साप्ताहिक खबर

साप्ताहिक खबर (माघ ९-माघ १५)

चेतलुङले साताका चर्चित समाचारलाई छनोट गरी संक्षिप्‍त रूपमा पाठकसामु पुर्‍याउने जमर्को गरेको छ । यस पटक ९ माघदेखि १५ माघसम्म विभिन्‍न सञ्‍चारमाध्यमले प्रमुखताका साथ प्रकाशन गरेका राजनीतिक, सामाजिक, आर्थिक, अन्तर्राष्ट्रिय, सुशासनसम्बन्धी विविध खबरलाई बुलेटिनका रूपमा यहाँ प्रस्तुत गरिएको छः

राजनीति

जेठभित्र स्थानीय तहको चुनाव गर्न सत्तारुढ गठबन्धन तयार

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आगामी जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने सम्झाउँदै त्यसको दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई दबाव दिइरह्‍यो । यसै साता सत्तारुढ गठबन्धनमा रहेका दलहरू जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न तयार भए ।
 
क्यासिनोको लाइसेन्स गुपचुप बाँड्दै पर्यटनमन्त्री आले

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धमाधम क्यासिनोको इजाजतपत्र (लाइसेन्स) वितरण गर्न थालेको खबर प्रकाशित भयो । प्रस्तावित क्यासिनोको स्थलगत अध्ययनसहित राय दिनुपर्ने कानुनी व्यवस्था भए पनि मन्त्री आलेले गुपचुप रूपमा प्रक्रिया टुंग्याएर लाइसेन्स दिइरहेको बताइयो । 

१० वर्षअगाडि भन्दा २६ लाख ९७ हजार ९ सय ७८ बढी जनसंख्या

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुग्यो । जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार १० वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ बढेको छ । यसैगरी वार्षिक जनसंख्या वृद्धिदर ०.९३ प्रतिशतका दरले घटेको छ  । 

नेपालको नयाँ नक्साअनुसार लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रमा भौतिक उपस्थितिमा जनगणना नगरिए पनि अप्रत्यक्ष प्रविधि प्रयोग गरी त्यहाँको प्रारम्भिक जनसंख्या निकालियो । २०१८ सालको छैटौं राष्ट्रिय जनगणनापछि जनगणना नभएको उक्त क्षेत्रको जनसंख्या करिब ६ सय रहेको बताइन्छ । 

राष्ट्रिय सभा निर्वाचनमा एमालेले जित्यो जम्मा १ सिट

१२ माघ (बुधबार) मा १९ सिटका लागि भएको राष्ट्रिय सभा निर्वाचन सम्पन्‍न भयो, जहाँ १७ सदस्यसहित एमाले पहिलो शक्तिमै कायम छ भने माआवादी १५ सदस्यसहित दोस्रो र कांग्रेस १० सदस्यसहित तेस्रो शक्ति बन्यो । तर, विभाजित एमालले यसपालि भने ७ सिट गुमायो जम्मा एक सिट जित्यो । 

समन्वयविना नै नेपाली भूमिमा निर्माणका काम गर्दै भारत 

भारतले अन्तर्राष्ट्रिय कानुन र आपसी सहमतिबेगर महाकालीको बहाव नेपालतर्फ फर्कने गरी पक्की तटबन्ध बनाउन सुरू गर्‍यो । लिपुलेकमा सडक खनिरहेको भारतले यस मामलामा पनि नेपाली प्रशासनसँग समन्वय नगरेको जिल्ला प्रशासन दार्चुलाले बतायो । 

कर्णालीका मुख्यमन्त्रीको सम्पत्तिः काठमाडौंसहित पाँच ठाउँमा घरजग्गा, झन्डै करोडको कार

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफनो सम्पत्ति विवरण सार्वजनिक गरे, जसअनुसार मुख्यमन्त्री शाहीको काठमाडौँमा घरजग्गादेखि झन्डै करोडको कार रहेको छ ।

मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा उजुरी

५ माघमा रौतहटको गौरमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएको विषयलाई लिएर सप्तरीका कांग्रेस नेता रञ्जित कर्णले हुलाकमार्फत रौतहटमा उजुरी दिए । 

यसअघि आफ्नो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि मन्त्री यादवले विज्ञिप्तमार्फत भविष्यमा सचेत रहने प्रतिबद्धता जनाएकी थिइन् । 

