साप्ताहिक खबर

साप्ताहिक खबर (फाल्गुन ८-फाल्गुन १४)

चेतलुङले साताका चर्चित समाचारलाई छनोट गरी संक्षिप्‍त रूपमा पाठकसामु पुर्‍याउने जमर्को गरेको छ । यस पटक ८ फाल्गुनदेखि १४ फाल्गुनसम्म विभिन्‍न सञ्‍चारमाध्यमले प्रमुखताका साथ प्रकाशन गरेका राजनीतिक, सामाजिक, आर्थिक, अन्तर्राष्ट्रिय, सुशासनसम्बन्धी विविध खबरलाई बुलेटिनका रूपमा यहाँ प्रस्तुत गरिएको छः

 

राजनीति

  • एमसीसी सम्झौता दर्ता भएको १ हजार ६८२ दिनमा टेबल

बितेको साता पनि एमसीसीसम्बन्धित खबरलाई अधिकांश समाचार माध्यमले प्राथमिकता दिएर प्रकाशन तथा प्रसारण गरे । छापातर्फ साताको सुरूमा "गठबन्धन भत्किने भयले सहमति", "एमसिसी टेबुल हुने निश्‍‍चित, अनुमोदन अनिश्‍‍चित", "माओवादी र समाजवादीको दोहोरो नीति बालुवाटारमा सहमति, बानेश्‍वरमा विमति", "महाकाली सन्धिको झझल्को दिँदै एमसिसी", "एमसीसीमा सघाउन ओलीलाई देउवाको आग्रह" जस्ता शीर्षकमा खबर प्रकाशित भए । यसैगरी साताको मध्यतिर "एमाले सहभागी नभए एमसीसी अनुमोदन अन्योलमा", "प्रधानमन्त्रीलाई ओलीको वचन– एमसिसी फेलैचाहिँ हुन दिइन्न", "अमेरिकी अनुदानमा चिनियाँ चासो बढ्दो", देउवा, प्रचण्ड र नेपालको निर्णायक कसरत : गठबन्धन जोगाउने र मध्यमार्गी विकल्पमा एमसिसी टुंग्याउने " जस्ता शीर्षकमा प्रमुख पृष्ठमा खबर छापिए ।

सडक र सदनमा विरोधका बीच नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सम्झौता संघीय संसद् सचिवालय, प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता भएको १ हजार ६८२ दिनपछि आइतबार (फागुन ८)  बैठकमा प्रस्तुत भएपश्‍चात् साताको अन्त्यतिर गठबन्धन र एमसीसी बचाउन प्रमुख दलहरूले नयाँ प्रस्ताव अघि सारेको खबर छापियो, जसअनुसार सम्झौताबारे ‘व्याख्यात्मक घोषणा’ गरेर संसद्‍बाट अनुमोदन गर्ने वा माओवादी र समाजवादी अनुपस्थित हुने विकल्पमा छलफल भयो । कान्तिपुरमा उल्लेख गरिएका अधिवक्ता गोविन्द बन्दीका अनुसार ‘कुनै पनि सन्धिको पक्षराष्ट्रले अनुमोदन गर्दा व्याख्यात्मक घोषणा गर्न सक्ने अन्तर्राष्ट्रिय अभ्यास छ । नेपालको सन्धि सम्पन्न गर्ने निर्देशिका २०७७ मा पनि यस्तो व्यवस्था छ,’ बन्दीले थप भनेका छन् ‘हामीले एमसीसी सम्झौतासम्बन्धी प्रश्‍न र विवादमा त्यस्तै व्याख्यात्मक घोषणा संसद्‍बाट पास गर्न सक्छौं ।’

साताभरि कांग्रेससँग सहकार्य गर्ने ‘अवसर’ कसले पाउने भन्नेमा वामपन्थीहरुबीच प्रतिस्पर्धा पनि उत्तिकै चालु रहेका बेला नागरिकदेखि विविध दलीय संगठनले एमसीसीको विरोधमा सडकमा प्रदर्शन जारी राखेका छन् ।

