महिला

आधी आकाश चाहनेहरूले

'आइमाई केटाकेटी' कति मायालु कति न्यानो सम्बोधन यसै हलुका किसिमले सोच्दा । 'आइमाई केटाकेटी' यसरी एक्लै-दुक्लै हिँड्न हुन्‍न...' कति सुरक्षाको अँगालोले बाँधिएको सम्बोधन यसरी नै हलुका किसिमले सोच्दा । आइमाई केटाकेटी भएर बढ्ता हाँस्‍न बोल्न हुन्‍न' कति अपमानजनक सम्बोधन अझ गहिरिएर सोच्दा ।

'आइमाई केटाकेटी भएर बढ्ता जान्‍ने हुनुहुन्‍न' कति दमनकारी सम्बोधन गहिरिएर सोच्दा । यो 'आइमाई केटाकेटी' भन्‍ने शब्ददेखि नै घृणा भएर आउँछ मलाई । सुन्दा मायालु बुझिने यस सम्बोधनमा कति हीनता, कति अपहेलना, कति शोषण र कति अपमान लुकेको छ ।

सृष्टिको आदिकालदेखि नै वात्सल्य र ममताको गुणले सुसज्जित नारी जातिमा शारीरिक मानसिक अजस्र शक्तिको स्रोत लुकेको छ । यिनै नारी जातिको गुण र क्षमताले आदिम मानव समाजको ढाँचाकाँचा तयार भएको तथ्य इतिहासले बताउँछ ।

समाज पितृसत्तात्मकतातर्फ उन्मुख हुनथालेपछि पुरुषहरूले नारी जातिलाई बिस्तारै घरभित्र बज्यार्दै ल्याए र 'शक्तिहीन र क्षमताहीन छस्' भनी बिस्तारै हेप्दै , शोषण गर्दै ल्याए । नारी जाति क्रमशः परास्त हुँदै आए अन्धविश्‍वास रूढि र संस्कारहरूमा साँघुरो भएर अस्तित्व धान्दै आए आत्मविश्‍वासहरू चिहान पार्दै आए ।

आज विश्‍वभरि नै नारी जाति कतै पूँजीवादीका हत्केलामा छन् भने कतै सामन्तवादको पैतालामुनि । लाखौँ वर्षको शोषणले यस शक्तिशाली र क्षमताशील स्त्रीलिंगलाई मनोवैज्ञानिक रूपले परास्त हुन बाध्य तुल्याए कि हामी साँच्चै शक्तिहीन लिंग हौ भनी सोच्‍न बाध्य तुल्याए तर सत्य यसको ठीक उल्टो छ ।

वैज्ञानिकरूपमा समाज यति अघि बढिसक्दा पनि समाजका एकथरि मिचाहा पुरुषवर्गले नारी जातिलाई सधैँ अपमान गरेको छ र सधैँ यस्ता भनाइहरू फैलाइदिएको छ । जसले नारी जातिलाई आफ्नो शक्तिबोध र अस्मिताबोध हुनदेखि वञ्‍चित राख्छन् ।

वैज्ञानिकरूपमा समाज यति अघि बढिसक्दा पनि समाजका एकथरि मिचाहा पुरुषवर्गले नारी जातिलाई सधैँ अपमान गरेको छ र सधैँ यस्ता भनाइहरू फैलाइदिएको छ । जसले नारी जातिलाई आफ्नो शक्तिबोध र अस्मिताबोध हुनदेखि वञ्‍चित राख्छन् ।

यस विशाल र व्यापक विषयलाई अलिकति अथवा एकै झमटमा अभिव्यक्त गरेर सकिँदैन त्यसैले स-साना प्रसंगहरूबाट जाऊँ । हामी आधी आकाश माग्छौँ तर समाजका एकथरि स्वार्थी पुरुषवर्गले हामीलाई आधी इन्च पनि दिन चाहँदैनन् । आइमाई केटाकेटी भने जस्तै नेपाली सामन्तवादी समाजमा नारी जातिलाई लिएर यति धेरै असभ्य र अपमानजनक उखानहरू छन्, जसले हाम्रो शिर ठाडो गर्न कहिल्यै दिँदैन ।