लुम्बिनी गुरुयोजनाविपरीत काम नगर्न स्थानीयको माग

पर्यटनमन्त्री प्रेम आलेको पहलकदमीमा लुम्बिनी गुरुयोजना क्षेत्रको चार बिघा जग्गा कोषले सम्सारा वेलनेस रिसोर्टलाई दिने प्रक्रिया बढाएकोमा सार्वजनिक सूचना नै ननिकाली व्यावसायिक प्रयोजनका लागि व्यक्तिलाई दिन लागिएकामा स्थानीयले विरोध गरे । लुम्बिनी विकास कोष गुरुयोजनाविपरीत काम गर्न नहुने उनीहरूको माग छ । 

स्वास्थ्य

उपचारमा भन्दा लुटमा पल्किएका अस्पतालहरू

कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने र उपचार लागेको खर्च सरकारले दिने गरी सरकार र चितवन मेडिकल कलेजबीच सम्झौता भए पनि विरामीबाट पैसा असुल्ने र सरकारसँग पनि दोहोरो दाबी गर्ने गरेको तथ्य खुल्न आयो । यही गतिविधिमा चितवनकै कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) पनि संलग्‍न रहेको छ । 

चितवनका दुई अस्पतालले मात्रै होइन, देशका अन्य १२ अस्पतालले सरकारसँगको सम्झौताविपरीत बिरामीसँग शुल्क लिएको र सरकारसँग पनि मागेको गुनासा छन् । यी तीनै अस्पताल हुन्, जसले महामारीमा अन्य बिरामीलाई पनि बन्धक बनाएका थिए । काठमाडौंका पिपल्स डेन्टल कलेज एन्ड हस्पिटल प्रालि, केएमसी, नेपाल मेडिकल कलेज, खाङ्ग्री अस्पताल र लर्ड बुद्ध एजुकेसन लिमिटेड यो सूचीमा छन् । त्यस्तै, ललितपुरको किस्ट मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेज, वीरगन्जको नेसनल मेडिकल कलेज, झापाको आम्दा अस्पताल, कञ्चनपुरको इसान मेमोरियल अस्पताल र मकवानपुरको चुरेहिल अस्पताल छन् । काठमाडौं स्वयम्भूको सामुदायिक आइसोलेसन वार्ड निर्माण उपभोक्ता समितिले पनि बिरामीसँग शुल्क लिएर सरकारसँग पनि मागेको गुनासो आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले यी अस्पतालमाथि छानबिन प्रक्रिया सुरु गरिसकेको छ । 

अनुगमनपछि सिटामोल पाइन थाल्यो तर भेरोसेलको बुस्टर डोजको जताततै अभाव

कोभिड तेस्रो लहरसँगै बजारमा अभाव भएको सिटामोल केही सहज बन्दै गएको छ । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड र स्वदेशी उत्पादनकर्ताहरूले उत्पादन बढाएसँगै बजारमा सिटामोल पाइन थालेको छ । सरकारी अनुगमन तीव्र पारिएपछि फार्मेसीले लुकाउन छाडेको पनि बताइन्छ । तर, भेरोसेलको बुस्टर डोज लगाउन चौतर्फी माग भए पनि आपूर्ति नहुँदा समस्या भएको छ । खोप खरिदमा आलटाल गर्दा भेरोसेलको बुस्टर लगाउन योग्य समूह र वृद्धावृद्धाले मात्रै हैन अग्रपंक्तिमा खटिनेले समेत लगाउन पाएका छैनन् ।

सर्वसाधारणलाई पीसीआर शुल्क अझै पनि महँगो, बढेन परीक्षण

दैनिक रूपमा दशौँ हजार संक्रमित भेटिए पनि परीक्षण शुल्क महँगो भएकाले पनि सर्वसाधारणले परीक्षणमा चासो नदिएको र पीसीआर परीक्षण नबढेको खबर प्रकाशित भयो । 

दैनिक पाँच सयभन्दा धेरै बालबालिका संक्रमित

तेस्रो लहरको संक्रमणदर उकालो लागेसँगै ठूलो संख्यामा बालबालिका र वृद्धवृद्धा पनि कोरोनाको चपेटामा पर्न सुरु भए । दैनिक पाँच सयभन्दा बढी बालबालिका संक्रमित हुन थालेका छन् भने वृद्धवृद्धामा पनि कोभिड संक्रमण बढ्दै गएको छ । 