  • 'लिभिङ टुगेदर' बारे कानुन बनाउन सुझाव

नेपालमा लिभिङ टुगेदरको समस्या बढ्दै गएको भन्दै त्यसलाई सम्बोधन गर्ने गरी 'लिभिङ टुगेदर' बारे कानुनी व्यवस्था गर्न  प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा विज्ञहरूले सुझाव दिए । जसअनुसार समितिको बैठकमा उपस्थितले लिभिङ टुगेदर भइरहेकोमा त्यसलाई अपराधीकरण गर्ने रियलाइज गरिएन भने बढ्दै जाने र फेरि महिलाहरू नै बढी पीडित हुँदै जाने सम्भावना देखिँदै गएकाले यसबारे स्पष्ट ऐन बनाएमा सहज हुने बताए ।

न्यायालय

  • भ्रष्टाचार मुद्दा चलाउन नसक्ने फैसला

बालुवाटार जग्गा हिनामिनासम्बन्धी घोटालामा भ्रष्टाचार मुद्दा खेपेका जिल्ला न्यायाधीश विनोदकुमार गौतमले दायर गरेको रिटमा सर्वाेच्चले फैसला सुनाएको खबर प्रकाशित गर्‍यो । जसअनुसार सर्वोच्चले कर्मचारी हुँदा भ्रष्टाचारमा संलग्न भएको व्यक्ति न्यायाधीश नियुक्ति भएमा निजविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाउन नसक्ने फैसला गरेको छ । बहालवाला न्यायाधीशलाई अख्तियारले मुद्दा चलाउनुलाई स्वतन्त्र न्यायपालिकाको सिद्धान्तविपरीत भएको भन्दै सर्वाेच्चले उनीविरुद्धको मुद्दा खारेज गरेको हो ।

समाज

  • ६३ वर्षका वृद्धले १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरे

मोरङको लेटाङमा ६३ वर्षीय वृद्धद्वारा १२ वर्षीया बालिका करुणा राईको बलात्कारपछि हत्या भयो । शुक्रबार (फागुन १३) का दिन स्थानीय लालहिरा सामुदायिक वन क्षेत्रमा खाल्डो खनेर गाडेको अवस्थामा प्रहरीले उक्त बालिकाको शव फेला पार्‍यो  ।

बालिकाका छिमेकी दीपक गिरीले बलात्कारपछि अपराध लुकाउन हत्या गरेको र उनको शरीरका लुगा खोलेर घरनजिकै जलाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

  • बतासको पक्षमा दिइएको अल्पकालीन अन्तरिम आदेश खारेज

पशुपतिनाथको दर्शन गर्न आउनेहरूलाई लक्षित गर्दै भारत सरकारको करिब ४० करोड रुपैयाँ सहयोगमा तिलगंगामा निर्मित ‘नेपाल भारत मैत्री पशुपति धर्मशाला’ को ठेक्का बतास समूहलाई कानुन छलेर दिएको पाइएपछि कोषले बतास समूहलाई ३० दिने स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणपत्र दिइएको विषयमा बतास समूह अवरोध सिर्जना भएको भन्दै अदालत पुगेको थियो । बतास समूहको पक्षमा उच्च अदालत पाटनले ९ दिनअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेश सोमबार (फागुन ९) खारेज भएको छ ।

  • महिनावारी हुँदा  शिक्षिकालाई विद्यालयमा निषेध

अन्धविश्‍वास र असामाजिक मान्यताहरू तोड्न बालबालिकालाई शिक्षित गराइने विद्यालयमा नै शिक्षिकालाई महिनावारी हुँदा निषेध गर्ने गरिएको बारे खबर प्रकाशित भयो । जसअनुसार बडिमालिका नगरपालिका– ८ रतुडास्थित जनप्रकाश आधारभूत विद्यालयमा अध्यापन गर्ने शिक्षिकाले छाउ (महिनावारी) हुँदा विद्यालय प्रवेश गर्न नपाएको बताइएको छ ।

