साप्ताहिक खबर

साप्ताहिक खबर (माघ २३-माघ २९)

चेतलुङले साताका चर्चित समाचारलाई छनोट गरी संक्षिप्‍त रूपमा पाठकसामु पुर्‍याउने जमर्को गरेको छ । यस पटक २३ माघदेखि २९ माघसम्म विभिन्‍न सञ्‍चारमाध्यमले प्रमुखताका साथ प्रकाशन गरेका राजनीतिक, सामाजिक, आर्थिक, अन्तर्राष्ट्रिय, सुशासनसम्बन्धी विविध खबरलाई बुलेटिनका रूपमा यहाँ प्रस्तुत गरिएको छः

 

राजनीति

  • ‘हाइलाइट’ मा एमसीसी

गत साताको सुरुमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनका नेतासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गत सेप्टेम्बर २९ मा एमसीसीका अध्यक्षलाई सम्बोधन गर्दै पत्र पठाएकोबारे एमसीसीका प्रमुख कार्यकारी अधिकृत महमुद बाहले जवाफ फर्काउँदै यस सम्झौतालाई निरन्तरता दिनेबारे नेपालको ‘सार्वभौम रोजाइ’ हुने विश्वास गरेको उल्लेख गरेको खबर प्रकाशित भयो । भोलिपल्टै माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि एमसीसीलाई पत्राचार गरेर प्रस्टीकरण दिएको र राष्ट्रिय हित र सरकारको रक्षाका लागि पत्र पठाइएको दाबी गरियो । परिमार्जनविना पारित नगर्ने अडान प्रचण्डले कायमै राखेको बताइयो ।

यसपश्‍चात सत्ता गठबन्धनभित्रको मतभेद र सभामुखको अडानका कारण प्रतिनिधिसभामा टेबल हुन नसकेको सम्झौतामाथि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफल गरिएकोदेखि एमसीसी सम्झौतामा परराष्ट्र बेखबर रहेको खबर पनि प्राथमिकताका साथ प्रकाशित भए । जसमा सम्झौतामा हस्ताक्षर हुँदा बाहेक परराष्ट्र मन्त्रालयलाई कुनै गतिविधिमा सामेल नगराइएको, पत्राचारबारे जानकारी नदिइएको र परराष्ट्रको समन्वयबिना एमसीसी मुख्यालयसँग गरिएका पत्राचारमा कूटनीटिक कमजोरी छताछुल्ल भएको बारे विस्तृतमा छापामा आयो ।

एमसीसीबारे यो साता खबर यत्ति मात्रै छैन ।

अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबार (माघ २७) बिहान नेपालका प्रमुख तीन दलका तीन नेतालाई फोन गरेर सम्झौता फागुन १६ भित्र अनुमोदन गर्न र नगरे नेपाल नीति पुनर्विचार गर्ने चेतावनी दिएको खबरले राजनीतिकदेखि नागरिक वृत्त गर्मायो । प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पालैपालो फोन गरेका अमेरिकी सहायक विदेश मन्त्री लुको चेतावनीले थप ध्रुवीकरण निम्त्याएको अभिव्यक्तिबारे पूर्वपरराष्ट्रमन्त्री र विज्ञहरूमार्फत अमेरिकी चेतावनी अपरिपक्व र अशोभनीय, दलहरूको प्रतिक्रिया मिश्रित प्रतिक्रिया आएको खबर पनि मुख्य बने । एमसीसीबारे अमेरिकी कर्मचारीको यो गतिविधिपछि कांग्रेस र एमालेले सभामुखमाथि दबाब बढाउँदै गरेको खबरसमेत बाहिरियो ।

  • कमल थापा; ‘कसम तोडे, पार्टी छोडे’

२०७६ फागुन २८ मा राप्रपा नेपाल र राप्रपा (प्रजातान्त्रिक) को एकीकरणताका गीता छोएर कसम खाँदै राप्रपा कहिल्यै पनि विभाजन हुन नदिने बताएका तत्कालीन राप्रपा अध्यक्ष कमल थापाले ‘गीताको कसम तोडेको’ कुरालाई चासोका साथ सञ्चारर माध्यमले उठाए ।