कोभिड खोप प्रयोगको एक वर्ष पूराः लक्षित जनसंख्याको ६९ प्रतिशतले लगाए पूर्ण खोप

नेपालमा कोभिडविरुद्धको खोप कार्यक्रम सुरु भएको एक वर्ष पूरा भएकोमा हालसम्म लक्षित जनसंख्याको ६९.४ प्रतिशतले पूर्ण खोप लगाइसके । 

अर्थ 

नेपाल ‘अति भ्रष्टाचार हुने मुलुक’ को सूचीमै रह्‍यो

भ्रष्टाचारविरुद्ध काम गर्ने अन्तर्राष्ट्र्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसननलको सर्वेक्षणमा नेपालको स्थिति गत वर्षहरूमा जस्तै कमजोर देखियो । 

सर्वेक्षणामा डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्डले ८८ अंक प्राप्त गरी सुशासनको उच्च उदाहरणीय बने भने १८० देशहरू मध्ये नेपाल ३३ अंक प्राप्त गर्दै ११७ औं स्थानमा समेटिएको छ । ५० भन्दा कम अंक पाउने देशलाई अति भ्रष्टाचार हुने देशको सूचीमा राखिन्छ । 

सरकारले नै १० करोडसम्मका लगानीमा स्रोत देखाउनु नपर्ने गरी अनियमिततालाई मलजल गरेको बताइन्छ । 

दूतावासका लागि अमेरिकामा ७७ करोड ३७ लाखको भवन खरिदमा अनियमितता, लेखा समितिले थाल्यो छानबिन

अमेरिकास्थित नेपाली दूतावासका लागि वासिङ्टन डिसीमा साढे ७७ करोडको भवन खरिद गर्दा अनियमितता भएको भन्दै संसद्को सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको खबर नयाँपत्रिकामा प्रकाशित भयो । तत्कालीन केपी ओली नेतृत्वको सरकारले ०७५ वैशाखमा सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत विनाप्रतिस्पर्धा भवन खरिद गरेको थियो । 

संघीय सरकारनै खर्चमा मितव्ययी छैन, महामारीमा अनुदानको खोप कुर्ने, ऋण लिएर गाडी किन्‍ने
गत आर्थिक वर्षमा सवारीसाधन खरिद, मर्मत र इन्धनमा संघीय सरकारले मात्रै ६ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको खबर नयाँपत्रिकाको मूल पृष्ठमा प्रकाशित भयो । कोरोना महामारीकैबीच खर्च कटौतीका नीति कुल्चँदै सरकार र मातहतका कार्यालयले आर्थिक वर्ष ०७७/७८ मा सवारीसाधन खरिद, मर्मत र इन्धन, नवीकरण तथा बिमामा मात्रै ६ अर्ब आठ करोड ५९ लाख रुपैयाँ खर्चिए । खबरअनुसार महामारीमा स्वास्थ्य सामाग्री जुटाउन अनुदान पर्खने सरकारले सात करोड ९२ लाख रुपैयाँ वैदेशिक ऋण लिएरै गाडी किन्यो । 

पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता लिन माग

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्‍यो । 

कृषि

उखुः नगदे बाली, किसानले चिनी मिललाई बिक्री गरेको उखुको ७ करोड ६० लाख रुपैयाँ बक्यौता

पटकपटक ताकेता गर्दा पनि उखु उद्योगीले पैसा नदिएपछि मूख्यतः तराईका उखु किसान लाखौँको ऋणमा डुबेकोबारे कान्तिपुरले विस्तृत खबर छाप्यो । वर्षमा एक बाली लगाउँदा एकै पटक नगद हात पर्ने खेती भन्दै उखुमा आकर्षित किसानहरू विभिन्‍न बहानामा ठगिएका, नगद हात नपरेकाले पटकपटक आन्दोलन गरिरहन पारिएका, बिचौलियालाई सस्तोमा बेच्न बाध्य बनेका र मुल्य वृद्धिका आधारमा किसानले अनुदान नपाएका देखि उखुको मूल्य निर्धारणमा किसानको राय लिने कार्य औपचारिकतामा मात्रै सिमित रहेको लगायत विषय उल्लेख गरियो । किसानले चिनी मिललाई बिक्री गरेको उखुको ७ करोड ६० लाख रुपैयाँ बक्यौता अझै बाँकी रहेको बताइन्छ । 