अर्थ

आयात तीव्र रूपमा बढेपछि महिनामा व्यापार घाटा १० खर्ब

चालु आर्थिक वर्षका ७ महिनामा व्यापार घाटा १० खर्ब रुपैयाँ नाघेको भन्सार विभागमार्फत सार्वजनिक भएको विवरणले देखाएको छ । जसअनुसार आयात हुने वस्तुमा पहिलो नम्बरमा डिजेल दोस्रो नम्बरमा भटमास तेल र तेस्रो नम्बरमा ३४ अर्ब ६९ करोड रुपैयाँको खाना पकाउने एलपी ग्यासको आयात भएको रहेको विभागको तथ्यांक छ  भने ७ महिनामा २६ अर्ब ८५ करोडको कोभिडविरूद्धको खोप आयात भएको छ । कृषिजन्य वस्तुको आयात बढ्दा व्यापार घाटा उच्च देखिएको जानकारहरू बताउँछन् ।

स्वास्थ्य

  • राज्यलाई ठग्ने अस्पतालहरूलाई उन्मुक्ति दिने स्वास्थ्य मन्त्रालयको तयारी

कोरोना महामारीमा बिरामीको निःशुल्क उपचार गरेको भन्दै राज्यलाई ठगी गर्ने निजी अस्पतालहरूलाई कारबाही गर्नुको साटो स्वास्थ्य मन्त्रालयले उन्मुक्ति दिने तयारी गरेको खबर यस साता नयाँपत्रिकाको मुल पृष्ठमा छापियो । जसअनुसार अख्तियारबाट अनुसन्धान गराएर कारबाही गर्नुपर्ने अस्पताललाई बिल भुक्तानी गरेर स–सम्मान उन्मुक्ति दिन स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा रमेश ढकाल नै सक्रिय भएका छन् ।

अन्तराष्ट्रिय

  • युक्रेनमा रुसको आक्रमण : नेपालको विरोध, नेपालीहरू सरकार पर्खदैँ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार (फेब्रुअरी २४) बिहान युक्रेनविरुद्ध अपरेसन गर्न आदेश दिएसँगै युक्रेन रुसी सेनाको बम आक्रमणमा पर्यो । सार्वभौम मुलुक युक्रेनविरुद्ध भएको रुसी आक्रमणप्रति अन्तर्राष्ट्रिय समुदायले निन्दा गरिरहेका छन् । नेपालले पनि सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोग गलत भएको भन्दै युक्रेनमाथि रुसी आक्रमणको विरोध गर्‍यो । युक्रेनमाथि रुसले थालेको सैन्य कारबाहीको विरोधमा विभिन्न मुलुकमा विरोध प्रदर्शन भइरहेका छन् । अमेरिका र युरोपेली मुलुकले रुसी कदमको कडा आलोचना गर्दै विभिन्न प्रतिबन्धको घोषणा नै गरिसकेका छन् ।

बमबारी र क्षेप्यास्त्र प्रहारभइरहेको युक्रेनबाट भारतले आफ्ना नागरिक उद्धारको तयारी गरिरहँदा नेपाल भने अलमलमै रहेको र कुनै ठोस निर्णय नलिएको खबर प्रकाशित भएको छ ।

खेल

  • नेपाल विश्‍वकपमा छनोट हुन असफल

नेपाल मंगलबार (माघ १०) ट्वान्टी–२० विश्‍वकप छनोटको सेमिफाइनलमा यूएईविरूद्ध ६८ रनले पराजित भएसँगैं दोस्रो पटक ट्वान्टी–२० विश्‍वकपमा पुग्ने मौका गुमेको छ यसै वर्ष अस्ट्रेलियामा ट्वान्टी–ट्वान्टी विश्‍वकप हुँदैछ ।