपछि ती सबै शासक बनिदिन्छन् । दोहनकारी भूमिकामा बस्छन् । राज्यलाई  आफ्‍नै  वैयक्तिक हितमा दुरुपयोग गरिन्‍छ । जहाँ पनि ‘डीप स्टेट’ (भित्री सत्ता) हुन्छन् अर्थात् कर्मचारीतन्त्र । सचिव, विभागीय प्रमुखहरू, स्वास्थ्य निकायका नीतिनिर्माताहरूलाई जवाफदेही बनाउनुपर्ने त हामीले चुनी पठाएका राजनीतिक नेतृत्वहरूले हो । तर, राजनीतिक नेतृत्वले नै आफ्नो जिम्मेवारी निभाउनै नसक्नु झन् डरलाग्दो समस्या हो । त्यसो हुनाले यो एउटा वर्गको या क्षेत्रको भाष्यभन्दा पनि ठूलो कुरा हो । 

भित्री सत्ता (कर्मचारीतन्त्र) र बाहिरी सत्ता (राजनीतिक वर्ग) यी दुवैको निकम्मापनले छोडेको रिक्ततालाई ठेकेदारीतन्त्र, विचौलियातन्त्र, दलालहरूले ‘स्पेस’ पाइरहेका छन् ।

स्वास्थ्यमा मात्र नभई अर्थतन्त्रदेखि लिएर शिक्षा, न्याय, प्रहरी–प्रशासन सबैतिर त्यही समस्या छ । एक हिसाबले राज्यचाहिँ आफैं दोहनकारी भूमिकामा छ । जनताबाट स्रोत लिने, कर तिराउने, जनताकै नाममा बजेट आउने अनि त्यसलाई उनीहरूले नै दोहन गर्ने । लक्षित वर्ग या समुदायमा पुग्दै नपुग्‍ने अर्को समस्या छँदै छ । हामीले भोट हालेर दिएको पाँच वर्षले राजनीतिक वर्गलाई केही पनि असर नपर्ने रहेछ । त्यसकारण भित्री सत्ता (कर्मचारीतन्त्र) र बाहिरी सत्ता (राजनीतिक वर्ग) यी दुवैको निकम्मापनले छोडेको रिक्ततालाई ठेकेदारीतन्त्र, विचौलियातन्त्र, दलालहरूले ‘स्पेस’ पाइरहेका छन् ।

भाइरस साक्षरताको स्थिति नेपालमा के छ ? राज्यले यसबारे चालेका कार्य–मूल्यांकन या सचेतनाबारे के भन्‍नुहुन्छ ?

हाम्रोमा समग्र विज्ञान साक्षरता नै एकदमै कमजोर छ । राज्यले नसिकेजस्तै समाजका अरु महत्त्वपूर्ण अंग या अवयवहरूले पनि सिकेको देखिन्‍न । जस्तो व्यापारिक केन्द्र, उद्योग प्रतिष्ठान आदिले जुन पूर्वतयारी गर्नुपर्ने हो र आफ्ना कर्मचारीप्रति जुन उत्तरदायित्व देखाउनुपर्ने हो, त्यसमा एकदम नगण्य जिम्मेवारी मात्रै लिएको देखिन्छ । 

कति देशमा स्वतःस्फूर्त नागरिक समूहबाट गर्नुपर्ने विभिन्‍न कामहरू हुन्छन् । हाम्रोमा खासै हुँदैनन् । अनि एकदमै गलत भाष्य दिने, गलत सूचना दिने, झुक्याउने, दिग्भ्रमित बनाएर सरकारले गरेका राम्रै कामहरूबारे अफवाह फैलाउने गर्छन् । भ्याक्सिन र मास्कजस्ता महत्त्वपूर्ण स्वास्थ्य सामग्रीलाई समेत वाहियात करार गर्ने मान्छेहरूलाई हाम्रो मिडियाले स्थान दियो । सिक्नुपर्ने कुराहरू पनि साह्रै कम सिकेको देखिन्छ । 

कोरोनाकालमा उत्पादित स्वास्थ्य सामग्रीको प्रयोग र विसर्जनको चक्रले के कस्तो पर्यावरणीय असर पारिरहेको छ ? 

यसबारे त नेपालमा कसैले लेखाजोखै गरेको छैन । प्रयोगमा आएको मुख्य सामग्री त मास्क नै होला । त्यसलाई पनि जथाभावी फालिदिने गरेको देख्छौँ । पन्जालगायत सामग्री पनि छन् । विदेशका अनुसन्धानहरूले मास्कले असाध्यै धेरै प्रदूषण बढाएको बताउँछन् । पुनः प्रयोग गर्न मिल्ने सामग्रीहरू पनि थिए । ‘रिसाइकल’ गर्न पनि मिल्थ्यो होला । कुहिने फोहोरलाई व्यवस्थापन गर्न सकिन्थ्यो । यस्ता कुरामा कसैले ध्यानै दिएन । यस्तो महामारीमा पनि कहाँ व्यवस्थापन गर्न सकिन्छ र भनी टार्ने काम भयो । यसले पछि पक्कै समस्या ल्याउनेछ । 

ओमिक्रोनलगायतका भेरिएन्टले दिएको पाठ के हो ? 

मास्क लाउने, अनावश्यक भीडभाड नगर्ने आदि कुराचाहिँ अब जीवनभरि हामीले सिक्नुपर्ने स्वास्थ्य व्यवहारको रूपमा लिनुपर्ने देखिन्छ ।