पेन्सन पाउँदा किसान दंग

बाँकेको नरैनापुर गाउँपालिकाले कृषिमा उत्कृष्ट गरेका किसानलाई मासिक २ हजार पेन्सन दिने नीति माघबाट कार्यान्वयनमा ल्याएको छ ।

पर्यावरण

राज्यलाई छलेर करोडौँको दोहनः पानीको मुहान सुक्यो, सडकमा पहिरो खस्छ

पाल्पाको श्रीडाँडामा १३ वर्षदेखि चुनखानी उत्खनन गर्दै आएको सिद्धार्थ मिनरल्स प्रालिले खानी विभागको निर्देशनसमेत अटेर गरेर अवैध उत्खनन गरिरहेको कुरा सार्वजनिक भयो । मन्त्रीको ‘पावर’ मा एक लाखमै उम्किएको अनधिकृत रूपमा ४९ करोड ४५ लाख ५१ हजार रुपैयाँबराबरको चुनढुंगा उत्खनन गरिसकेको सिद्धार्थ मिनरल्सले शक्तिको आडमा दोहन चालू राखिरह्‍यो । स्थानीयले यो दोहनले जंगल मासिएर पानीको मुहान सुक्ने, सडकमा पहिरो खस्ने जस्ता समस्या निम्त्याएको गुनासो गरे । 

यस प्रकरणमा मुछिएका ९ ठूला व्यवसायी र त्यसलाई अनुमोदन गर्ने ९ सरकारी कर्मचारी (खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित) विरुद्ध भष्टाचार मुद्दा माघ १२ बुधबारका दिन पाँच अर्ब बिगो दाबी गर्दै अख्तियारले विशेष अदालतमा दायर गर्‍यो । 

तर, अधिक दोहन गर्ने चुनढुंगा उद्योगीलाई क्षतिपूर्तिबाट जोगाउन विभागका अधिकारीलाई दबाब दिने तत्कालीन उद्योगमन्त्री लेखराज भट्ट र सचिव यामकुमारी खतिवडा भने कारबाहीबाट जोगिए । 

वैदेशिक रोजगार 

सयौं नेपाली ‘भिजिट भिसा’ मा यूएई पुगेर अलपत्र, अन्तर्राष्ट्रिय उडानमा निगरानी गर्न ‘मार्सल टिम’ परिचालन

द्विदेशीय श्रम सम्झौताविपरीत नेपाली श्रमिकलाई गैरकानुनी रूपमा भिजिट भिसामा यूएई पुर्‍याउने र त्यहाँका कम्पनीका काम लगाउने अभ्यास नेपाली श्रमिक जोखिममा पर्नेदेखि, ठगी, जालसाझी र अमानवीय व्यवहारदेखि मृत्युकै घटनासम्म व्यहोरिरहेका छन् ।

भिजिट भिसामा लैजानेमाथि कारबाही गर्न नेपाल र यूएईका सरकारी अधिकारीहरू असफल रहेको गुनासा भेटिन्छन् । अध्यागमनका कर्मचारीकै ‘सेटिङ’ मा भिजिट भिसामार्फत खाडी र मलेसिया पुगेका सयौँ नेपाली अलपत्र पारिदाँ सेटिङमा संलग्‍न अध्यागमनका कर्मचारी र गिरोहमाथि छानबिन गर्नुको सट्टा गृह मन्त्रालयले ती देशमा भिजिट भिसामा जानै प्रतिबन्ध लगाउने निर्णय गर्‍यो । 

यससँगै मानव तस्करको योजनाअनुसार भिजिट भिसामा जानेलाई सहजीकरण गर्ने अध्यागमनका कर्मचारी र यात्रा गर्ने व्यक्तिमाथि निगरानी गर्न गृह मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रतिनिधि सम्मिलित मार्सल टिम परिचालन पनि यहि साता गरियो ।
 
परदेशको कमाई ‘बाजी’ मा डुब्यो, रेमिट्यान्स घट्यो 

विभिन्‍न मुलुकका फुटबल लिगका खेलहरूमा बाजी लगाउन भन्दै खोलिएका अनलाइन प्लेटफर्ममा लगानी गरेका मलेसियामा कार्यरत नेपाली श्रमिकहरूको करोडौँ डुबेको खबर छ । 