गत मंसिर तेस्रो साता भएको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित थापाले एकीकरणको दुई वर्ष नपुग्दै मंगलबार (माघ २५) गृहनगर हेटौंडाबाट पार्टी छाडेको घोषणा गरे ।

अध्यक्ष लिङ्देनलाई दुई पटक पत्र लेख्दै छानबिनको माग गरेका थापाले पूर्वराजाले आफूलाई पिठ्युँमा छुरा हान्ने काम गरेको आरोप लगाए ।

  • विदेशमा बस्ने नेपाली मताधिकारबाट वञ्चित हुँदै

सरकारले ७ सय ५३ स्थानीय तहको निर्वाचन आगामी ३० वैशाखमा एकै चरणमा गर्ने निर्णय गरेको छ ।

देशभर ६ महानगरपालिका, १२ उपमहानगरपालिका, दुई सय ७५ नगरपालिका र चार सय ६० गाउँपालिकामा कुल ६ हजार सात सय ४३ वडा छन् । स्थानीय तहको निर्वाचनमार्फत प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यहरू गरी ३५ हजार दुई सय २१ जनप्रतिनिधि निर्वाचित हुनेछन् । हरेक वडामा अध्यक्ष र चार सदस्य हुन्छन् । आयोगका अनुसार ६ जेठमा ०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिँदै छ ।

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोग र चारवटै सुरक्षा निकायले सरकारसँग ३९ अर्बभन्दा बढी रकम माग गरेका छन् । आयोगले १२ अर्ब तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र राष्ट्रिय अनुसन्धान विभागले २९ अर्ब मागेको अर्थ मन्त्रालयले जनाएको छ । चालू आर्थिक वर्षमा सरकारले बजेटमा निर्वाचन शीर्षकमा १० अर्ब मात्रै विनियोजन गरेको छ । बाँकी रकम अर्थमन्त्रालयले विविध शीर्षकबाट जुटाउने मन्त्रालयले जनाएको छ ।

आयोगले विदेशमा बस्ने नेपालीका लागि मताधिकार वर्तमान कानुनी व्यवस्थाअनुसार बन्दोबस्त गर्न नसकेको बताएको छ ।

अर्थ

  • आयल निगम मूल्य बृद्धिमा सधैँ अग्रसर

एलपी ग्यासलगायत पेट्रोलियम पदार्थको खरिद, बिक्री–वितरण तथा त्यसको नियमनसम्बन्धी दीर्घकालीन रणनीतिक सुधारका सम्बन्धमा ०५२ देखि ०७५ सम्म सरकार र संसद्बाट बनेका १७ वटा अध्ययन कार्यदलले दिएका महत्त्वपूर्ण सुझावहरु नेपाल आयल निगमले कार्यान्वयन नै नगर्ने तर पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिरहने निगमबारे नयाँपत्रिकाको मुख्य पृष्ठमा खबर प्रकाशित भयो ।

समाचारअनुसार मुलुकमा पेट्रोलियम क्षेत्रलाई सुधार गरी उपभोक्तामैत्री बनाउन कार्यदलमार्फत एकैखाले सुझाव दिइए पनि कार्यान्वयन नभएको बताइएको छ ।

  • कोरोना बिमा भुक्तानीको विकल्प दिन समितिलाई अर्थको निर्देशन

 अर्थ मन्त्रालयले बिमा समितिलाई भुक्तानी गर्न बाँकी कोरोना बिमा रकममा कम्पनीहरूले थप दायित्व वहन गर्ने गरी विकल्प पेस गर्न पुनः निर्देशन दिएको छ, जसमा सरकारका तर्फबाट भुक्तान गर्नुपर्ने धेरै भएकाले कम्पनीहरूले पनि केही हिस्सा ब्यहोर्नुपर्ने विकल्पहरू पेस गर्न भनिएको छ ।