आधी आकाश चाहनेहरूले भाषामा, साहित्यमा तथा बोलचालमा पनि यस्ता उखानहरूको वहिष्कार गर्नुपर्छ । निमुखाहरूको बीचमा गएर पनि यस्ता उखानहरू सविस्तार व्याख्या गरिदिएर आपसमा यस्ता उखानहरूको आदान-प्रदान गर्न छोडाउन सक्नुपर्छ ।

नेपाली भाषामा यति धेरै यस्ता उखानहरू छन्, जसले सधै पुरुषहरूलाई उठाउने र नारी जातिलाई होच्याउने अर्थ मात्र दिन्छन् । कतै-कतै महिलाहरू पनि यस्ता उखानहरू रूचि लिएर प्रयोग गर्ने गर्छन् तर त्यो हाम्रो दोष होइन त्यो त पुरुष हैकमवाला समाजले युगौदेखि हामीमा थोपरिदिएको संकीर्णताबोधको संस्कार हो ।

जतिसुकै संकीर्ण बन्‍ने वातावरणको काँडेबार हालेर धेरैपछि हामीमा संकीर्ण दृष्टिकोणको प्रादुर्भाव हुनु कुनै अस्वाभाविक होइन तर अब परिवर्तनकारी इतिहास अघि बढिसकेको छ त्यसैले जान्‍ने सुन्‍नेहरूको मौनता एकदमै सामयिक ठहरिंदैन ।

के स्वास्‍नीमान्छेहरू पुरुषको जुत्ता मात्र हुन् उनीहरूले जति चाहे पनि फेर्न सकिने ?

सघैंभरि शोषणको कोलमुनि पेलिएका स्वास्‍नीमान्छेहरूलाई उनीहरू भन्‍ने गर्छन, 'बाख्रा सम्ममा चर्दैन आइमाई सुखमा बस्दैन' सुख दिंदै नदिएपछि सुखमा बस्‍ने कहाँ ? यसको अर्थ यसरी लाग्छ तर यो उखानलाई पुराणहरू बढो अपमानजनक स्थितिमा प्रयोग गर्छन्, बाघको हजार गुड र खुट्टा भए जुत्ता जति पनि आउँछ, यी उखानहरूमा कति अपमान लुकेको छ ।

के स्वास्‍नीमान्छेहरू पुरुषको जुत्ता मात्र हुन् उनीहरूले जति चाहे पनि फेर्न सकिने ? यस्तो उखान प्रायः पाइँदैन, जसमा लोग्‍नेमान्छेहरूलाई हेय तुल्याइएको होस् । यहाँ म केही यस्ता उखानहरू प्रस्तुत गर्न चाहन्छु, जहाँ पुरुष कतै पनि पर्दैन र उखानहरू स्वास्‍नीमान्छेहरूलाई लिएर साह्रै असभ्य र वीभत्स छन् ।

'काम पाएन बुहारी पाडाको...', 'कुन्ताकी बुहारी भटमास खाएकी...', 'ठाउँ न ठहर बूढीको रहर', ' घ्यू न तेल पका बूढी सेल', 'हिस्स बूढी हरिया दाँत', 'चौक्टा खान गएकी बूढी झोलमा डुबेर मरी', 'रातभरि रूङ्यो बूढी त ज्यूँदै', 'छोरी कुटेर बुहारी तर्साउनु', 'सौताको रिसले पोइको नाक काटनु', 'हुँदा जोगी ख्वाइ, नहुँदा राँडी रूवाई', 'गरीबलाई दिन्छु नभन्‍नू, राँडीलाई लान्छु नभन्‍नू' आदि-आदि । निराश्रित, एकलास भइसकेका बूढी आमैहरूलाई अथवा निराश्रित एक्ली विधवाहरूको यस्तो अपमान किन ?

महिला मुक्तिका हिमायतीहरूले पनि यसतर्फ ध्यान दिन आवश्यक छ । आदि-आदि । निराश्रित, एकलास भइसकेका बूढी आमैहरूलाई अथवा निराश्रित एक्ली विधवाहरूको यस्तो अपमान किन ? महिला मुक्तिका हिमायतीहरूले पनि यसतर्फ ध्यान दिन आवश्यक छ ।

(पारिजात संकलित रचनाहरू ग्रन्थ ६ बाट लिइएको)