नेपाल भित्रिने मलेसियन रेमिट्यान्स घट्नुमा यिनै अनलाइन सट्टेबाजी, हुन्डीलाई कारण मान्‍न थालिएको छ । 

समाज

५० विघा खेतको लालपुर्जा मात्रै नेपाली

पुस्तौंदेखि भोगचलन गर्दै आएको खेतमा भारतीय पक्षले सीमास्तम्भ सारेपछि धनुषाका ६० परिवारको खेत भारततर्फ परेको र स्थानीयहरू समस्यामा परेको खबर बाहिरियो । हातमा लालपुर्जा भए पनि जग्गा भारतमा परेको स्थानीय बताउँछन् । लालपुर्जामा खेत नेपालीको भए पनि भारतीय प्रहरीले खेतमै स्तम्भ राखिएपछि जोतभोग गर्नबाट बञ्चित बनाइएको र आफ्नै खेतको अनाज काट्दा भारतीय सुरक्षाकर्मीको धम्की र दुव्र्यवहार सहनुपरेको बताइन्छ ।

बर्दीको बलमा नागरिकको ज्यानमाथि खेलबाड गर्ने प्रहरी ‘मेरो साथी?’

बर्दीको बलमा प्रहरीले गर्ने बलजफ्तीले नागरिकको जीवनको अन्त्य मात्र होइन, परिवार नै तहसनहस बनेको बारे सिन्धुपाल्चोकका खड्गबहादुर तामाङको प्रतिनिधि घटनासम्बन्धी खबर प्रकाशित भयो । तामाङ चोरीको आरोपमा पक्राउ परे र हिरासतमै मारिए । शरीरमा नीलडाम देखेको विक्षिप्त परिवारले यातनाको कारण मृत्यु भएको दाबी गरेर पटकपटक किटानी जाहेरी लिएर प्रहरीमा पुगे । तर, प्रहरीले उजुरी लिन नमानेको बताइयो ।

उधारो माग्दा बोक्सी आरोपमा कुटपिट 

सर्लाहीकी ६५ वर्षीया वृद्धा वकिला खातुनले दुकानमा ५० रुपैँया उधारो राखेका छिमेकी ग्राहकसँग उधारो रकम फिर्ता माग्दा बोक्सीको आरोपमा कुटिइन् । छिमेकी पाँच पुरुषले मध्यराति ओछ्यानबाटै थुतेर निर्घात कुटपिट गरे । तर, पीडितको किटानी जाहेरीसमेत लिन अस्वीकार गरेको प्रहरी उल्टै पीडकले दिएको निवेदन तत्काल दर्ता गरेर खातुन र उनका छोराहरूलाई पक्राउ गर्न घरमै पुगेपछि झन् असुरक्षित बनेको खबर प्रकाशित भयो ।

कारबाहीको निर्णय भएपछि बतासले बुझायो पशुपति धर्मशालाको एक करोड भाडा

सरकारले पशुपतिको धर्मशाला बतासलाई दिने निर्णय रद्द गरेसँगै धर्मशालामा होटेल सञ्चालन गरिरहेको होटेल आनन्द प्रालि (बतास समूह) ले झन्डै एक करोड भाडा बुझायो । 

सामाजिक सञ्‍जालमा सताउनेलाई अभद्र व्यवहार कसुरमा कारबाही गरिने 

कसैलाई मानसिक तनाव दिने वा सताउने भिडियो बनाएर युट्युबलगायत सामाजिक सञ्‍जालमा सार्वजनिक गर्नेलाई प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा कारबाही गर्ने भएको छ । 

सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करीका नाममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिनेलाई प्रचलित कानुनअनुसार कारबाही गर्न गृहमन्त्रालयले बिहीबार प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो । कसुरअनुसार कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने छ । 

संघीयता

पहाडे, थारु र दलित मन्त्री शून्य रहेको मधेस प्रदेश, चार वर्षसम्म एक जना महिलाले पनि मन्त्री हुने अवसर पाएनन्