स्वास्थ्य

  • कोभिडको संक्रमणदर घटे पनि वृद्धवृद्धा र दीर्घरोगी जोखिममै

कोभिड महामारीमा ओमिक्रोन भेरिएन्ट सक्रिय रहेका बेला यसअघि ५० प्रतिशत नाघेको कोभिड संक्रमणदर १३.८ प्रतिशतमा झरेको तथ्यांक देखिएको छ । यस सँगै आईसीयुमा उपचाररत संक्रमितको संख्या पनि पहिलेका भेरिएन्टको तुलनामा कम रहेको बताइन्छ ।

समाज

  • हत्यारा पहिले पनि जेल परिसकेका

धन आर्जनको चरम महत्त्वाकांक्षाले दुई महिनाको अन्तरालमा आफ्नै ३ सहकर्मीको योजनाबद्ध हत्या गर्ने ललितपुर र मोरङमा अनिलकुमार मण्डल कुनै समय अपराधविरुद्धका अभियन्ता रहेको खबर प्रकाशित भयो । देशलाई नै अपराधमुक्त बनाउने भन्दै मण्डलले ‘क्राइम फ्री सोसाइटी नेपाल’ नामको गैरसरकारी संस्था नै खोलेको र जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरेर चलाएको उक्त संस्थामा केहीलाई रोजगारीसमेत दिएका थिए । खबरअनुसार संस्थामार्फत उनी युवा भेला पार्थे र अपराधमुक्त समाजको पक्षमा जोडदार प्रशिक्षण दिन्थे ।

तर, प्रहरीले उक्त संस्थामा आएको रकम दुरुपयोग गरेपछि मण्डलविरुद्ध ठगी मुद्दामा पक्राउ परेको, काठमाडौँ जिल्ला अदालतबाट अभियोगसमेत प्रमाणित भएको र अदालतले मण्डलविरुद्ध आठ लाख रुपैयाँ धरौटी रकम मागेकामा धरौटीबापतको रकम तिर्न नसक्दा मण्डल जेल जानुपरेको लगायत बताएको छ । केही दिन नख्खु कारागार बसेका मण्डल पछि धरौटी रकम बुझाएर छुटेपछि जग्गा दलालीमा लागेको प्रहरी बताउँछ ।
जग्गा दलालीकै क्रममा मण्डललले तीनजनाको हत्या गरे ।

वैदेशिक रोजगार

  • मिल्ला त एक साताभित्र ई–पासपोर्ट ?

परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले काठमाडाँै मात्रै नभएर पूर्व–पश्चिम राजमार्गले छोएका र आसपासका जिल्लाबाट एक साताभित्रमा नागरिकलाई ई–पासपोर्ट (विद्युतीय राहदानी) दिने गरी विभागले गृहकार्य थालेको बताइएको छ ।

विभागका अनुसार देश–विदेशमा रहेका नेपाली नागरिकबाट दैनिक २ हजारदेखि २५ सयसम्म राहदानीको माग छ । तर, अहिले दैनिक एक हजार ई–पासपोर्ट छपाइ भइरहेको छ । अब देश–विदेशका ४३ स्थानबाट पासपोर्टको आवेदन र वितरण हुने भएकाले दबाब घट्दै गएको र समस्या चाँडै समाधान हुने कुरा विभागीय स्रोतले जनाएको छ ।

  • कोरियामा नेपाली श्रमिकलाई रोक

कोरोना भाइरसको संक्रमण दर तीव्र रूपले बढ्न थालेपछि कोरिया सरकारले नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ ।
रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली श्रमिक लामो समयदेखि रोकिएकामा सरकारले पहल गरेर नियमित रूपमा जाने व्यवस्था गरेको थियो ।