शिलापत्रले संविधानमा व्यवस्था भएबमोजिम समावेशिताको सिद्धान्तको कार्यान्वयन नभएको खबर प्रकाशन गर्‍यो । जसमा प्रस्तुत सामग्रीअनुसार मधेस प्रदेशमा तीनवटा समुदाय दलित, महिला र पहाडी समुदायलाई राज्यका संरचनामा निर्णायक उपस्थिति हुने वातावरणबाट वञ्चित गरिएको छ । यसबाहेक उक्त प्रदेशमा ४ वर्षसम्म पनि महिलाले मन्त्री हुने अवसर नपाएको, प्रदेशको मन्त्रिपरिषद् पहाडे, थारु र दलित मन्त्री शून्य रहेको, राजनीतिक नियुक्ति (प्रदेश लोकसेवा आयोग, प्रदेश नीति तथा योजना आयोगमा पदाधिकारीमा नियुक्ति) पनि असमावेशी रहेको र विशेषतः समावेशिताको मुद्दा उठाउनेकै सरकार असमावेशी रहेको उल्लेख गरियो । 

शिक्षा

निर्देशन नटेर्ने नोबेल मेडिकल र केएमसी

चिकित्सा शिक्षा आयोगले तोकेविपरीत विद्यार्थीबाट चर्को शुल्क लिने र होस्टेल बस्न बाध्यकारी बनाउने नोबेल मेडिकल र केएमसीले आयोगको निर्देशनलाई अटेर गरिरहे । दुवै कलेजका सञ्चालक सुनील शर्माले प्रधानमन्त्री शेरबहादुर देउवासँगको सम्बन्धलाई देखाएर चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालयलगायत कुनै पनि निकायको निर्णय र निर्देशन मानेका छैनन् । 

यता ११ माघमा काठमाडौं विश्वविद्यालयले अतिरिक्त शुल्क बुझाएका विद्यार्थीको रकम उनीहरूकै खातामा फिर्ता गर्ने र बाँकी सबै विद्यार्थीलाई पठनपाठनमा सहभागी गराउन निर्देशन दियो । तर, ती दुई कलेजले तोकेको होस्टेलको महँगो र पूरै शुल्क नतिरेसम्म प्रवेश नदिने अडान कायम राखेको खबर प्रकाशित भयो । 

चर्को शुल्कको विरोधमा नोबेल र केएमसीका विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका थिए ।

१७ हजार शिक्षकको विज्ञापन, दुई लाख बढी आवेदन

शिक्षक सेवा आयोगले विभिन्‍न तहका लागि साढे १७ हजार शिक्षक माग गर्दा दुई लाखभन्दा बढी अर्थात् १२ गुणा बढी आवेदन परेको छ ।

यसैगरी सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि शिक्षक सेवा आयोगले बढुवाको विज्ञापन खुलाएको छ ।

अन्तर्राष्ट्रिय 

नक्कली खोप पासको बिगबिगी भएको युरोप

युरोपभरि नक्कली कोभिड पासको बिगविगी भएपछि स्पेनी प्रहरीले युरोपियन युनियनको नक्कली कोभिड–१९ स्वास्थ्य पास बेचेको आशंकामा विभिन्‍न ठाउँमा छापा हान्‍नेदेखि संलग्‍न समूहलाई पक्राउ गर्‍यो । 

यसरी नक्काली खोप पास बेच्‍नेहरू जर्मनी, फ्रान्स, डेनमार्क, इटाली, पोर्चुगल, ग्रीस, बेल्जियम, स्वीजरल्यान्ड, स्लोभेनिया, रोमानिया, अष्ट्रिया गायतका दर्जनौं देशमा फेला परेपछि प्रहरीले विभिन्‍न ठाउँमा छापा हानेको खबर छ । 

गणतन्त्र दिवसमा भारतको शक्ति प्रदर्शन

भारतले आफ्नो ७३ औं गणतन्त्र दिवसका अवसरमा जनवरी २६ मा सैनिक शक्ति प्रदर्शन गर्‍यो । 
चीन र पाकिस्तानलगायत देशसँगको सम्बन्ध निकै तनावपूर्ण रहेका बेला गरिएको सैन्य शक्ति प्रदर्शनलाई निकै अर्थपूर्ण रूपमा हेरियो । 

खेल

विमलको १ गोलले नेपाल विजयी

विमल घर्ती मगरले गरेको एक मात्र गोलमा नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० ले पराजित गर्‍यो ।