पर्यावरण

  • हिउँ पग्लिने गति ८० गुणा बढी

विज्ञहरूको एक अध्ययनले सगरमाथाको दक्षिणको लग्लेसियर (८०२० मिटर) र आसपासको हिमनदीमा करिब दुई हजार वर्षको अवधिमा जम्मा भएको हिउँ २५ वर्षमै पग्लिएको र द्रुत गतिमा हिउँ पग्लिनुको कारण तापक्रम वृद्धि र मानवीय गतिविधि रहेको देखाएको छ ।
अध्ययनमा अमेरिकाको युनिभर्सिटी अफ मेनअन्तर्गतको क्लाइमेट चेन्ज इन्स्टिच्युटका वैज्ञानिक सहभागी थिए ।

उक्त हिमनदीमा पहिला हिउँ जम्न लागेको समयभन्दा पग्लिने गति ८० गुणा बढी छ ।


कृषि

  • दूधको मूल्य वृद्धि

सरकारले कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढायो । तर, दुग्ध विकास संस्थानले उपभोक्ता मूल्य भने १४ रुपैयाँसम्म वृद्धि गरेको छ । यो नयाँ मूल्य शुक्रबारदेखि लागू भएको छ ।

माघ १७ को मन्त्रिपरिषद् बैठकले ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफका आधारमा कच्चा दूधको मूल्य ५६ रुपैयाँ ४ पैसा निर्धारण गरेको थियो । कच्चा दूधको मूल्य बढेसँगै डेरी उद्योगीहरूले उपभोक्ता मूल्य बढाउन दबाब दिएका थिए ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले दूधको मूल्यवृद्धिले उपभोक्ता मारमा परिरहेको, बढेको मूल्य किसानले नपाउने तर उपभोक्ता मूल्य अचाक्ली बढाउने गरिएको, बढेको मूल्य वास्तविक किसानसम्म नपुग्ने दाबी गरे ।

अन्तर्राष्ट्रिय

  • रहिनन् लता !

भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार (६ फेब्रसअरी) निधन भयो । उनको निधनमा भारत सरकारले दुई दिने राष्ट्रिय शोकको घोषणा गर्‍यो ।

सन् १९४३ मा १३ वर्षको उमेरमा पहिलो गीत रेकर्ड गराएकी मंगेशकरले जीवनकालभरि ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएको बताइन्छ ।

  • कलेजमा धार्मिक पोसाक रोक्न आदेश

भारतीय राज्य कर्नाटकको उच्च अदालतले स्कुल तथा कलेजमा कुनै पनि धार्मिक कपडा लगाउन रोक लगाएको छ । स्कुल कलेजमा मुस्लिम समुदायका छात्राले लगाउने हिजाब प्रतिबन्ध गरिएपछि यसविरुद्ध परेको रिटको सुनुवाइ गर्दै तीन न्यायाधीशको इजलासले अन्तिम निर्णय नआएसम्म त्यस्तो कपडा नलगाउन आदेश गरेको हो । कर्नाटकमा हिजाब र भगवा सलको विषयलाई लिएर विवाद चर्किएको छ ।

  • हवाई बम आक्रमण हुन सक्ने चेतावनी

अमेरिकाले आफ्ना नागरिकलाई ४८ घण्टाभित्र युक्रेन छाड्न आग्रह गरेको छ । ह्वाइट हाउसले रुसी सैन्य बल बलले युक्रेनमाथि आक्रमण गर्न र युद्धका लागि तयारी अवस्थामा रहेको बताउँदै हवाइ बम आक्रमण सुरु हुन सक्ने भएकाले त्यहाँबाट निस्कन कठिन हुन सक्ने चेतावनीसमेत दिएको छ ।

तर, रुसले भने आक्रमणको योजना अस्वीकार गर्दै आएको छ । यद्यपि उसले युक्रेनसँगको सीमा नजिकै एक लाखभन्दा बढी सेना तैनाथ गरेको छ । यसैबीच बेलायत, क्यानडा, नेदरल्यान्ड्स, लात्भिया, जापान र दक्षिण कोरियाले पनि आफ्ना नागरिकलाई युक्रेन छाड्न आग्रह गरेका छन् ।